हिरोसिमा–६ अगस्ट १९४५। बिहान ८ बजेर १५ मिनेट।
एकै क्षणमा शहरको ठूलो हिस्सा आगो, ताप र विस्फोटको चपेटामा पर्यो। अमेरिकाले आणविक बम खसालेको तीन दिनपछि, ९ अगस्ट १९४५ मा नागासाकीमा दोस्रो आणविक बम खसालियो।
हिरोसिमामा मात्र सन् १९४५ को अन्त्यसम्म करिब १ लाख ४० हजार मानिसको मृत्यु भएको अनुमान छ। शहरका करिब ९२ प्रतिशत भवन नष्ट वा जलेर ध्वस्त भएका थिए।
तर जापानको विनाश हिरोसिमा र नागासाकीमा मात्र सीमित थिएन।
दोस्रो विश्वयुद्धको अन्त्यसम्म टोकियोसहित जापानका प्रमुख शहरहरू लगातार हवाई आक्रमणबाट क्षतिग्रस्त थिए। युद्ध सकिँदा सार्वजनिक सेवा, यातायात, सञ्चार र औद्योगिक उत्पादन सबै गम्भीर अवस्थामा थिए।
अमेरिकी विदेश मन्त्रालयका ऐतिहासिक अभिलेखहरूले युद्धको अन्त्यतिर जापानका प्रमुख शहरका ठूलो भूभाग लगभग पूर्णरूपमा ध्वस्त भएको, सार्वजनिक सेवा बन्द भएको र सञ्चार तथा यातायात प्रणाली गम्भीर रूपमा क्षतिग्रस्त बनेको थियो।
१५ अगस्ट १९४५ मा जापानले आत्मसमर्पण गर्यो। त्यो दिन औपचारिक रूपमै युद्ध सकियो। तर जापानका लागि अर्को युद्ध सुरु भयो–बाँच्ने युद्ध।
हारपछि सुरु भएको पुनर्निर्माण
सन् १९४५ मा जापान पराजित थियो। कारखाना थिए, तर कच्चा पदार्थ थिएन। रेल थिए, तर सामान थिएन। शहर थिए, तर घर थिएनन्। काम गर्ने मानिस थिए, तर रोजगारी थिएन।
खाद्यान्न अभाव थियो। मुद्रास्फीति तीव्र थियो। कालोबजारी बढिरहेको थियो। युद्धपछि सन् १९४६–१९४९ बीच जापानले अत्यन्त उच्च मुद्रास्फीतिको सामना गर्यो; केही अवधिमा वार्षिक मूल्यवृद्धि तीन अंकसम्म पुगेको थियो।
जापानको पुनर्निर्माणलाई अमेरिकी नेतृत्वको मित्रराष्ट्र कब्जा प्रशासनले पनि आकार दियो। सन् १९४५ देखि १९५२ सम्म जनरल डग्लस म्याकआर्थरको नेतृत्वमा राजनीतिक, सामाजिक र आर्थिक सुधार लागू भए।
पुरानो सैन्य संरचना भंग गरियो। जमिन सुधार गरियो। ठूला औद्योगिक समूह अर्थात् जाइबात्सुको आर्थिक शक्ति घटाउने प्रयास गरियो। महिलाको राजनीतिक अधिकार विस्तार भयो।
सन् १९४७ मा नयाँ संविधान लागू भयो, जसले सम्राटको राजनीतिक भूमिका सीमित गर्यो र युद्ध त्याग्ने प्रतिबद्धता राख्यो। यी सुधारहरू केवल राजनीतिक थिएनन्। तिनले जापानको आर्थिक संरचना नै बदल्न थाले।
जमिन किसानको हातमा पुग्यो
युद्धअघि जापानको ग्रामीण समाजमा ठूलो असमानता थियो।
धेरै किसान अरूको जमिनमा खेती गर्ने भाडामा बस्ने किसान थिए। युद्धपछिको भूमि सुधारले त्यो संरचना तोड्यो। विश्व बैंकका ऐतिहासिक अध्ययनअनुसार करिब १४ लाख एकड, अर्थात् कुल कृषि भूमिको लगभग २५ प्रतिशत, करिब १६ लाख किसानमा पुनर्वितरण गरिएको थियो।
सुधारपछि जमिनमा काम गर्ने किसानमध्ये ठूलो हिस्सा आफ्नै जमिनको मालिक बने। यो परिवर्तन आर्थिकभन्दा पनि ठूलो राजनीतिक परिवर्तन थियो।
ग्रामीण जापानमा स्वामित्व फैलियो। आम्दानीको वितरण केही समान भयो। किसानको उत्पादन र उपभोग क्षमता बढ्यो। र जापानले औद्योगीकरणका लागि आवश्यक अर्को कुरा पायो–स्थिर घरेलु बजार।
१९४९ जापानले ब्रेक लगायो
युद्धपछिको पहिलो चरणमा सरकारले अर्थतन्त्र चलाउन ठूलो खर्च गरिरहेको थियो। तर पैसा छापेर समस्या समाधान गर्ने नीति लामो समय टिकेन।
मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी अर्थशास्त्री जोसेफ डजको नेतृत्वमा कठोर वित्तीय कार्यक्रम अघि बढाइयो। सरकारी खर्च नियन्त्रण गरियो। बजेट सन्तुलनतर्फ लगियो।
अर्थतन्त्रलाई स्थिर मुद्रातर्फ धकेलियो। यो कार्यक्रम तत्काल लोकप्रिय थिएन। तर यसले जापानको आर्थिक आधारलाई बलियो बनायो।
जापानको अर्थ मन्त्रालयका ऐतिहासिक अध्ययनहरूले युद्धपछिको पुनर्निर्माणमा भूमि सुधार, जाइबात्सु सुधार, डज योजना, कर सुधार र वित्तीय नीतिलाई महत्वपूर्ण चरणका रूपमा देखाउँछन्।
त्यसपछि आयो एउटा यस्तो घटना, जसले जापानको भाग्य नै बदलिदियो।
कोरियाली युद्ध।
कोरियाली युद्धले जापानलाई अर्डर दियो
२५ जुन १९५० मा कोरियाली युद्ध सुरु भयो। संयुक्त राष्ट्रसंघीय सेनाका लागि जापान नजिकको औद्योगिक आधार बन्यो।
सवारीसाधन। कपडा। मेसिन। जहाज मर्मत। औद्योगिक सामग्री।
जापानी उद्योगले ठूलो मात्रामा सैन्य आपूर्ति र मर्मतसम्बन्धी ठेक्का पाउन थाले। अमेरिकी विदेश मन्त्रालयको इतिहासअनुसार कोरियाली युद्धले जापानको औद्योगिक पुनरुत्थानलाई ठूलो धक्का दियो; जापानमा आएको युद्धसम्बन्धी मागले उद्योगलाई पुनः सञ्चालन गर्न र लगानी बढाउन मद्दत गर्यो।
जापानले युद्ध लडेन। तर अर्को देशमा भएको युद्धबाट उसको कारखाना चल्यो। त्यो अवसरलाई जापानले उपभोगमा मात्र खर्च गरेन। उद्योगमा पुनःलगानी गर्यो।
पुराना मेसिन हटाइए। नयाँ प्रविधि भित्रियो। उत्पादन क्षमता बढ्यो। निर्यात विस्तार भयो। यहीँबाट जापानी आर्थिक चमत्कारको आधार तयार भयो।
शिक्षा प्रविधि र उद्योगको संगम
सन् १९५० मा जापानको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकाको एकतिहाइभन्दा पनि कम थियो। तर त्यसपछि वृद्धि तीव्र भयो।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार जापानको वास्तविक कुल गार्हस्थ्य उत्पादन सन् १९५० को दशकमा औसत ८ प्रतिशतभन्दा बढी र १९६० को दशकमा करिब १० प्रतिशत वार्षिक दरले बढ्यो।
सन् १९५० देखि २००३ सम्म प्रतिव्यक्ति वास्तविक कुल गार्हस्थ्य उत्पादन करिब ११ गुणा बढ्यो।
त्यो वृद्धि संयोग थिएन। जापानले सस्तो श्रममा मात्र भर परेन।
उसले शिक्षा, प्राविधिक सीप, उद्योग, बचत, पूर्वाधार र निर्यातलाई एउटै आर्थिक रणनीतिमा जोड्यो।
सरकारले उद्योगलाई दीर्घकालीन दिशा दियो। बैंकिङ प्रणालीले उद्योगलाई ऋण दियो। कम्पनीहरूले नाफा पुनः लगानी गरे। कामदारले उच्च उत्पादकत्वसँगै उच्च ज्याला पाउन थाले। र जापानी कम्पनीहरू विश्व बजारमा पस्न थाले।
टोयोटा। सोनी। हिताची। पानासोनिक। निप्पोन स्टिल।
नामहरू क्रमशः जापानको नयाँ पहिचान बन्न थाले।
१९६४ जापानले संसारलाई नयाँ अनुहार देखायो
सन् १९६४ जापानका लागि प्रतीकात्मक वर्ष थियो।
टोकियोले ओलम्पिक आयोजना गर्यो। त्यही वर्ष तोकाइदो शिन्कान्सेन सञ्चालनमा आयो–टोकियो र ओसाकालाई जोड्ने उच्चगतिको रेल।
त्यो रेल केवल यातायात परियोजना थिएन। यो एउटा सन्देश थियो–पराजित जापान फर्किसकेको छ।
विश्व बैंकका अनुसार जापानले सन् १९५२ मा विश्व बैंकमा सदस्यता लियो र १९५३ देखि विद्युत्, आधारभूत उद्योग, यातायात, पानी र अन्य पूर्वाधारमा विश्व बैंकको ऋण प्रयोग गर्न थाल्यो। १९६० को दशकमा सडक र यातायात पूर्वाधारमा पनि यस्तो सहयोग भयो।
जापानले विश्व बैंकबाट कुल ३१ परियोजनामा करिब ८६ करोड ३० लाख अमेरिकी डलर ऋण लिएको थियो; अन्तिम ऋण १९९० मा पूर्णरूपमा तिर्यो।
अर्थात् जापानको चमत्कार केवल जापानी पैसाले बनेको थिएन। विदेशी पूँजी, प्रविधि र बजार पनि त्यसका सहायक थिए।
भग्नावशेषबाट विश्वको दोस्रो अर्थतन्त्र
युद्धले ध्वस्त जापान २३ वर्षपछि, सन् १९६८ मा अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्यो।
यो परिवर्तन कुनै एक वर्षको उपलब्धि थिएन। लगातार उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, शिक्षा, बचत, लगानी, प्रविधि र निर्यातको चार दशक लामो तयारीको परिणाम थियो।
दोस्रो विश्वयुद्ध सकिँदा जापानको अर्थतन्त्र तहसनहस थियो। तर पुनर्निर्माणको प्राथमिकता स्पष्ट थियो–कारखाना, ऊर्जा, रेल, बन्दरगाह, शिक्षा र उत्पादन क्षमता।
सन् १९५०–५३ को कोरियाली युद्धले अमेरिकी सेनाबाट ठूलो माग सिर्जना गर्यो। जापानी उद्योगले त्यही मागबाट पूँजी, रोजगारी र उत्पादन क्षमता पुनः जम्मा गर्यो।
सन् १९५५ मा जापानको कुल गार्हस्थ्य उत्पादन करिब ८.३ ट्रिलियन येन थियो। सन् १९५६ मा वास्तविक आर्थिक वृद्धि ७.५ प्रतिशत, १९५७ मा ७.८ प्रतिशत, १९५८ मा ६.२ प्रतिशत र १९५९ मा ९.४ प्रतिशत भयो। सन् १९६० मा वृद्धि १३.१ प्रतिशत पुग्यो।
प्रतिव्यक्ति उत्पादन पनि १९५५ को करिब ९८ हजार येनबाट १९६० मा १८१ हजार येन पुग्यो।
कारखानाबाट औद्योगिक शक्ति
सन् १९६१ मा आर्थिक वृद्धि ११.९ प्रतिशत, १९६२ मा ८.६ प्रतिशत, १९६३ मा ८.८ प्रतिशत, १९६४ मा ११.२ प्रतिशत र १९६५ मा ५.७ प्रतिशत भयो।
यस अवधिमा जापानले कृषि प्रधान अर्थतन्त्रबाट स्टिल, जहाज, रसायन, मेसिन, विद्युत् उपकरण र मोटर उद्योगतर्फ तीव्र रूपान्तरण गर्यो।
प्रतिव्यक्ति उत्पादन १९६१ को करिब २१७ हजार येनबाट १९६५ मा ३४९ हजार येन पुग्यो।
सरकारले उद्योगलाई दीर्घकालीन दिशा दियो, बैंकहरूले उद्योगलाई ऋण दिए र कम्पनीहरूले विदेशबाट प्रविधि भित्र्याएर त्यसलाई अझ सस्तो, भरपर्दो र ठूलो परिमाणमा उत्पादन गर्न थाले।
विश्व बजारमा जापानी प्रवेश
सन् १९६६ मा आर्थिक वृद्धि १०.२ प्रतिशत, १९६७ मा ११.१ प्रतिशत, १९६८ मा ११.९ प्रतिशत, १९६९ मा १२ प्रतिशत र १९७० मा १०.३ प्रतिशत भयो।
पाँच वर्षमा अर्थतन्त्र लगभग दोब्बर भयो।
सन् १९६८ जापानको निर्णायक वर्ष थियो। यही वर्ष जापानले पश्चिम जर्मनीलाई उछिनेर अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्रको स्थान हासिल गर्यो।

त्यसअघि नै जापानी सामान विश्व बजारमा फैलिन थालेका थिए। जहाज, स्टिल, क्यामेरा, रेडियो, टेलिभिजन, मोटर र औद्योगिक मेसिन जापानका प्रमुख निर्यात बन्न थाले।
विश्व निर्यातमा जापानको हिस्सा १९५० मा करिब १.४ प्रतिशतबाट १९६० मा ३.४ प्रतिशत र १९७० मा ६.७ प्रतिशत पुगेको थियो।
सन् १९६४ को टोकियो ओलम्पिक र उच्च गतिको रेलमार्गले जापानको अर्को परिवर्तन देखाए–युद्धपछिको पुनर्निर्माण अब आधुनिक पूर्वाधार निर्माणमा बदलिएको थियो।
१९७१–१९७३ दोस्रो चरण
सन् १९७० सम्म जापानको विश्व व्यापारमा हिस्सा ६.८ प्रतिशत पुगिसकेको थियो, जुन १९५० मा केवल १.४ प्रतिशत थियो।
एक पुस्ताअघि बम र आगोले ध्वस्त भएको देश अब विश्व बजारमा कार, क्यामेरा, जहाज, स्टिल र विद्युतीय उपकरण बेचिरहेको थियो।
जापान पुनर्निर्माणबाट औद्योगिक शक्तिमा बदलिएको थियो।
सन् १९७१ मा आर्थिक वृद्धि ४.४ प्रतिशत, १९७२ मा ८.४ प्रतिशत र १९७३ मा ८ प्रतिशत रह्यो।
सन् १९७३ सम्म कृषि, वन तथा मत्स्य क्षेत्रको तुलनामा उत्पादनमूलक उद्योग, निर्माण र सेवाक्षेत्रको अर्थतन्त्रमा योगदान धेरै ठूलो भइसकेको थियो।
सन् १९५५–१९७३ बीच जापानको औसत आर्थिक वृद्धि ९.३ प्रतिशत थियो।
जापानको केन्द्रीय बैंकका अनुसार यस वृद्धिको मुख्य आधार घरेलु माग, निजी उपभोग र व्यवसायिक लगानी थिए; निर्यातले जापानलाई विश्व बजारसँग जोडेर औद्योगिक विस्तारलाई गति दिएको थियो।
त्यसैले जापानको सफलता केवल निर्यातको कथा थिएन।
घरभित्रको बचतले लगानी बनायो, लगानीले कारखाना बनायो, कारखानाले उत्पादकत्व बढायो, उत्पादकत्वले प्रतिस्पर्धी वस्तु बनायो र प्रतिस्पर्धी वस्तुले विश्व बजार जित्यो।
संकटलाई अवसरमा बदल्ने क्षमता
तेल संकटपछि सन् १९७४ मा जापानको वास्तविक अर्थतन्त्र ०.५ प्रतिशतले संकुचित भयो।
तर संकटले जापानलाई अझ ऊर्जा–कुशल उद्योगतर्फ धकेल्यो। भारी उद्योगसँगै मोटर, विद्युतीय उपकरण, सूक्ष्म उपकरण, रोबोट र उच्च प्रविधिका उत्पादनको महत्त्व बढ्यो।
त्यसपछि जापानले केवल धेरै उत्पादन गर्ने होइन, कम स्रोतमा बढी मूल्य सिर्जना गर्ने अर्थतन्त्र बनायो। यसरी सन् १९४५ को भग्नावशेषबाट सन् १९६८ को दोस्रो स्थानसम्मको यात्रा करिब एक पुस्तामै पूरा भयो।
जापानले प्राकृतिक स्रोतको धनी भएर होइन, मानिसलाई सीप, बचतलाई लगानी, प्रविधिलाई उत्पादन र उत्पादनलाई विश्व बजारसँग जोडेर आफ्नो आर्थिक शक्ति निर्माण गरेको थियो।
यही कारण जापानी आर्थिक चमत्कारको सबैभन्दा ठूलो पाठ एउटा संख्यामा भेटिन्छ–सन् १९५५ देखि १९७३ सम्म लगातार ९.३ प्रतिशतको औसत आर्थिक वृद्धि।
सन् १९९० को दशकपछि जापानको तीव्र आर्थिक वृद्धि सुस्त भयो। तर उसको अर्को परीक्षा प्राकृतिक प्रकोपबाट आयो।
चमत्कारपछि सुस्ताएको जापान
सन् १९९० मा जापान विश्व अर्थतन्त्रको शिखरमा थियो। उसको कुल गार्हस्थ्य उत्पादन करिब ३.२५ ट्रिलियन अमेरिकी डलर थियो र विश्व अर्थतन्त्रमा उसको हिस्सा करिब १०.१ प्रतिशत थियो। प्रतिव्यक्ति आय पनि विश्वकै उच्चमध्ये एक थियो।
तर यही वर्ष जापानको आर्थिक चमत्कारको अर्को अध्याय सुरु भयो–उत्थान होइन, सुस्ताएको।
१९८० को दशकको अन्त्यमा जग्गा र शेयरको मूल्य अस्वाभाविक रूपमा बढेको थियो। टोकियोको जग्गाको मूल्य यति महँगो भएको थियो कि जापानको समग्र सम्पत्तिको मूल्य विश्व अर्थतन्त्रसँग तुलना गरिन्थ्यो।
तर सन् १९९०–९१ मा वित्तीय बुलबुला फुट्यो। शेयर बजार ध्वस्त भयो, घरजग्गाको मूल्य खस्यो र बैंकहरू खराब कर्जाले थिचिए।
सन् १९९० मा आर्थिक वृद्धि ५.२ प्रतिशत थियो। तर १९९१ मा ३.५ प्रतिशत, १९९२ मा ०.८ प्रतिशत, १९९३ मा ऋणात्मक ०.५ प्रतिशत र १९९४ मा केवल १ प्रतिशत रह्यो।
त्यसपछि जापानले आधुनिक अर्थशास्त्रमा एउटा नयाँ शब्दलाई लोकप्रिय बनायो–हराएको दशक।
भूकम्पले अर्को परीक्षा लियो
तर त्यो दशक वास्तवमा एक दशक मात्र थिएन।
सन् १९९५ मा कोबेमा आएको शक्तिशाली भूकम्पले ६,४३४ जनाको ज्यान लियो र करिब ३ लाख मानिसलाई घरबारविहीन बनायो। अर्थतन्त्रको करिब २.५ प्रतिशत बराबरको भौतिक क्षति भयो।
सन् १९९६ मा वृद्धि ३.१ प्रतिशत पुगे पनि १९९७ मा फेरि सुस्तायो। १९९८ मा अर्थतन्त्र १.८ प्रतिशतले खुम्चियो र १९९९ मा पनि ०.३ प्रतिशत संकुचन भयो।
जनसंख्या वृद्धिदर घट्दै थियो, उपभोक्ता मूल्य लामो समयसम्म घटिरहेका थिए र बैंकिङ क्षेत्र खराब कर्जाको समस्याबाट मुक्त हुन सकेको थिएन।
त्यसबीच चीन भने तीव्र गतिमा माथि चढिरहेको थियो। विश्व कुल उत्पादनमा चीनको हिस्सा १९९० को करिब ४.७ प्रतिशतबाट २०१० मा १५.२ प्रतिशत पुग्यो। जापानको हिस्सा भने यही अवधिमा १०.१ प्रतिशतबाट ६ प्रतिशतमा झर्यो।
तर जापान पूर्ण रूपमा रोकिएको थिएन। टोयोटा, होन्डा, सोनी, क्यानन, हिताची र अन्य औद्योगिक कम्पनीहरू विश्व आपूर्ति शृंखलामा अझै शक्तिशाली थिए।
सन् २००० मा जापानको कुल गार्हस्थ्य उत्पादन करिब ५.०४ ट्रिलियन डलर पुगेको थियो।
संकटपछि पनि उद्योग बाँचे
२००० को दशकमा केही सुधार देखियो। २००३ मा वृद्धि २.१ प्रतिशत, २००४ मा २.२ प्रतिशत, २००५ मा १.७ प्रतिशत, २००६ मा १.५ प्रतिशत र २००७ मा २.२ प्रतिशत रह्यो।
निर्यात जापानको प्रमुख सहारा बन्यो। २००७ मा वस्तु तथा सेवाको निर्यात ११.१ प्रतिशतले बढेको विश्व बैंकको तथ्यांक छ।
तर सन् २००८ को विश्व वित्तीय संकटले फेरि झट्का दियो। २००८ मा अर्थतन्त्र १.२ प्रतिशत र २००९ मा करिब ६ प्रतिशतले खुम्चियो। २००९ मा जापानी निर्यात पनि करिब २३.४ प्रतिशतले घट्यो।
सन् २०१० मा जापानले ४ प्रतिशतको वृद्धि गर्दै केही राहत पायो। कुल गार्हस्थ्य उत्पादन करिब ५.८१ ट्रिलियन डलर र प्रतिव्यक्ति आय करिब ४२,८०० डलर थियो।
तर त्यही वर्ष चीनले जापानलाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्यो।
त्यसपछि ११ मार्च २०११ आयो।
९.० परिमाणको भूकम्प, सुनामी र आणविक संकटले जापानलाई फेरि ठूलो परीक्षा दियो।
अर्को विपत्तिपछिको पुनर्निर्माण
टोकियो–११ मार्च २०११, दिउँसो २ बजेर ४६ मिनेट।
जापान भूकम्पका लागि तयार थियो। तर त्यो दिन प्रकृतिले जापानको तयारीको सीमा नै परीक्षण गर्यो।
तोहोकुको प्रशान्त तटभन्दा करिब १३० किलोमिटर पूर्व–दक्षिणपूर्व समुद्रमुनि ९.० म्याग्निच्युडको भूकम्प गयो। यसको गहिराइ २४ किलोमिटर थियो र मियागीको कुरिहारा सहरमा जापानको उच्चतम ७ तहको भूकम्पीय कम्पन मापन भयो।
जापान मौसम विज्ञान निकायले पत्ता लगाएको केही सेकेन्डमै–८.६ सेकेन्डपछि–भूकम्पको पूर्वसूचना जारी गरेको थियो।
तर भूकम्पपछि आएको समुद्रसँग त्यस्तो केही सेकेन्ड पर्याप्त थिएन।
सुनामीले तटीय बस्तीहरू छोप्यो। मियागीको इशिनोमाकी, इवातेको मियाको र फुकुशिमाका तटीय क्षेत्रमा पानीले घर, सडक, रेलमार्ग र बन्दरगाहलाई बगायो।
सोमा क्षेत्रमा कम्तीमा ९.३ मिटरभन्दा बढी, इशिनोमाकीमा ८.६ मिटरभन्दा बढी र मियाकोमा ८.५ मिटरभन्दा बढी सुनामी मापन गरिएको थियो।
त्यसपछि आयो तेस्रो संकट–फुकुशिमा दाइइची आणविक दुर्घटना।
भूकम्प सुनामी र आणविक संकट
यसरी जापानले एउटै विपत्तिमा भूकम्प, सुनामी र आणविक दुर्घटनाको त्रास सामना गर्यो।
सरकारी तथ्यांकअनुसार १९,७२९ जनाको मृत्यु, २,५५९ जना बेपत्ता र ६,२३३ जना घाइते भए। १,२१,९९६ भवन पूर्णरूपमा ध्वस्त, २,८२,९४१ आधा ध्वस्त र ७,४८,४६१ आंशिक रूपमा क्षतिग्रस्त भए।
विपत्तिपछि ४ लाख ७० हजारभन्दा बढी मानिस घरबाट विस्थापित भए।
भौतिक क्षति पनि असाधारण थियो। जापानको मन्त्रिपरिषद् कार्यालयको अनुमानलाई विश्व बैंकले करिब १६.९ ट्रिलियन येन, अर्थात् २१० अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष आर्थिक क्षति मानेको थियो–त्यतिबेला विश्वकै सबैभन्दा महँगो भूकम्पीय विपत्ति।
तर जापानले भग्नावशेष हटाएर पुरानै शहर फर्काउने निर्णय गरेन।
पुनर्निर्माणमा अर्को पुस्ताको सोच
सन् २०१२ को फेब्रुअरीमा पुनर्निर्माण निकाय स्थापना भयो।
सरकारले पहिलो दशकमा पुनर्निर्माणका लागि करिब ३१.३ ट्रिलियन येन खर्च गर्ने र २०२१–२०२५ को दोस्रो चरणमा थप १.६ ट्रिलियन येन लगाउने योजना बनायो।
२०११–२०२५ को १५ वर्षमा कुल अनुमानित रकम ३२.९ ट्रिलियन येन पुग्यो।
पैसा घर बनाउन मात्र खर्च भएन। तटीय बस्तीहरूलाई उच्च भूभागमा सारियो। जमिन उचालियो। नयाँ समुद्री पर्खाल बनाइए। सडक र रेलमार्ग पुनर्निर्माण भए। बन्दरगाहहरू फेरि सञ्चालनमा आए।
जापानको सोच बदलिएको थियो–समुद्रलाई रोक्न नसके पनि अर्को पटक मानिसलाई बचाउन सकिन्छ।
तर यहीँ पुनर्निर्माणको सबैभन्दा ठूलो विरोधाभास देखियो।
संरचना फर्कियो मानिस फर्किएनन्
विस्थापितको संख्या २०११ को करिब ४ लाख ७० हजारबाट जनवरी २०२१ मा ४२ हजारमा झरिसकेको थियो।
तर तटीय इवाते, मियागी र फुकुशिमाका धेरै क्षेत्रमा जनसंख्या विपत्तिपछि पनि घटिरह्यो।
किनकि मानिसले नयाँ ठाउँमा घर बनाइसकेका थिए। नयाँ जागिर भेटिसकेका थिए। बालबालिका नयाँ विद्यालयमा पुगेका थिए।
केहीका लागि पुरानो गाउँ फर्कन मिल्ने ठाउँ भए पनि पुरानो जीवन फर्किने ठाउँ थिएन।
भूकम्पले जापानको अर्थतन्त्रलाई पनि हल्लायो। सन् २०११ को पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन वार्षिक दरमा ३.५ प्रतिशत घट्यो। औद्योगिक उत्पादन मार्चमा १५ प्रतिशत घट्यो।
विद्युत् अभाव र मोटर तथा विद्युतीय उपकरण उद्योगको आपूर्ति शृंखला अवरुद्ध हुँदा प्रभाव देशभर फैलियो। उद्योग छिट्टै फर्कियो।
माछापालन भने त्यति छिटो फर्किएन। इवाते र मियागीमा हालका वर्षमा माछा अवतरण पूर्वविपत्ति स्तरको करिब ५०–७० प्रतिशत वरिपरि रह्यो। फुकुशिमामा सामान्य माछापालन पुनःस्थापनाको यात्रा अझ कठिन रह्यो।
पर्यटनले भने फरक संकेत दियो। २०१९ मा तोहोकुका छ प्रान्तमा विदेशी पर्यटकको होटल बसाइ १६.८ लाख व्यक्ति–रात पुगेको थियो–२०२० का लागि सरकारले राखेको १५ लाखको लक्ष्यभन्दा माथि।
फुकुशिमा अझै अधुरो अध्याय
फुकुशिमा पुनर्निर्माणको सबैभन्दा कठिन अध्याय हो। आणविक केन्द्र वरपरका मानिसलाई विस्थापित गरियो। केही क्षेत्रमा निषेधाज्ञा हटाइयो, तर फर्कने अनुमति पाउनु र मानिस फर्कनु एउटै कुरा भएन।
अझ कठिन काम आणविक केन्द्रको विसर्जन हो।
फुकुशिमा दाइइचीका पहिलो तीन एकाइमा करिब ८८० टन पग्लिएको आणविक इन्धन अवशेष रहेको अनुमान छ–पहिलो एकाइमा २७९, दोस्रोमा २३७ र तेस्रोमा ३६४ टन।
त्यसलाई हटाउने काम क्रमशः अघि बढिरहेको छ। सम्पूर्ण विसर्जनमा ३०–४० वर्ष लाग्ने अनुमान छ। अर्थात् २०११ को विपत्ति समाप्त भएको १५ वर्षपछि पनि यसको एउटा महत्वपूर्ण भाग अझै निर्माणस्थलमै छ।
१५ वर्षमा जापानले सडक, रेल, पुल, घर र बन्दरगाह फेरि बनायो। विस्थापितको संख्या हजारौंमा झर्यो। उद्योग फर्कियो। पर्यटन बढ्यो।
तर सबै गाउँ पुरानै भएनन्। यही कारण जापानको पुनर्निर्माणलाई केवल सफलताको कथा भन्नु अधुरो हुन्छ।
जापानले भवनहरू पुनर्निर्माण गर्यो; जनसांख्यिकी पुनर्निर्माण गर्न सकेन।
उसले समुद्र रोक्न सकेन। भूकम्प रोक्न सकेन। तर अर्को विपत्तिमा कम मानिस मरून् भनेर शहर, पूर्वाधार र चेतावनी प्रणाली बदल्यो।
सायद यही यसको सबैभन्दा ठूलो उपलब्धि हो। विपत्ति केही मिनेटमा आउँछ। पुनर्निर्माण दशकौं चल्छ। तर समाजलाई फेरि जीवित बनाउन अझ बढी समय लाग्छ।
११ मार्च २०११ जापानका लागि एउटा मिति मात्र रहेन। त्यो एउटा स्थायी पाठ बन्यो–प्रकृतिलाई जित्न नसके पनि त्यससँग सुरक्षित रूपमा बाँच्ने देश बनाउन सकिन्छ।
जापानबाट नेपालले के सिक्ने ?
सन् १९४५ मा जापान सबै तबरबाट पराजित थियो; सन् १९६८ मा ऊ अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्यो।
तर जापानको असली पाठ तीव्र वृद्धिमा मात्र छैन। संकट आएपछि आफूलाई फेरि बनाउने क्षमतामा छ। यही कारण जापानलाई हेर्नु नेपालको पुनर्निर्माणका लागि इतिहास पढ्नु मात्र होइन, विकासको कार्यपुस्तिका पढ्नु हो।
जापानको पहिलो सूत्र थियो–उत्पादनलाई राष्ट्रिय प्राथमिकता बनाउने।
युद्धपछिको जापानले शिक्षा, पूर्वाधार, ऊर्जा, उद्योग र प्रविधिमा पूँजी केन्द्रित गर्यो। सन् १९५५ देखि १९७२ बीच कुल उत्पादनमूलक औद्योगिक उत्पादन झन्डै नौ गुणा बढ्यो। इन्जिनियरिङ उद्योगको उत्पादन त २० गुणाभन्दा बढी बढ्यो।
दोस्रो सूत्र थियो–विदेशी प्रविधि किन्ने, तर त्यसैमा नरोकिने।
जापानी कम्पनीहरूले बाहिरबाट प्रविधि भित्र्याए, त्यसलाई स्थानीय सीपसँग जोडेर अझ सस्तो, भरपर्दो र ठूलो परिमाणमा उत्पादन गरे। त्यसपछि निर्यातले वृद्धिलाई तानेको थियो।
जापानले सस्तो वस्तुबाट उच्च मूल्यका मोटर, विद्युतीय उपकरण, मेसिन र औद्योगिक सामग्रीतर्फ यात्रा गर्यो।
तेस्रो सूत्र थियो मानव पूँजी।
जापानले कारखाना बनाउनुअघि कामदारको क्षमता बनायो। शिक्षा, प्राविधिक सीप र कार्यअनुशासनले एउटै कामदारबाट बढी उत्पादन निकाल्ने क्षमता बढायो।
आर्थिक विकासको अन्तिम अर्थ यही हो–प्रति कामदार बढी मूल्य सिर्जना गर्नु।
सफल देश पनि गलत हुन सक्छ
जापानको अर्को पाठ अझ महत्त्वपूर्ण छ: सफल देश पनि गलत हुन सक्छ। १९८० को दशकको अन्त्यमा सम्पत्ति र शेयरको मूल्यको बुलबुला फुटेपछि जापानले लामो बैंकिङ संकट, न्यून वृद्धि र अपस्फीतिको सामना गर्यो।
त्यसैले समृद्धिको शिखरमा पुगेपछि पनि संस्थागत सुधार रोकियो भने विगतको सफलता भविष्यको ग्यारेन्टी हुँदैन। जापानले प्राकृतिक विपत्तिबाट पनि यही सिक्यो।
११ मार्च २०११ को भूकम्प र सुनामीले करिब २० हजार मानिसको ज्यान लियो, पूर्वाधार र उद्योगमा ठूलो क्षति पुर्यायो र फुकुसिमाको आणविक दुर्घटना निम्त्यायो।
तर पुनर्निर्माणको केन्द्र केवल भत्किएका संरचना बनाउनु थिएन–अर्को विपत्तिमा कम क्षति हुने प्रणाली बनाउनु थियो।
विश्व बैंकको जापानी अनुभवसम्बन्धी अध्ययनले चार कुरा औंल्याउँछ: एकीकृत योजना, रोकथामसँगै तयारी, हरेक विपत्तिबाट सिक्ने संस्थागत क्षमता र सरकार–निजी क्षेत्र–समुदायबीच सहकार्य।
नेपालले के बदल्नुपर्छ ?
नेपालले विपत्तिपछि ‘फेरि उस्तै बनाउने’ होइन, ‘पहिलाभन्दा सुरक्षित बनाउने’ नीति लिनुपर्छ।
सडक खोल्ने मात्र होइन, रणनीतिक सडकको वैकल्पिक मार्ग बनाउनुपर्छ। जलविद्युत् पुनर्निर्माण गर्ने मात्र होइन, बाढी, पहिरो र हिमताल विस्फोटको नयाँ जोखिमअनुसार आयोजना डिजाइन गर्नुपर्छ।
दूरसञ्चार, विद्युत्, अस्पताल, खानेपानी र भण्डारणलाई एउटै राष्ट्रिय विपद्–सञ्जालका रूपमा हेर्नुपर्छ।
जापानको अनुभवले पूर्वतयारी, स्पष्ट जिम्मेवारी र निजी क्षेत्रसँग पहिल्यै गरिएका सहमतिले पुनःस्थापना तीव्र बनाउन सक्ने देखाएको छ।
नेपालको समस्या स्रोतको मात्र होइन, उत्पादकत्वको हो। विश्व बैंकको पछिल्लो नेपाल अध्ययनले श्रम उत्पादकत्व न्यून, उत्पादनमूलक उद्योग कमजोर, निर्यात अवरुद्ध र पूर्वाधार तथा नियामकीय अवरोधलाई दीर्घकालीन वृद्धिका मुख्य बाधक मानेको छ।
जलविद्युत्, पर्यटन र डिजिटल सेवाजस्ता क्षेत्रलाई विस्तार गर्न सकिए पनि त्यसका लागि सीप, पूर्वाधार, प्रतिस्पर्धा र निजी लगानी आवश्यक छ।
त्यसैले नेपालको जापानी सूत्र सरल तर कठिन छ: रेमिट्यान्सलाई उपभोगबाट लगानीमा, श्रमलाई सीपमा, विद्युत्लाई उद्योगमा, प्रविधिलाई उत्पादनमा र विपत्तिलाई सुधारको अवसरमा बदल्ने।
जापानको नक्कल होइन पाठ
जापानको सफलताको नक्कल नेपालले गर्न सक्दैन। हरेक देशको आफ्नै इतिहास, जनसंख्या, भूगोल, इतिहास, पहिचान, संस्कृति, सामाजिक मान्यता, संस्थागत संरचना र क्षमता हुन्छ; त्यसैले एउटा देशको सफलताको सूत्र अर्को देशमा जस्ताको तस्तै लागू हुँदैन।
तर सफल देशहरूबाट सिक्न भने सकिन्छ–नक्कल गरेर होइन, आफ्नै वास्तविकता, स्रोत, बजार र संस्थागत क्षमताअनुसार त्यसलाई रूपान्तरण गरेर।
विकासको सही बाटो अरूको मोडल पछ्याउनु होइन; अरूका अनुभवबाट उपयोगी पाठ छान्दै आफ्नै जमिनमा उभिएको, व्यावहारिक र दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्नु हो।
संकट र विनाश कुनै देशको अन्तिम अध्याय होइनन्; सही योजना, सक्षम संस्था र निरन्तर कार्यान्वयन भए तिनै संकट पुनरुत्थानको सुरुवात बन्न सक्छन्।
इतिहासले देखाएको एउटा महत्त्वपूर्ण पाठ हो–देशहरू विपत्तिबाट जोगिएर मात्र समृद्ध हुँदैनन्, त्यसबाट सिकेर अझ बलियो बन्दै उठ्छन्।
नेपालले पनि हरेक संकटलाई केवल राहत र पुनर्निर्माणको घटनाका रूपमा होइन, संरचनागत कमजोरी सच्याउने, उत्पादकत्व बढाउने, संस्थाहरू बलियो बनाउने र नयाँ विकासको आधार खडा गर्ने अवसरका रूपमा हेर्नुपर्छ।
संकटमा निराश भएर विगतलाई दोष दिनु होइन, विगतबाट पाठ सिकेर भविष्यको अर्थतन्त्र बनाउनु नै पुनरुत्थानको असली रणनीति हो।
राष्ट्रहरू केवल संकटबाट बाँचेर धनी हुँदैनन्; संकटपछि अझ उत्पादक, अझ सक्षम र अझ लचिलो बनेर धनी हुन्छन्। नेपालका लागि जापानको सबैभन्दा ठूलो पाठ यही हो: पुनर्निर्माण खर्च होइन, भविष्यको उत्पादकत्वमा लगानी हो।
