काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अनुसार उक्त रकममा बैंकको तर्फबाट तथा कर्मचारीले एक दिन बराबरको पारिश्रमिकबाट गरेको योगदानसमेत समावेश छ।
भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली र देवीघाटलगायतका क्षेत्र बाढीबाट प्रभावित भएका छन्।
बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ।
