udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिंगापुर: स्रोतविहीन गरिब देशको आर्थिक चमत्कार

प्राकृतिक स्रोत, ठूलो बजार र लामो इतिहास नभएको सानो टापुले नीति, अनुशासन, उद्योग, मानवपूँजी र विश्व व्यापारलाई जोडेर कसरी असाधारण आर्थिक शक्ति बनायो?

सिंगापुर: स्रोतविहीन गरिब देशको आर्थिक चमत्कार
A A+ A-

सिंगापुरले विकासशील संसारलाई दुई कुरा दिएको छ- सपना र असहज प्रश्न।

प्राकृतिक स्रोत छैन, ठूलो घरेलु बजार छैन, भूगोल सानो छ। तैपनि एउटा सानो राज्य केही दशकमा विश्वकै सबैभन्दा समृद्ध, प्रतिस्पर्धी र व्यवस्थित अर्थतन्त्रमध्ये एक बन्यो।

यही कारण सिंगापुरको कथा अफ्रिकादेखि एसियासम्मका धेरै विकासशील राष्ट्रहरूका लागि विकासको नमुना बनेको छ।

सन् १९६५ मा स्वतन्त्र हुँदा सिंगापुर आजको जस्तो चम्किलो वित्तीय केन्द्र सोच बाहीरको विषय थियो।

न तेलको भण्डार थियो, न ग्यास, न ठूलो कृषि भूमि, न खनिज, न आफ्नै ठूलो घरेलु बजार। करिब १९ लाख जनसंख्या भएको सानो टापु थियो, जसको अर्थतन्त्र मुख्यतः बन्दरगाह र पुनःनिर्यात व्यापारमा निर्भर थियो।

बेरोजगारी उच्च थियो, आवासको अवस्था कमजोर थियो र ब्रिटिस सेनाको उपस्थितिले अर्थतन्त्रलाई ठूलो रोजगारी दिएको थियो। त्यसै वर्ष सिंगापुरको नाममात्र प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन करिब ५०० अमेरिकी डलर थियो।

एक आर्थिक विश्लेषणले १९६५ मा सिंगापुरको प्रतिव्यक्ति आय मेक्सिको र दक्षिण अफ्रिकाको आसपास रहेको उल्लेख गर्छ। आज त्यही सिंगापुरको कुल गार्हस्थ्य उत्पादन करिब ५४७ अर्ब अमेरिकी डलर पुगेको छ र प्रतिव्यक्ति जीडीपी १,०७,७६० डलर छ।

सिंगापुरसँग प्राकृतिक स्रोत थिएन। त्यसैले ली कुआन युले मानिसलाई नै देशको सबैभन्दा महत्वपूर्ण सम्पत्ति माने।

शिक्षा, प्राविधिक तालिम र दक्ष जनशक्तिमा गरिएको ठूलो लगानी सिंगापुरको आर्थिक रणनीतिको आधार बन्यो।

अर्थशास्त्री तथा आर्थिक विश्लेषक म्यानु भास्करणका अनुसार सिंगापुरको आर्थिक चमत्कार केवल ली कुआन युको नेतृत्वको परिणाम थिएन। गो केङ स्वी, अल्बर्ट विनसेमियस लगायतका नीति निर्माता तथा आर्थिक सल्लाहकारहरूको भूमिका पनि निर्णायक थियो।

सिंगापुरको कथा केवल धनी भएको कथा होइन। यो स्रोतविहीन देशले स्रोतभन्दा महत्वपूर्ण-संस्था, नीति, मानवपूँजी, पूर्वाधार, विश्व बजारसँग जोडिने क्षमता र दीर्घकालीन निर्णय -निर्माण गरेको कथा हो। यही कारण सिंगापुरको सफलता आज पनि विकासशील मुलुकका लागि अर्थशास्त्रको एउटा असाधारण प्रयोगशाला हो।

अन्तर्राष्ट्रिय मुद्रा कोषका विश्लेषणअनुसार सिंगापुरजस्ता सफल पूर्वी एसियाली अर्थतन्त्रमा तीन महत्वपूर्ण गुण देखिन्छन् महत्वाकांक्षा, जवाफदेहिता र अनुकूलन क्षमता।

अर्थशास्त्री तथा नोबेल पुरस्कार विजेता पाउल क्रुगम्यानले सिंगापुरको तीव्र आर्थिक वृद्धि नयाँ आविष्कारभन्दा बढी पूँजी, श्रम, शिक्षा र उत्पादन क्षमतामा ठूलो लगानी गरेर सम्भव भएको थियो।

सिंगापुरले आफ्नो कमजोरीलाई क्रमशः आर्थिक शक्तिमा बदल्यो-भूगोललाई बन्दरगाहमा, बन्दरगाहलाई व्यापारमा, विदेशी पुँजीलाई उद्योगमा, उद्योगलाई सीपमा र सीपलाई उत्पादकत्वमा।

उसले प्राकृतिक स्रोत खोजेन; प्रणाली बनायो। ठूलो बजार पर्खेन; विश्वलाई आफ्नो बजार बनायो। विदेशी कम्पनीलाई जोखिम मानेन; उनीहरूलाई औद्योगिकीकरणको इन्जिन बनायो।

सिंगापुरको असली कथा ‘कसरी धनी भयो?’ भन्ने होइन। कठिन प्रश्न हो-कसरी एउटा सानो, स्रोतविहीन सहर–राज्यले आफ्नो कमजोरीलाई प्रतिस्पर्धात्मक फाइदामा बदलिरहने क्षमता बनायो? यही प्रश्नको उत्तरमा सिंगापुरको विकासको असली पाठ लुकेको छ।

स्वतन्त्रता नै संकटबाट सुरु

सिंगापुर ९ अगस्ट १९६५ मा मलेसियाबाट अलग भएर स्वतन्त्र राष्ट्र बन्यो। स्वतन्त्रताको क्षणलाई आजको दृष्टिले हेर्दा उत्सव जस्तो लाग्छ। तर त्यसबेला नेतृत्वका लागि यो गम्भीर आर्थिक र राजनीतिक संकट थियो।

सिंगापुरसँग आफ्नो पछाडि ठूलो भूभाग थिएन। घरेलु बजार सानो थियो। खाद्यान्नका लागि बाह्य आपूर्ति चाहिन्थ्यो। पानीसमेत बाहिरबाट ल्याउनुपर्ने अवस्था थियो। ब्रिटिस सेनाको आधार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा थियो। तर ब्रिटिस सैन्य उपस्थितिसमेत स्थायी आधार बन्न सक्दैनथ्यो।

अर्थात्, नयाँ देशले पहिलो दिनदेखि एउटा असहज प्रश्नको सामना गर्नुपर्‍यो “हामीसँग बेच्ने प्राकृतिक स्रोत छैन भने संसारलाई के बेच्ने?”सिंगापुरको उत्तर थियो-मानिस, स्थान, दक्षता, विश्वास र सेवा। यही उत्तरले क्रमशः देशको आर्थिक रणनीति बदल्यो।

प्राथमिकता: सबै होइन, सही कुरा पहिले

सिंगापुरको आर्थिक चमत्कारको एउटा कम चर्चित रहस्य उसले के गर्‍योभन्दा पहिले के गर्‍यो भन्नेमा थियो। ली कुआन यूले विकासको एउटा कठोर नियम निकाले-सीमित स्रोत भएको राष्ट्रले सीमित प्राथमिकता रोज्नुपर्छ।

आफ्नो चर्चित पुस्तक तेस्रो विश्वदेखि पहिलो विश्वसम्म मा लीले सिंगापुरले समयमै अवसर समातेको कुरा बारम्बार जोड दिएका छन्। उनका लागि विकास केवल सही नीति बनाउनु थिएन; सही समयमा सही निर्णय गर्नु थियो।

बन्दरगाह, अन्तर्राष्ट्रिय व्यापार र वित्तमा सिंगापुरले अरूले ठाउँ ओगटिसकेपछि प्रवेश गर्न खोजेन। उसले अवसर आउँदै गर्दा आफ्नो स्थान सुरक्षित गर्‍यो। उनको तर्क थियो-सिंगापुर ठूलो देशसँग आकारमा प्रतिस्पर्धा गर्न सक्दैन; त्यसैले उसले अरूभन्दा राम्रो गर्न सक्ने ठाउँ पहिचान गर्नुपर्छ।

यही सोच उद्योगमा पनि देखियो। सिंगापुरले एकैपटक सबै उद्योग पछ्याएन। पहिले श्रमप्रधान उत्पादन, त्यसपछि इलेक्ट्रोनिक्स, पेट्रोकेमिकल, परिशुद्ध इन्जिनियरिङ, एयरोस्पेस र जैव-चिकित्सा; त्यसपछि वित्तीय सेवा, डिजिटल अर्थतन्त्र र उच्च प्रविधि।

एउटा क्षेत्रमा बनाएको सीप, पूर्वाधार र बजार सम्बन्धलाई अर्को, अझ बढी मूल्य सिर्जना गर्ने क्षेत्रमा सारियो। सस्तो श्रमबाट सुरु भएको अर्थतन्त्र क्रमशः महँगो सीप र उच्च उत्पादकत्वतर्फ धकेलियो।

यो औद्योगिक नीति वास्तवमा उद्योगको सूची थिएन; मूल्यको सीढी चढ्ने योजना थियो। आर्थिक विकास बोर्डले विदेशी लगानी तान्नुका साथै पुराना उद्योगलाई उन्नत बनाउने र नयाँ उच्च-मूल्य क्षेत्र विकास गर्ने जिम्मेवारी लियो।

पेट्रोकेमिकलबाट विशेष रसायन, इलेक्ट्रोनिक्सबाट सेमिकन्डक्टर, परिशुद्ध इन्जिनियरिङबाट एयरोस्पेस र स्वास्थ्य उद्योगबाट जैव–चिकित्सातर्फको यात्रा यही क्रमिक उकासो थियो।

लीका लागि राज्यको अर्को परीक्षा थियो-कठिन निर्णय लिन सक्ने क्षमता। लोकप्रिय देखिने हरेक नीति उपयोगी हुँदैन भन्ने उनको मान्यता थियो।

कुनै विचारलाई त्यसको नाम, विचारधारा वा लोकप्रियताका आधारमा स्वीकार गर्ने होइन; त्यसले देशलाई काम गर्छ कि गर्दैन भनेर हेर्नुपर्ने उनको शासन-दर्शन थियो। सिंगापुरको प्रशासनमा यही व्यवहारिकता संस्थागत भयो।

विकासमा कुनै निर्णयको मूल्य नहुने होइन। जमिन सीमित छ भने बन्दरगाहका लागि छुट्याएको जमिन आवास वा उद्योगका लागि प्रयोग गर्न सकिँदैन। श्रमिक अभाव छ भने विदेशी श्रमिक ल्याउनुपर्छ; तर त्यसले सामाजिक दबाब पनि बढाउँछ। उच्च ज्याला चाहिन्छ भने उत्पादकत्व बढाउनुपर्छ। वातावरण जोगाउनुपर्छ भने केही परियोजनाको लागत बढ्छ।

लीले विकासका यस्ता छनोटबारे स्पष्टै भनेका छन्-कुनै कुरा निःशुल्क हुँदैन; हरेक निर्णयसँग अर्को त्याग जोडिएको हुन्छ।

यसैकारण सिंगापुरको रणनीति ‘सबै कुरा गरौँ’ भन्ने थिएन। के नगर्ने भन्ने निर्णय पनि विकास नीतिको हिस्सा थियो। सीमित पैसा, भूमि, जनशक्ति र प्रशासनिक क्षमतालाई छरपस्ट पार्नुको सट्टा राज्यले सबैभन्दा बढी प्रतिफल दिने क्षेत्रमा केन्द्रित गर्‍यो।

सिंगापुर विश्वको सबैभन्दा ठूलो उत्पादक बन्न खोजिरहेको छैन। उसले विश्वव्यापी आपूर्ति शृंखलामा आफूलाई अपरिहार्य हुने ठाउँ रोजेको छ। सिंगापुरको औद्योगिक मन्त्र सरल तर कठोर छ-सबै कुरा बनाउने होइन; विश्वले महँगो मूल्य तिर्न तयार हुने कुरा बनाउने।

अवसर देखेपछि ढिला नगर्ने, सफल क्षेत्रमा अड्किएर नबस्ने, अर्को उच्च-मूल्य क्षेत्रमा समयमै सर्ने र आवश्यक परे अलोकप्रिय निर्णय लिन सक्ने-यिनै चार गुणले सानो राष्ट्रलाई ठूलो अर्थतन्त्रको आपूर्ति शृंखलामा महत्वपूर्ण बनायो। ली कुआन यूको सबैभन्दा ठूलो पाठ त्यसैले उद्योगको नाममा होइन, निर्णयको अनुशासनमा थियो।

राष्ट्रसँग स्रोत कम छ भने महत्वाकांक्षा कम गर्नुपर्दैन; प्राथमिकता अझ कठोर बनाउनुपर्छ भन्ने नीतिबाट शासन चलेको थियो।

एउटा अमेरिकी कम्पनीले बदलिदिएको दिशा

सिंगापुरको औद्योगिकीकरणको निर्णायक मोड कुनै विशाल सरकारी परियोजनाबाट होइन, एउटा अमेरिकी सेमिकन्डक्टर कम्पनीबाट आयो। सन् १९६७ मा बेलायतले सिंगापुरबाट आफ्ना सैनिक फिर्ता लैजाने घोषणा गर्‍यो।

त्यसबेला ब्रिटिस सैन्य उपस्थिति सिंगापुरको अर्थतन्त्रको करिब २० प्रतिशत र ३० हजारभन्दा बढी रोजगारीसँग जोडिएको थियो; सन् १९६६ मा मात्रै ब्रिटिस सेनाले करिब ४५० मिलियन सिंगापुर डलर खर्च गरेको थियो। संकट तत्कालको थियो-रोजगारी कहाँबाट आउँछ, अर्थतन्त्रले अर्को इन्जिन कहाँ पाउँछ?

सिंगापुरले यसको उत्तर संरक्षणवादमा खोजेन। घरेलु बजार अत्यन्त सानो भएकाले तत्कालीन वित्तमन्त्री गोह केङ स्वीको निष्कर्ष सरल थियो: बजार घरेलु होइन, विश्व हुनुपर्छ।

त्यसैले आर्थिक विकास बोर्डले विदेशी लगानीकर्तालाई पर्खने होइन, आफैं खोज्ने रणनीति अपनायो। सन् १९६६ मै उसले न्युयोर्कमा आफ्नो पहिलो विदेशी लगानी प्रवर्द्धन केन्द्र खोलिसकेको थियो।

त्यसको ठूलो परीक्षा सन् १९६८ मा आयो। अमेरिकी कम्पनी नेसनल सेमिकन्डक्टरले सिंगापुरमा उत्पादन सुविधा खोल्यो। सिंगापुरको आधिकारिक आर्थिक अभिलेखअनुसार, कम्पनीले दुई साताभित्रै उत्पादन सुरु गर्न सक्ने गरी सुविधा तयार गरिएको थियो।

एउटा अमेरिकी कम्पनीले सिंगापुरमा सफलतापूर्वक उत्पादन गर्न सक्छ भन्ने प्रमाण बनेपछि फेयरचाइल्ड, टेक्सस इन्स्ट्रुमेन्ट्स, हेवलेट–प्याकार्ड र जनरल इलेक्ट्रिकजस्ता कम्पनीहरू पनि आकर्षित भए।

सिंगापुरको औद्योगिक रणनीतिको असली चतुराइ देखिन्छ। पहिलो कम्पनी लगानी मात्र थिएन; त्यो बाँकी संसारका लागि प्रमाणपत्र थियो।

यदि एउटा अमेरिकी सेमिकन्डक्टर कम्पनीले यहाँ श्रमिक, पूर्वाधार, प्रशासन र आपूर्ति प्रणाली काम गर्न सक्ने पायो भने अर्को कम्पनीको जोखिम घट्यो। त्यसपछि अर्को आयो, त्यसले अझ अर्को कम्पनीलाई विश्वास दिलायो। विदेशी लगानी आफैं अर्को विदेशी लगानी आकर्षित गर्ने साधन बन्यो।

सरकारले यसका लागि केवल कर छुट दिएन। औद्योगिक भूमि, बन्दरगाह, प्राविधिक तालिम, श्रम सुधार, पूर्वाधार र तीव्र प्रशासनलाई एउटै प्याकेजमा जोडियो। ब्रिटिस सेनाले छोडेका करिब १५ हजार एकड, अर्थात् सिंगापुरको भूभागको करिब ११ प्रतिशत, क्षेत्रलाई समेत नयाँ आर्थिक सम्पत्तिमा बदलियो। सेम्बावाङको सैन्य नौसैनिक गोदी व्यावसायिक जहाज उद्योगतर्फ मोडियो।

त्यसपछि सुरु भएको चक्र उल्लेखनीय थियो-विदेशी लगानीले रोजगारी ल्यायो, रोजगारीले सीप बनायो, सीपले उत्पादनको गुणस्तर बढायो, उत्पादनले निर्यात बढायो र निर्यातले अर्को लगानीका लागि सिंगापुरलाई अझ आकर्षक बनायो।

सन् १९६९ मा टेक्सस इन्स्ट्रुमेन्ट्सले आफ्नो कारखाना खोल्यो। त्यसपछि सेमिकन्डक्टर उद्योग जरा गाड्दै गयो। आज यही क्षेत्र सिंगापुरको अर्थतन्त्रको करिब ६ प्रतिशत बराबर छ, ३५ हजारभन्दा बढी मानिसलाई रोजगारी दिन्छ र विश्वका शीर्ष १५ सेमिकन्डक्टर कम्पनीमध्ये नौवटाको उपस्थिति सिंगापुरमा छ।

अर्थात्, नेसनल सेमिकन्डक्टरको सन् १९६८ को कारखाना एउटा उद्योगको सुरुआत मात्र थिएन। त्यो सिंगापुरको आर्थिक फ्लाइविलको पहिलो घुमाइ थियो।

एउटा अमेरिकी कम्पनी आयो; त्यसपछि उद्योग आयो; उद्योगसँगै सीप आयो; र सीपले सिंगापुरलाई सस्तो श्रमको ठाउँबाट उच्च प्रविधिको उत्पादन केन्द्रतर्फ धकेल्यो। सानो देशले ठूलो बजार नपाएपछि विश्व बजारलाई नै आफ्नो घरेलु बजार बनायो।

दलदलमा रोपिएको औद्योगिक सपना

सिंगापुरको औद्योगिक चमत्कार बुझ्न जुडोङभन्दा राम्रो उदाहरण कमै भेटिन्छ। सन् १९६० को सुरुआतमा पश्चिमी सिंगापुरको जुडोङ क्षेत्र दलदल, म्यान्ग्रोभ र जङ्गलले भरिएको थियो। बेरोजगारी उच्च थियो, घरेलु बजार सानो थियो र स्वतन्त्रतापछि सिंगापुरसँग औद्योगिक आधार लगभग थिएन।

तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री डा. गोह केङ स्वीले त्यही उजाड भूभागमा उद्योग बसाल्ने योजना अघि सारे। आलोचकहरूका लागि यो विकास योजना कम र जुवा बढी थियो। सिंगापुरले उद्योग आउँछ कि आउँदैन भनेर पर्खिएन। उसले पहिले उद्योग आउन सक्ने ठाउँ बनायो।

सडक, विद्युत्, पानी, ढल, औद्योगिक जमिन, श्रमिक आवास, सञ्चार र बन्दरगाहलाई छुट्टाछुट्टै परियोजना होइन, एउटै औद्योगिक प्रणालीका भागका रूपमा विकास गरियो।

जुडोङ औद्योगिक क्षेत्रको निर्माणसँगै जुडोङ टाउन र जुडोङ बन्दरगाह पनि अघि बढे। सन् १९६१ मा जुडोङ विकासका लागि औद्योगिक पूर्वाधार निर्माण सुरु भयो र केही वर्षमै त्यो क्षेत्र सिंगापुरको औद्योगिक रूपान्तरणको केन्द्र बन्यो।

यहाँको पाठ सरल तर गहिरो थियो: लगानीकर्तालाई कारखाना खोल्न आग्रह गर्नु पर्याप्त हुँदैन; कारखाना खोल्न आवश्यक सम्पूर्ण वातावरण पहिले तयार गर्नुपर्छ।

यही कारण जुडोङमा पहिलो पुस्ताका उद्योग आए-जहाज निर्माण, इन्जिनियरिङ, इस्पात, रसायन र उत्पादन उद्योग विस्तार हुँदै गए। सरकारका लागि जुडोङ एउटा औद्योगिक क्षेत्र मात्र थिएन; यो बेरोजगार श्रमिकलाई रोजगारी, विदेशी पुँजीलाई ठाउँ र नयाँ अर्थतन्त्रलाई उत्पादन आधार दिने प्रयोगशाला थियो।

तेल नभएको देशको तेल साम्राज्य

जुडोङको सबैभन्दा असाधारण अध्याय भने जुडोङ आइल्याण्ड हो। तेल वा प्राकृतिक ग्यासको आफ्नै भण्डार नभएको सिंगापुरले ऊर्जा र रसायन उद्योगमा प्रतिस्पर्धा गर्ने निर्णय गर्‍यो।

सन् १९९० को दशकमा सातवटा साना टापुलाई जमिन पुर्ने र जोड्ने काम सुरु भयो। सन् १९९५ पछि अघि बढाइएको यो परियोजनाबाट करिब ३,२०० हेक्टर क्षेत्रफलको विशाल औद्योगिक परिसर बन्यो।

यो भूगोलको मात्र पुनर्निर्माण थिएन; आपूर्ति शृङ्खलाको पुनर्निर्माण थियो। बन्दरगाह, तेल भण्डारण, रिफाइनरी, पेट्रोकेमिकल प्लान्ट, पाइपलाइन, उपयोगिता सेवा र रासायनिक उद्योगलाई एउटै नेटवर्कमा जोडियो। एउटा कम्पनीको उत्पादन अर्को कम्पनीको कच्चा पदार्थ बन्न सक्ने गरी उद्योगहरूलाई एकअर्कासँग गाँसियो।

यसले ढुवानी र ऊर्जा लागत घटायो र एउटै टापुमा ठूलो औद्योगिक मूल्य सिर्जना गर्न सम्भव बनायो।

सिंगापुरको आर्थिक विकास बोर्डका अनुसार जुडोङ आइल्याण्डमा आज १०० भन्दा बढी ऊर्जा तथा रसायन कम्पनीको उपस्थिति छ र यस क्षेत्रमा विगत तीन दशकमा ५० अर्ब सिंगापुर डलरभन्दा बढी लगानी भएको छ। एक्सोनमोबिल, बीएएसएफ र शेभ्रोनजस्ता विश्वव्यापी कम्पनीहरू यसको औद्योगिक पारिस्थितिक प्रणालीका हिस्सा बनेका छन्।

अझ रोचक कुरा, सिंगापुरले कच्चा तेल उत्पादन गर्दैन। तर आयातित कच्चा तेललाई प्रशोधन गरेर विश्वको प्रमुख तेल प्रशोधन तथा व्यापार केन्द्रमध्ये एक बनेको छ। भूमिगत जुडोङ रक क्याभर्न्सले समुद्रमुनि चट्टानभित्र ऊर्जा भण्डारणको क्षमता थप्यो।

अर्थात्, जहाँ प्राकृतिक स्रोत थिएन, त्यहाँ सिंगापुरले पूर्वाधारलाई नै स्रोत बनायो।

जुडोङको कथा त्यसैले तेलको होइन, स्थानको अर्थशास्त्रको कथा हो। सिंगापुरले प्राकृतिक स्रोत खोजेन; उसले स्रोत जहाँ थियो, त्यहाँबाट मूल्य कसरी कब्जा गर्ने भन्ने खोज्यो।

कच्चा पदार्थ बाहिरबाट आयो, तर प्रशोधन, भण्डारण, व्यापार, वित्त, जहाजरानी र उच्च मूल्यको रसायन उद्योगबाट सिर्जित मूल्य सिंगापुरमा रह्यो।

दलदललाई कारखानामा, टापुलाई औद्योगिक नेटवर्कमा र स्रोतको अभावलाई व्यापारिक फाइदामा बदल्ने यही क्षमता सिंगापुरको औद्योगिक दर्शनको सार हो-प्राकृतिक सम्पत्ति नहुन सक्छ; तर राम्रोसँग डिजाइन गरिएको अर्थतन्त्र आफैं सम्पत्ति बन्न सक्छ।

भूगोललाई व्यापारिक हतियार बनाउने कला

सिंगापुरसँग एउटा असाधारण सम्पत्ति थियो-पूर्व र पश्चिमलाई जोड्ने समुद्री बाटोमा रहेको स्थान। सिंगापुरले एसिया, मध्यपूर्व र युरोपलाई जोड्ने सबैभन्दा छोटो र छिटो समुद्री मार्ग हिन्द महासागर र प्रशान्त महासागरबीचको मुख्य द्वार भएकाले आफ्नो साँघुरो जलमार्गलाई मालसामान ओसारपसारको केन्द्र बनाउँने लक्ष्य लियो ।

सिंगापुरले स्ट्रेट अफ मलक्का (मलेसियाको प्रायद्वीप र इन्डोनेसियाको सुमात्रा टापुको बीचमा अवस्थित ८०० देखि ९०० किलोमिटर लामो छ, ६५ किलोमिटरदेखि २५० किलोमिटर चौडाइ र केही भागमा निकै करीब २.८ किलोमिटर साँघुरो चौडाइ, औसत करिब २५ मिटर गहिरो रणनीतिक जलमार्ग) भूगोललाई भाग्यमा छाडेन; त्यसलाई पूर्वाधार, प्रविधि र सेवाको प्रतिस्पर्धात्मक हतियार बनायो।

बन्दरगाह सिंगापुरको अर्थतन्त्रको एउटा अंग मात्र बनेन सम्पूर्ण विश्व व्यापारसँग जोडिएको राष्ट्रिय व्यवसायिक मोडल बन्यो।

यसको आकार बुझ्न एउटा तथ्य पर्याप्त छ। सन् २०२४ मा सिंगापुर बन्दरगाहले पहिलोपटक ४१.१२ मिलियन टीईयू कन्टेनर व्यवस्थापन गर्‍यो, अघिल्लो वर्षको ३९.०१ मिलियन टीईयूको कीर्तिमानसमेत पार गर्दै। कुल कार्गो थ्रुपुट ६२२.६७ मिलियन टन पुग्यो भने बन्दरगाहमा आएका जहाजको कुल ग्रस टनेज ३.११ अर्ब पुग्यो

यी तथ्याङ्कको अझ रोचक पक्ष कन्टेनरको संख्या होइन, त्यसको प्रकृति हो। सिंगापुरको बन्दरगाह मुख्यतः ट्रान्ससिपमेन्ट हब हो-अर्थात् सामान सिंगापुरमा उत्पादन वा उपभोग हुनैपर्दैन। एउटा जहाजबाट झारिएको कन्टेनर अर्को जहाजमा चढ्छ र विश्वको अर्को कुनातर्फ जान्छ।

करिब ८०-९० प्रतिशत कन्टेनर ट्रान्ससिपमेन्टसँग सम्बन्धित रहने यही मोडलले सिंगापुरलाई ‘सामान बनाउने देश’भन्दा पनि विश्वका सामानहरू जोड्ने देश बनाएको छ।

यहीँ सिंगापुरको आर्थिक चतुराइ देखिन्छ। उसले विश्व व्यापारबाट कमाउन विश्वकै ठूलो उत्पादक बन्नुपरेन। अरूले उत्पादन गरेको सामानको यात्रालाई छिटो, सुरक्षित र सस्तो बनाइदिए पुग्यो।

एउटा बन्दरगाह, सयौँ व्यवसाय

कन्टेनर उठाउने र झार्ने कामबाट सुरु भएको बन्दरगाह अर्थतन्त्र बिस्तारै विशाल समुद्री व्यवसायमा बदलियो। सन् २०२४ मा सिंगापुरमा जहाजका लागि बिक्री गरिएको समुद्री इन्धन ५४.९२ मिलियन टन पुग्यो-विश्वकै सबैभन्दा ठूलो बंकरिङ बजारको रूपमा यसको भूमिका अझ बलियो बनाउँदै।

जहाज आएपछि केवल कार्गो झर्दैन। इन्धन चाहिन्छ, बीमा चाहिन्छ, वित्त चाहिन्छ, मर्मत चाहिन्छ, कानूनी सेवा चाहिन्छ, माल ढुवानी व्यवस्थापन चाहिन्छ, गोदाम र वितरण चाहिन्छ।

त्यसैले बन्दरगाह वरिपरि समुद्री बीमा, जहाज वित्त, समुद्री कानुन तथा मध्यस्थता, कमोडिटी व्यापार, लजिस्टिक्स र आपूर्ति शृङ्खला व्यवस्थापनजस्ता उच्च मूल्यका सेवाहरूको पूरै पारिस्थितिक प्रणाली विकास भयो।

यसले एउटा साधारण आर्थिक नियमलाई उल्ट्याइदियो। बन्दरगाहबाट पैसा कमाउन सिंगापुरले जहाजको स्वामित्व लिनैपरेन, न त प्रत्येक कन्टेनरभित्रको सामान आफ्नै देशमा उत्पादन गर्नुपर्‍यो। उसले जहाजको यात्रा, कार्गोको स्थानान्तरण र त्यससँग जोडिएका सेवाबाट मूल्य सिर्जना गर्‍यो।

त्यसैले सिंगापुरको बन्दरगाह केवल एउटा पूर्वाधार परियोजना होइन; यो भूगोललाई सेवामा, सेवालाई व्यापारमा र व्यापारलाई राष्ट्रिय आयमा रूपान्तरण गर्ने मेसिन हो। प्राकृतिक स्रोत नभएको देशले आफ्नो नक्साको एउटा बिन्दुलाई यस्तो आर्थिक सम्पत्तिमा बदल्यो, जहाँ संसारका सामान, जहाज, पूँजी र व्यावसायिक निर्णयहरू भेटिन्छन्।

यही कारण सिंगापुरको वास्तविक प्राकृतिक स्रोत समुद्र होइन—समुद्रको बीचमा सही ठाउँमा बसेर त्यसलाई कसरी व्यवस्थापन गरियो भन्ने क्षमता हो।

‘व्यापार’लाई उद्योग बनायो

सिंगापुरको सबैभन्दा ठूलो आर्थिक आविष्कार व्यापार गर्नु थिएन-व्यापारबाट पैसा कमाउने पूरै प्रणाली बनाउनु थियो। १९६५ मा स्वतन्त्र हुँदा उसको घरेलु बजार सानो थियो। त्यसैले उसले ठूलो उपभोक्ता बजार बनाउने प्रयास गरेन; बरु आफूलाई क्षेत्रीय व्यापारिक केन्द्र बनायो।

१९६१ मा आर्थिक विकास बोर्ड स्थापना भएपछि विदेशी कम्पनी, पूँजी र प्रविधिलाई आकर्षित गर्ने नीति तीव्र भयो। तर असली मोड १९६८ मा आयो। अमेरिकी सेमिकन्डक्टर कम्पनी नेसनल सेमिकन्डक्टर सिंगापुरमा उत्पादन सुरु गर्ने पहिलो अमेरिकी इलेक्ट्रोनिक्स कम्पनीमध्ये बन्यो। त्यसपछि टेक्सस इन्स्ट्रुमेन्ट्स, फेयरचाइल्ड र हेवलेट–प्याकर्ड आए।

सरकारले उनीहरूलाई केवल कारखाना खोल्न दिएन; विश्व बजारका लागि सिंगापुरमै उत्पादन गर्ने वातावरण बनायो। यसले एउटा महत्वपूर्ण परिवर्तन ल्यायो। कम्पनीले सामान उत्पादन गर्‍यो, तर त्यसको वरिपरि बैंक, बीमा, ढुवानी, कानुनी सेवा, लेखा र विदेशी मुद्रा कारोबार पनि बढ्यो। व्यापार आफैं एउटा आर्थिक पारिस्थितिक प्रणाली बन्यो।

ली कुआन युको आर्थिक सोचको सार यही थियो-सिंगापुरले संसारसँग प्रतिस्पर्धा गर्ने होइन, संसारलाई सिंगापुर प्रयोग गर्न बाध्य बनाउने ठाउँ बन्नुपर्छ।

उनले बारम्बार जोड दिएको कुरा थियो कि सिंगापुरको भविष्य उसको सानो घरेलु बजारमा होइन, अन्तर्राष्ट्रिय अर्थतन्त्रसँगको सम्बन्धमा निर्भर छ।

सिंगापुरले आफ्नो बजार ठूलो बनाएन। उसले बजारसम्म पुग्ने बाटो ठूलो बनायो। यही मोडलको सबैभन्दा उपयोगी पाठ हो। सानो अर्थतन्त्रले सबै वस्तु आफैं उत्पादन गर्नुपर्दैन। उसले उत्पादन, व्यापार र पूँजीको प्रवाहबीच आफूलाई अपरिहार्य बनाउन सक्छ।

सिंगापुरले आफ्नो भूगोल बदलेन। उसले भूगोललाई व्यापारिक सम्पत्तिमा बदल्यो।

विश्वको पैसा तान्ने सहर

उद्योगले सिंगापुरलाई वस्तु उत्पादन गर्न सिकायो, बन्दरगाहले संसारसँग जोड्यो। त्यसपछि उसले अझ महत्त्वाकांक्षी प्रश्न सोध्यो-यदि सामानको कारोबार यहाँबाट हुन्छ भने पैसा किन नहोस्?

यही प्रश्नले सिंगापुरलाई उत्पादन र व्यापारको केन्द्रबाट विश्वको वित्तीय केन्द्रतर्फ धकेल्यो। यो परिवर्तन संयोग थिएन। सानो घरेलु बजार भएको सहर–राज्यले आफ्नै बचत र आन्तरिक मागमा आधारित वित्तीय केन्द्र बनाउन सक्दैनथ्यो। त्यसैले सिंगापुरले सुरुदेखि नै बाहिर हे¥यो-विदेशी बैंक, अन्तर्राष्ट्रिय लगानीकर्ता, बहुराष्ट्रिय कम्पनी, सम्पत्ति व्यवस्थापक र क्षेत्रीय मुख्यालयलाई एउटै ठाउँमा ल्याउने नीति बनायो।

सन् १९६८ मा स्थापना भएको विकास तथा औद्योगिक बैंक अफ सिंगापुरले औद्योगिकीकरणलाई वित्त जुटाउने आधार बन्यो; पछि यही संस्था डीबीएसका रूपमा दक्षिण–पूर्वी एसियाको सबैभन्दा ठूलो बैंकिङ समूहहरूमध्ये एक बन्यो।

सिंगापुरको अर्को चाल अझ महत्त्वपूर्ण थियो-उसले आफ्नो बैंकिङ बजारलाई केवल सिंगापुरका ग्राहकका लागि बनाएको थिएन। उसले विदेशी मुद्राको कारोबार, अन्तर्राष्ट्रिय ऋण, सम्पत्ति व्यवस्थापन र सीमा–पार लगानीका लागि नियामक वातावरण तयार गर्‍यो।

यसरी सिंगापुरले आफूलाई पैसा उत्पादन गर्ने देशभन्दा पैसा गुज्रिने ठाउँ बनायो।

आज त्यसको आकार असाधारण छ। सन् २०२४ सम्म सिंगापुरमा व्यवस्थापन भइरहेको सम्पत्ति ५.४ ट्रिलियन सिंगापुर डलरभन्दा बढी पुगेको थियो र १,६५० भन्दा बढी पारिवारिक कार्यालय सञ्चालनमा थिए।

विदेशी मुद्रा कारोबारमा पनि सिंगापुर विश्वकै प्रमुख केन्द्रमध्ये एक हो-दैनिक करिब १.१ ट्रिलियन अमेरिकी डलर बराबरको कारोबार हुने र सन् २०२५ को विश्व वित्तीय केन्द्र सूचकांकमा चौथो स्थानमा रहेको सिंगापुर आर्थिक गतिविधिको मात्र केन्द्र होइन, पुँजीको विश्वव्यापी चौराहा बनेको छ।

यसको अर्को लाभ वित्तीय क्षेत्रभन्दा बाहिर देखिन्छ। बैंक आएपछि कानुनी सेवा आयो; लगानीकर्ता आएपछि लेखा, बीमा, सम्पत्ति व्यवस्थापन, परामर्श र प्रविधि कम्पनी आए। बहुराष्ट्रिय कम्पनीले एसियाली बजार व्यवस्थापन गर्न क्षेत्रीय मुख्यालय खोले।

सन् २०२५ मा सिंगापुरको आर्थिक विकास बोर्डले १४.२ अर्ब सिंगापुर डलर बराबरको स्थायी लगानी प्रतिबद्धता र ८.९ अर्ब डलर वार्षिक व्यावसायिक खर्चसम्बन्धी प्रतिबद्धता आकर्षित गर्‍यो; यी परियोजनाबाट १५,७०० रोजगारी र वार्षिक १८ अर्ब डलर बराबरको थप मूल्य सिर्जना हुने अनुमान गरिएको थियो।

तर सिंगापुरको वित्तीय सफलताको सबैभन्दा रोचक पक्ष पैसा तान्नु होइन-पैसा तानेपछि त्यसलाई सुरक्षित राख्ने क्षमता हो।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा सिंगापुरका बैंकहरूको पूँजी पर्याप्तता अनुपात १८.९ प्रतिशत थियो। बैंकहरूमा पर्याप्त तरलता र बलियो सम्पत्ति गुणस्तर थियो। सन् २०२४ को अन्त्यमा मौद्रिक प्राधिकरणसँग ३७१ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति थियो, जुन अर्थतन्त्रको करिब ६८ प्रतिशत बराबर थियो।

तर यही सफलताको अर्को पाटो पनि छ। सिंगापुर संसारसँग जति जोडिन्छ, संसारको संकट त्यति छिटो त्यहाँ आइपुग्छ। सन् १९९७–९८ को एसियाली वित्तीय संकटमा उच्च व्यापारिक तथा वित्तीय खुलापनका कारण सिंगापुरको वास्तविक उत्पादन सन् १९९८ मा २.२ प्रतिशत घट्यो।

अहिले पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले व्यापार तनाव, सीमा–पार पुँजी प्रवाह, विदेशी मुद्रा जोखिम र विश्वव्यापी वित्तीय अवस्थाको कडाइलाई प्रमुख जोखिम मानेको छ।

सिंगापुरको वित्तीय मोडेलको पाठ जोखिमरहित अर्थतन्त्र बनाउनु होइन। पाठ अझ कठिन छ-जोखिमलाई आकर्षित गर्ने खुलापनसँगै त्यसलाई सम्हाल्ने नियमन, सञ्चिति, संस्थागत अनुशासन र विश्वास पनि बनाउनु।

सिंगापुरले पैसालाई बोलायो; त्यसपछि पैसालाई बस्न बाध्य पार्ने विश्वास निर्माण गर्‍यो।

भ्रष्टाचारविरुद्ध युद्ध: अर्थतन्त्रको अदृश्य पूर्वाधार

सिंगापुरको आर्थिक चमत्कारको कथा बन्दरगाह, उद्योग, ली कुआन यु र वित्तीय केन्द्रमा धेरैपटक अडिन्छ। तर यसको एउटा कम देखिने पूर्वाधार अझ निर्णायक थियो-भ्रष्टाचारमाथिको असहिष्णुता।

भ्रष्टाचार अभ्यास अनुसन्धान ब्युरो (सीपीआईबी) को स्थापना १९५२ मै भएको थियो। १९५९ मा स्वशासन पाएपछि नयाँ सरकारले भ्रष्टाचारलाई प्रशासनिक कमजोरी होइन, राज्य निर्माणकै चुनौतीका रूपमा लियो।

त्यसैको परिणाम थियो १७ जुन १९६० मा लागू गरिएको भ्रष्टाचार निवारण ऐन। यसको मूल दर्शन असाधारण रूपमा सरल थियो-पद ठूलो हुँदैमा कानुन सानो हुँदैन।

सरकारी अधिकारी होस् वा व्यवसायी, शक्तिशाली होस् वा सामान्य नागरिक-भ्रष्टाचारमा अनुसन्धान र कारबाही हुन सक्ने व्यवस्था बनाइयो। सीपीआईबीको अधिकार सार्वजनिक क्षेत्रमा मात्र सीमित रहेन; निजी क्षेत्रको भ्रष्टाचारसमेत त्यसको अनुसन्धानको दायरामा आयो।

त्यसको संकेत व्यवहारमै देखियो। १९७५ मा एक मन्त्रीस्तरीय व्यक्तिमाथि भ्रष्टाचार मुद्दा चल्यो। १९८६ मा राष्ट्रिय विकाससँग सम्बन्धित एक उच्चपदस्थ व्यक्तिमाथि अनुसन्धान भयो। सन्देश स्पष्ट थियो-भ्रष्टाचारविरोधी अभियान अरूका लागि बनाइएको नियम होइन, सत्ताका लागि पनि लागू हुने नियम हो।

यसको आर्थिक अर्थ राजनीतिभन्दा गहिरो छ। भ्रष्टाचारले करको वास्तविक भार बढाउँछ, सार्वजनिक परियोजना महँगो बनाउँछ, प्रतिस्पर्धालाई विकृत गर्छ र लगानीकर्ताको विश्वास कमजोर पार्छ।

सिंगापुरले त्यसैले भ्रष्टाचारलाई नैतिक समस्या मात्र मानेन; उसले यसलाई अर्थतन्त्रको प्रत्यक्ष लागत का रूपमा बुझ्यो।

विकासका लागि सडक, बन्दरगाह र विद्युत् चाहिन्छ। तर तिनको प्रभावकारिता सुनिश्चित गर्ने अर्को पूर्वाधार पनि चाहिन्छ-विश्वास गर्न सकिने राज्य।

बैंक मात्र होइन, विश्वास बेच्ने देश

विश्व वित्तमा पैसाभन्दा पहिले चाहिने चीज हो-विश्वास। अर्बौं डलर कहाँ राख्ने? त्यहाँ, जहाँ नियम स्पष्ट छन्, अदालत भरपर्दा छन्, कर अनुमान गर्न सकिन्छ, सरकारको निर्णय मनपरी फेरिँदैन, भ्रष्टाचारको जोखिम कम छ र सम्झौता कार्यान्वयन हुन्छ।

सिंगापुरले यही विश्वासलाई आर्थिक सम्पत्ति बनायो। त्यसैले उसको वित्तीय सफलता बैंक र गगनचुम्बी भवनको कथा मात्र होइन। यो संस्थागत विश्वसनीयतालाई प्रतिस्पर्धात्मक लाभमा बदल्ने कथा हो।

कानूनले बनाएको विश्वासको अर्थतन्त्र

सिंगापुरको आर्थिक कायापलट कुनै आकस्मिक चमत्कार थिएन। बन्दरगाह र सडकले अर्थतन्त्र जोड्छन्; बलियो कानुन र संस्थाले त्यसमा विश्वास जोड्छन्।

सिंगापुरको जगमा बलियो कानून, दीर्घकालीन रणनीति र संस्थागत अनुशासनले बनाएको एउटा यस्तो प्रणाली थियो, जहाँ सरकार फेरिए पनि आर्थिक नियमको विश्वसनीयता कमजोर नहोस्।

सन् १९६१ मा स्थापित आर्थिक विकास बोर्डलाई औद्योगिकीकरण र विदेशी लगानी परिचालनमा प्रभावकारी अधिकार दिइयो। यसको उद्देश्य केवल लगानी भित्र्याउनु थिएन; सिंगापुरले कस्तो उद्योग चाहन्छ, कुन क्षेत्रमा पुँजी आकर्षित गर्ने र आफ्नो अर्थतन्त्रलाई विश्व बजारसँग कसरी जोड्ने भन्ने प्रश्नमा राज्य आफैं रणनीतिक खेलाडी बन्यो।

यससँगै सम्पत्ति अधिकार, बौद्धिक सम्पत्ति संरक्षण, कम्पनी कानून र सम्झौता कार्यान्वयनलाई बलियो बनाइयो। लगानीकर्ताका लागि यो कर छुटभन्दा महत्वपूर्ण प्रस्ताव थियो।

उनीहरूले केवल नाफाको सम्भावना हेर्दैनन्; आफ्नो पूँजी, प्रविधि र बौद्धिक सम्पत्ति भोलि पनि सुरक्षित रहनेछन् कि रहनेछैनन् भन्ने हेर्छन्। सिंगापुरले यही अनिश्चितता घटायो।

प्रशासनिक प्रक्रियालाई सरल बनाउँदै भ्रष्टाचार नियन्त्रण र कानूनी स्थिरतालाई आर्थिक नीतिको अभिन्न हिस्सा बनाइयो। विश्वभरका दक्ष जनशक्तिलाई आकर्षित गर्ने व्यवस्थित श्रम तथा आप्रवासन नीतिले त्यसमा अर्को तह थप्यो।

यसरी सिंगापुरले विदेशी कम्पनीलाई एउटा सन्देश दियो यहाँ लगानी गर्नु भनेको केवल एउटा कारखाना खोल्नु होइन, पूर्वानुमान गर्न सकिने नियम भएको अर्थतन्त्रमा प्रवेश गर्नु हो।

यही विश्वासले बहुराष्ट्रिय कम्पनीहरूलाई सिंगापुरमा क्षेत्रीय मुख्यालय, वित्तीय सञ्चालन, अनुसन्धान, व्यवस्थापन र उच्च मूल्यका व्यावसायिक गतिविधि केन्द्रित गर्न प्रोत्साहित गर्‍यो।

सानो भूगोल भएको देशले कानूनी निश्चिततालाई नै आफ्नो ठूलो आर्थिक पूर्वाधार बनायो।

नीति, प्रतिभा र प्रविधिको संयोजन

यस संस्थागत आधारको प्रभाव क्रमशः अर्थतन्त्रको संरचनामै देखियो। सन् १९६० को दशकको तुलनात्मक रूपमा न्यून आय भएको सिंगापुर उच्च आय भएका विश्वका अर्थतन्त्रमध्ये एक बन्यो।

तर यसको यात्रा सस्तो श्रम र विदेशी लगानीमै रोकिएन। जब कम लागतको उत्पादनमा अन्य एसियाली अर्थतन्त्रहरू प्रतिस्पर्धी बन्न थाले, सिंगापुरले आफ्नो अर्थतन्त्रलाई माथिल्लो मूल्य शृङ्खलातर्फ सार्‍यो—उत्पादनबाट उच्च प्रविधि, वित्त, अनुसन्धान, जैविक औषधि र डिजिटल अर्थतन्त्रतर्फ।

यस रूपान्तरणलाई नीति, प्रतिभा, मूल्य शृङ्खला, प्रविधि, विश्वास र गतिको छवटा आधारबाट बुझ्न सकिन्छ।

नीतिले खेलका नियम स्पष्ट गर्‍यो; शिक्षाले उद्योगलाई चाहिने प्रतिभा तयार गर्‍यो; विश्वव्यापी प्रतिभालाई आकर्षित गर्ने नीतिले सानो घरेलु श्रम बजारको सीमा तोड्यो; र मूल्य शृङ्खलामा माथि चढ्ने रणनीतिले सस्तो उत्पादनबाट उच्च मूल्य सिर्जनातर्फ अर्थतन्त्र मोड्यो।

प्रविधिले उत्पादकत्व बढायो, जबकि कानूनी स्थिरता र पारदर्शी प्रशासनले लगानीकर्ताको विश्वास बलियो बनायो।

सबैभन्दा महत्वपूर्ण कुरा, सिंगापुरले आफ्नो हिजोको सफलतालाई भोलिको रणनीतिको विकल्प बनाएन। इलेक्ट्रोनिक्स, पेट्रोकेमिकल्स र उत्पादनमा बनेको आधारलाई वित्त, जैविक औषधि, डिजिटल प्रविधि र कृत्रिम बौद्धिकतासम्म विस्तार गरियो।

प्रशासनिक निर्णयको गति पनि प्रतिस्पर्धात्मक लाभ बन्यो। किनकि विश्वव्यापी पुँजीका लागि समय स्वयं लागत हो। जहाँ अनुमति लिन महिनौँ लाग्छ, त्यहाँ अवसर पनि चिप्लिन सक्छ। सिंगापुरले यही साधारण आर्थिक सत्यलाई राज्य सञ्चालनको सिद्धान्त बनायो।

त्यसैले सिंगापुरको असली उपलब्धि एउटा बन्दरगाह, कर दर वा कुनै एक औद्योगिक नीतिमा भेटिँदैन। यसको शक्ति ती सबैलाई एउटै प्रणालीमा जोड्न सक्ने क्षमतामा छ- कानूनले विश्वास बनायो, शिक्षाले प्रतिभा दियो, प्रविधिले उत्पादकत्व बढायो र तीव्र प्रशासनले पुँजीलाई अवसरसँग जोड्यो।

सानो देशले ठूलो अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्ने बाटो भूगोलमा होइन, प्रणालीको गुणस्तरमा खोज्यो।

घरलाई सम्पत्तिमा बदल्ने नीति

धनी राष्ट्र बन्ने बाटो सधैं कारखाना र बन्दरगाहबाट मात्र जाँदैन। सिंगापुरले त्यसमा घर पनि थप्यो।

१९६० को दशकमा उसको सबैभन्दा ठूलो आर्थिक समस्या बेरोजगारी मात्र थिएन; आवासको अभाव पनि थियो। जनसंख्याको ठूलो हिस्सा भीडभाडयुक्त बस्ती र कमजोर सरसफाइ भएका झुपडपट्टीमा बसिरहेको थियो।

त्यसको उत्तरमा १ फेब्रुअरी १९६० मा हाउजिङ एन्ड डेभलपमेन्ट बोर्ड (एचडीबी) स्थापना गरियो। यसको प्रारम्भिक काम आकर्षक अपार्टमेन्ट बनाउनु होइन, सकेसम्म छिटो सकेसम्म धेरै मानिसलाई सुरक्षित घरमा सार्नु थियो।

नतिजा असाधारण रूपमा तीव्र थियो। एचडीबीले स्थापना भएको पहिलो पाँच वर्षमै करिब ५३,००० फ्ल्याट बनायो-औपनिवेशिक सरकारले अघिल्ला ३२ वर्षमा बनाएको करिब २३,००० आवासको दोब्बरभन्दा बढी।

१९६० मा एचडीबीको घरमा बस्ने जनसंख्या करिब ९ प्रतिशत थियो; १९७० मा त्यो ३५ प्रतिशत र १९८० मा ६७ प्रतिशत पुग्यो। १९८५ सम्म आइपुग्दा यो हिस्सा ८० प्रतिशतभन्दा माथि पुगिसकेको थियो।

तर सिंगापुरको वास्तविक प्रयोग घर बनाउने भन्दा घर किनाउने थियो। १९६४ मा सुरु गरिएको ‘होम ओनरसिप फर द पिपुल स्किम’ ले राज्यको भूमिकालाई भाडाको घर उपलब्ध गराउने संस्थाबाट नागरिकलाई सम्पत्तिको मालिक बनाउने संस्थामा बदलिदियो।

सुरुवाती फ्ल्याट बजार मूल्यभन्दा कममा बेचिन्थे, ताकि साधारण आय भएका परिवारले पनि स्वामित्व हासिल गर्न सकून्। त्यसको अर्को निर्णायक कदम १९६८ मा आयो। सरकारले नागरिकलाई आफ्नो केन्द्रीय भविष्य निधि (सीपीएफ) को बचत घरको डाउनपेमेन्ट र मासिक किस्ता तिर्न प्रयोग गर्न अनुमति दियो।

यसले आवास नीतिलाई सामाजिक कल्याणबाट व्यक्तिगत सम्पत्ति निर्माणसँग जोडिदियो। नागरिकले राज्यबाट केवल छाना पाएनन्; उनीहरूले आफ्नो बचतलाई घरमा रूपान्तरण गर्ने वित्तीय संयन्त्र पनि पाए।

सिंगापुरले आवासलाई शहरको योजनासँग पनि छुट्टै राखेन। एचडीबीका नयाँ बस्तीमा विद्यालय, बजार, खेलमैदान, सामुदायिक केन्द्र, पार्क र ‘हकर सेन्टर’ जस्ता सुविधा सँगै बनाइए।

अर्थात् फ्ल्याट एउटा भवन मात्र थिएन; त्यस वरिपरि एउटा सानो आर्थिक र सामाजिक शहर निर्माण हुन्थ्यो। १९६५ मा सुरु भएको तोआ पायोह एचडीबीको योजनाबद्ध ‘टाउन’ अवधारणाको प्रारम्भिक उदाहरण बन्यो।

यो नीतिको राजनीतिक अर्थ पनि थियो। ली कुआन यूको सरकारले घरको स्वामित्वलाई प्रत्यक्ष आर्थिक हिस्सेदारीका रूपमा हेरेको थियो। आफ्नो घरमा सम्पत्ति जोडिएको नागरिकका लागि राज्यको स्थायित्व केवल राजनीतिक विचार रहेन; त्यो उसको परिवारको बचत, सम्पत्ति र भविष्यसँग जोडियो।

त्यसैले एचडीबीलाई केवल ‘सार्वजनिक आवास कार्यक्रम’ भन्नु सिंगापुरको प्रयोगलाई सानो बनाउनु हो। यो भूमि, वित्त, बचत, सहरी योजना र नागरिक स्वामित्वलाई एउटै नीतिमा जोड्ने आर्थिक संरचना थियो।

सरकारले १९६७ को भूमि अधिग्रहण ऐनमार्फत ठूलो मात्रामा जमिनलाई सार्वजनिक आवास र पूर्वाधारका लागि प्रयोग गर्न सक्ने आधार बनायो। १९७१ देखि एचडीबी फ्ल्याट पुनः बिक्री गर्न पनि अनुमति दिइयो, जसले घरलाई बस्ने ठाउँसँगै सीमित रूपमा कारोबार गर्न सकिने सम्पत्तिमा परिणत गर्‍यो।

आज यसको परिणाम संख्यामा देखिन्छ। २०२५ मा सिंगापुरका ७७.२ प्रतिशत निवासी घरपरिवार एचडीबी आवासमा बसिरहेका थिए। २०२४ मा कुल घरधुरीमध्ये ९०.८ प्रतिशत मालिककै घरमा बसिरहेका थिए। सरकारले दिएको पछिल्लो तथ्याङ्कले पनि एचडीबीमा बस्ने करिब ८० प्रतिशत निवासी जनसंख्या र तीमध्ये ठूलो बहुमत आफ्नै घरको मालिक रहेको देखाउँछ।

यहीँ सिंगापुरको पाठ अलि गहिरो हुन्छ। उसले गरिब नागरिकलाई केवल घर दिएको होइन; घरलाई नागरिकको सम्पत्ति, बचत र राष्ट्रिय समृद्धिसँग जोडिदियो। विकासको फल नागरिकको बाल्कोनीसम्म पुर्‍याउने यो तरिका थियो र सिंगापुरको आर्थिक चमत्कारमा सिमेन्ट र स्टिलभन्दा कम महत्त्वपूर्ण थिएन।

शिक्षा: प्राकृतिक स्रोतको सट्टा मानव स्रोत

सिंगापुर सरकारले एउटा असहज निष्कर्ष निकाल्यो-प्राकृतिक स्रोत छैन भने मानिसलाई नै स्रोत बनाउनुपर्छ। शिक्षा सामाजिक खर्च मात्र होइन, औद्योगिकीकरणको पूर्वाधार बन्ने भयो।

१९६१ को पहिलो चारवर्षे विकास योजनाले शिक्षा र स्वास्थ्यमा विकास बजेटको करिब ४० प्रतिशत छुट्यायो। उद्देश्य विश्वविद्यालयका स्नातक उत्पादन गर्नु मात्र थिएन; उद्योगलाई तत्काल चाहिने श्रमिक तयार गर्नु थियो।

१९६४ मा सिंगापुर भोकेसनल इन्स्टिच्युट, १९६९ मा सिंगापुर टेक्निकल इन्स्टिच्युट र १९७३ मा इन्डस्ट्रियल ट्रेनिङ बोर्ड स्थापना भए। १९७९ सम्म थप १२ व्यावसायिक संस्थान खुलिसकेका थिए।

यसमा सिंगापुरको रणनीतिक बुद्धिमत्ता थियो। उद्योगले भोलि के चाहन्छ, शिक्षा प्रणालीले आजै त्यही तयार गर्ने।

१९६० को दशकमा श्रमप्रधान उत्पादनका लागि तालिम, १९७० को दशकमा इलेक्ट्रोनिक्स र परिशुद्ध इन्जिनियरिङ, त्यसपछि कम्प्युटर, मेसिनरी, औषधि, अनुसन्धान र उच्च प्रविधितर्फ शिक्षा क्रमशः सर्दै गयो।

आर्थिक विकास बोर्डले उद्योगसँगको संयुक्त तालिममार्फत बहुराष्ट्रिय कम्पनीलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन सहयोग गर्‍यो। यसले सिंगापुरको विदेशी लगानी रणनीतिलाई पनि बलियो बनायो।

सस्तो श्रमका कारण कम्पनी आउन सक्छ; तर ज्याला बढेपछि उनीहरूलाई रोक्ने कुरा उत्पादकत्व हो। त्यसैले सिंगापुरले कम्पनीलाई जग्गा, पूर्वाधार र अनुकूल वातावरण मात्र दिएन-उनीहरूलाई चाहिने मानिस पनि तयार गर्‍यो।

विश्व बैंकको अनुसन्धानले सीप विस्तार र प्रत्यक्ष वैदेशिक लगानीबीचको यो सम्बन्धलाई सिंगापुरको विकासको महत्वपूर्ण पक्ष मानेको छ।

शिक्षा पनि अर्थतन्त्रसँगै माथि उठ्यो-उद्योगबाट प्रविधि, प्रविधिबाट वित्त, इन्जिनियरिङ, बायोमेडिकल र अनुसन्धान हुँदै डिजिटल अर्थतन्त्रसम्म।

२०१५ मा सुरु भएको स्किल्सफ्युचर ले सिकाइलाई विद्यालय र विश्वविद्यालयपछि पनि निरन्तर रहने प्रणाली बनायो। आज सिंगापुरको साक्षरता दर ९७.६ प्रतिशत छ र विश्व बैंकले मानव पुँजी विकासमा उसलाई विश्वकै अग्रणी अर्थतन्त्रमध्ये राख्छ।

सिंगापुरको सूत्र सरल थियो, तर असाधारण: बन्दरगाह र औद्योगिक पार्कले पुँजी ल्याए; विद्यालय र प्राविधिक संस्थानले त्यसलाई उत्पादक बनाउने मानिस दिए।

प्राकृतिक स्रोत नभएको देशले अन्ततः आफूलाई सबैभन्दा महँगो स्रोतमा बदल्यो-मानव क्षमता।

पाँच सय डलरबाट एक लाख डलरतर्फ

सिंगापुरको परिवर्तनलाई बयान गर्न एउटा संख्या पर्याप्त छ। १९६५ मा स्वतन्त्र हुँदा प्रतिव्यक्ति जीडीपी करिब ५१७ डलर थियो। १९७० मा त्यो ९२६ डलर पुग्यो। १९८० मा ४,९२८ डलर र १९९० मा ११,८६२ डलर। अर्को दशकमा २००० मा २३,८५३ डलर पुग्यो। २०१५ मा ५५,६४६ डलर र २०२० को महामारीजन्य गिरावटपछि पनि २०२४ मा ९४,८९७ डलर तथा २०२५ मा ९८,८१४ डलर पुगेको विश्व बैंकको तथ्याङ्क छ।

अर्थात् ६० वर्षमा प्रतिव्यक्ति नाममात्र उत्पादन करिब १९१ गुणा बढ्यो। १९६५ को प्रत्येक १ डलर बराबरको स्तर आज झन्डै १९१ डलरको आर्थिक उत्पादनमा पुगेको देखिन्छ।

तर यो तुलना सावधानीसाथ बुझ्नुपर्छ-यी चालु अमेरिकी डलरका तथ्याङ्क हुन्, त्यसैले मुद्रास्फीति र विनिमय दरको प्रभाव पनि मिसिएको हुन्छ। वास्तविक जीवनस्तर मापन गर्न स्थिर मूल्य वा क्रयशक्ति समायोजित तथ्याङ्क अझ उपयुक्त हुन्छ।

त्यसका बाबजुद परिवर्तनको परिमाण भने असाधारण छ।

सबैभन्दा रोचक कुरा संख्या होइन, त्यो संख्या कहाँबाट आयो भन्ने हो। १९६५ को सिंगापुर तेल बेच्ने खाडी राष्ट्र थिएन, खनिज बेच्ने अस्ट्रेलिया थिएन र ठूलो घरेलु बजार भएको चीन वा भारत पनि थिएन। ऊ सानो टापु थियो, प्राकृतिक स्रोत लगभग थिएनन् र स्वतन्त्रताको सुरुवाती वर्षमै बेरोजगारी तथा आवास अभावजस्ता समस्यासँग जुधिरहेको थियो।

त्यसैले उसको विकासको आधार भूमिगत सम्पदा होइन, भूगोलको उपयोग, मानव पूँजी, बन्दरगाह, व्यापार, विदेशी लगानी, आवास, शिक्षा र संस्थागत क्षमता बन्यो।

त्यो यात्रा पनि सीधा रेखा थिएन। १९८५ मा प्रतिव्यक्ति जीडीपी करिब ७,००२ डलरमा झर्‍यो। १९९८ को एसियाली वित्तीय संकटपछि १९९७ को करिब २६,३७६ डलरबाट १९९८ मा २१,८२९ डलरमा आयो। २००१ मा फेरि २१,७०० डलर आसपास पुग्यो।

२००८ को विश्वव्यापी वित्तीय संकट, २०२० को महामारी र विनिमय दरका उतारचढावले पनि तथ्याङ्कलाई तलमाथि बनाए। तर हरेक धक्कापछि अर्थतन्त्र अझ उच्च तहमा फर्कियो।

यसको अर्को तुलना झन् अर्थपूर्ण छ। १९९० मा ११,८६२ डलर रहेको प्रतिव्यक्ति जीडीपी २०२५ मा ९८,८१४ डलर पुगेको छ।

अर्थात् ली कुआन यूको पहिलो पुस्ताले बनाएको औद्योगिक सिंगापुर र आजको विश्वव्यापी वित्त, प्रविधि, जैव–चिकित्सा तथा सेमिकन्डक्टर केन्द्र एउटै अर्थतन्त्र भए पनि एउटै आर्थिक संरचना होइनन्।

२०२५ को संख्या झन् प्रतीकात्मक छ। सिंगापुर प्रतिव्यक्ति नाममात्र जीडीपीमा एक लाख डलरको सीमाको ठीक तल पुगेको छ। विश्व बैंकको तथ्याङ्कमा २०२४ को ९४,८९७ डलरबाट एक वर्षमै ९८,८१४ डलर पुगेको देखिन्छ।

तर सिंगापुरको कथा “पैसा धेरै भयो” भन्ने कथा होइन। पैसा कमाउने अर्थतन्त्र कसरी बनाइयो भन्ने कथा हो।

बन्दरगाहलाई व्यापारको केन्द्र बनाइयो; व्यापारलाई उत्पादनसँग जोडियो; उत्पादनलाई इलेक्ट्रोनिक्स र उच्च प्रविधितर्फ सारियो; आवासलाई नागरिक सम्पत्तिसँग, शिक्षा र सीपलाई उद्योगसँग, बचतलाई लगानीसँग र राज्य क्षमतालाई दीर्घकालीन योजनासँग जोडियो।

१९६५ को करिब ५१७ डलरदेखि २०२५ को ९८,८१४ डलरसम्मको यात्रा केवल प्रतिव्यक्ति आयको उकालो होइन। यो एउटा गरिब, प्राकृतिक स्रोतविहीन बन्दरगाहले आफ्नो सबैभन्दा सीमित स्रोत-भूमि, मानिस र समय-लाई क्रमशः उच्च मूल्यमा बदल्दै गएको कथा हो।

संकटमा मोडल फेर्न सक्ने अर्थतन्त्र

सिंगापुरको कथा निरन्तर उकालो लागेको रेखा होइन। १९८५ मा पहिलो मन्दी, १९९७–९८ को एसियाली वित्तीय संकट, २००१ को प्रविधि–मन्दी, २००८–०९ को विश्व वित्तीय संकट र २०२० को महामारी-हरेकपटक बाह्य धक्काले उसको कमजोर ठाउँ देखायो।

तर सिंगापुरको विशेषता संकट नआउनु होइन; संकटले पुरानो आर्थिक ढाँचा असान्दर्भिक देखाएपछि त्यसलाई बदल्न सक्नु थियो।

१९८५ को मन्दी त झन् करिब दुई दशकको निरन्तर तीव्र वृद्धिपछि आएको पहिलो वास्तविक परीक्षा थियो। निर्माण क्षेत्रमा आएको अत्यधिक विस्तार, बढ्दो लागत र कमजोर बाह्य मागले अर्थतन्त्रलाई धक्का दिएको थियो।

संख्याले यसको उतारचढाव देखाउँछ। १९८५ मा वास्तविक अर्थतन्त्र ०.६ प्रतिशत खुम्चियो; १९८६ मा केवल १.३ प्रतिशत बढ्यो, तर त्यसपछि १९८७ मा १०.८ प्रतिशत र १९८८ मा ११.३ प्रतिशतको वृद्धि भयो।

१९९७ मा एसियाली संकट सुरु हुँदा पनि अर्थतन्त्र ८.३ प्रतिशत बढेको थियो; त्यसको अर्को वर्ष २.२ प्रतिशत संकुचित भयो। २००० मा ९ प्रतिशतको वृद्धि गरेको अर्थतन्त्र २००१ मा फेरि १.१ प्रतिशत खुम्चियो।

२००८ को संकट पनि फरक थियो। विश्व वित्तीय प्रणाली भत्किँदा सिंगापुरको वृद्धि २००७ को करिब ९ प्रतिशतबाट २००८ मा १.९ प्रतिशतमा झर्‍यो र २००९ मा लगभग स्थिर रह्यो। त्यसपछि २०१० मा अर्थतन्त्रले १४.५ प्रतिशतको असाधारण पुनरुत्थान गर्‍यो।

संकटलाई केवल राहत दिएर पार गर्ने होइन, अर्को विस्तारका लागि अर्थतन्त्रलाई फेरि तयार गर्ने उसको बानी यहीँ देखिन्छ।

२०२० अझ कठोर थियो। कोभिड–१९ ले खुला, व्यापारनिर्भर सिंगापुरलाई विश्वव्यापी माग र आवागमन दुवै बन्द हुँदा ५.८ प्रतिशतले खुम्च्यायो-स्वतन्त्रतापछिको सबैभन्दा गहिरो मन्दीमध्ये एक।

तर उत्पादन क्षेत्र, विशेषतः इलेक्ट्रोनिक्स, जैव–चिकित्सा उत्पादन र परिशुद्ध इन्जिनियरिङले संकटमै विस्तार गर्न थाले। २०२० को चौथो त्रैमासिकमा उत्पादन क्षेत्र ९.५ प्रतिशत बढेको सरकारी तथ्याङ्क छ।

त्यसपछि फर्किएको गति पनि उल्लेखनीय थियो। २०२१ मा अर्थतन्त्र १०.१ प्रतिशत बढ्यो। २०२२ मा ४ प्रतिशत, २०२३ मा १.१ प्रतिशत र २०२४ मा ४.४ प्रतिशत वृद्धि भयो। २०२५ मा अपेक्षाभन्दा बलियो ५ प्रतिशत विस्तार भयो-निर्माण, थोक व्यापार, वित्तीय सेवा र यातायातले त्यसलाई ताने।

महत्त्वपूर्ण कुरा वृद्धिको दर होइन, हरेक संकटपछि अर्थतन्त्रको संरचना बदलिनु हो।

१९८५ पछि लागत र उत्पादकत्वमा सुधार; १९९७ पछि वित्तीय प्रणालीको मजबुती; २००१ पछि प्रविधि र उच्च-मूल्य सेवातर्फ झुकाव; २००८ पछि जैव–चिकित्सा, वित्त र नयाँ प्रविधिमा विविधीकरण; र महामारीपछि आपूर्ति शृंखला, डिजिटल अर्थतन्त्र तथा उच्च प्रविधिमा थप जोड-संकट प्रत्येकपटक आर्थिक नीतिको पुनरावलोकनको बहाना बन्यो।

यसलाई सिंगापुरको राज्य–क्षमताको एउटा महत्त्वपूर्ण विशेषता मान्न सकिन्छ। सफल अर्थतन्त्र आफ्नो पुरानो सफलतामै प्रेममा पर्नु हुँदैन। हिजोको प्रतिस्पर्धात्मक लाभ भोलि बोझ बन्न सक्छ।

सिंगापुरले सस्तो श्रममा टिकिरहन खोजेन; उच्च सीपमा गयो। उत्पादनमै अडिएन; वित्त र सेवामा गयो। इलेक्ट्रोनिक्समै रोकिएन; सेमिकन्डक्टर, जैव–चिकित्सा र डिजिटल प्रविधिमा पुग्यो।

२०२५ ले अर्को कुरा पनि देखायो। अमेरिकी व्यापार नीति, विश्वव्यापी आपूर्ति शृंखला र भूराजनीतिक तनावका बीच सिंगापुरले फेरि आफ्नो आर्थिक जोखिम जाँच्नुपर्‍यो।

वर्षको सुरुवातमा सरकारले २०२५ को वृद्धिदर १–३ प्रतिशत मात्र हुने अनुमान गरेको थियो; अगस्टमा त्यसलाई १.५-२.५ प्रतिशत पुर्‍यायो र नोभेम्बरमा करिब ४ प्रतिशतमा उकास्यो। अन्ततः वर्ष सकिँदा वृद्धि ५ प्रतिशत रह्यो।

यही सिंगापुरको गहिरो पाठ हो। मोडल सफल हुनु भनेको त्यसलाई जस्ताको तस्तै जोगाइरहनु होइन; बदलिँदो संसारमा त्यसको अर्को संस्करण समयमै बनाउनु हो।

सिंगापुरले संकटलाई विकासको अवरोधभन्दा बढी चेतावनीका रूपमा प्रयोग गर्‍यो-कुन उद्योग कमजोर हुँदैछ, कहाँ लागत बढिरहेको छ, कुन सीप पुरानो भयो र अर्को अवसर कहाँ छ।

त्यसैले उसका लागि संकट अन्त्यको संकेत कम र अर्को आर्थिक रूपान्तरण सुरु गर्ने संकेत बढी

सानो टापुको ठूलो सिद्धान्त

सिंगापुर एउटा विकास-दर्शनको कथा हो-देशसँग के छैन भनेर गन्नुभन्दा आफूले जे छ, त्यसलाई संसारका लागि कति मूल्यवान् बनाउन सकिन्छ भन्ने दर्शन।

सिंगापुरले अभावलाई विकासका बाधा मानेन। बरु प्रत्येक अभावलाई नीतिको सुरुवाती प्रश्न बनायो।

ठूलो बजार छैन भने बाहिरी संसारलाई बजार बनाउने, स्रोत छैन भने मानिसलाई सबैभन्दा ठूलो स्रोत बनाउने, भूमि सीमित छ भने प्रत्येक जमिनको उपयोगिताको मूल्य बढाउने र सानो देश हो भने ठूलो शक्तिसँग प्रतिस्पर्धा गर्नुको सट्टा उनीहरूलाई आफ्नो अर्थतन्त्रसँग जोड्ने।

ली कुआन यूको विकास–दर्शनमा यही व्यावहारिकता केन्द्रीय थियो। उनी कुनै आर्थिक सिद्धान्तका बन्दी बन्नुभन्दा परिणाम हेर्नुपर्ने मान्यता राख्थे। उनको प्रश्न सरल थियो-कुनै नीति व्यवहारमा काम गर्छ कि गर्दैन?

यही सोचले सिंगापुरलाई विचारधाराभन्दा परिणाम, घोषणाभन्दा कार्यान्वयन र लोकप्रियताभन्दा दीर्घकालीन उपयोगितातर्फ धकेल्यो।

यस मोडलको अर्को विशेषता थियो-राज्यले दिशा दिने, तर संसारसँग प्रतिस्पर्धा गर्न बाध्य बनाउने। सरकारले पूर्वाधार, कानुन, शिक्षा, आवास, प्रशासन र संस्थागत वातावरण तयार गर्‍यो; निजी क्षेत्र र विश्वका कम्पनीलाई त्यस संरचनाभित्र लगानी, उत्पादन र प्रतिस्पर्धाका लागि आकर्षित गर्‍यो।

राज्य आफैं सबै कुरा गर्ने संस्था बनेन; उसले अर्थतन्त्रलाई काम गर्ने वातावरण बनाउने संस्था बन्न खोज्यो।

यसमा कठोर छनोट पनि थियो। सीमित स्रोत भएको देशले सबै कुरा एकैपटक गर्न सक्दैन। एउटा क्षेत्रमा थप जमिन दिनुको अर्थ अर्को क्षेत्रमा कम जमिन हुनु हो। उच्च ज्यालाको अर्थ केही कम उत्पादक काम टिक्न नसक्नु हो। खुला अर्थतन्त्रको अर्थ बाह्य प्रतिस्पर्धासँगै बाह्य निर्भरता पनि हो।

विदेशी प्रतिभा र पुँजी भित्र्याउँदा घरेलु श्रमिक र व्यवसायमाथि नयाँ प्रतिस्पर्धा आउँछ। सिंगापुरको विशेषता यी विरोधाभासलाई लुकाउनु होइन, तिनलाई नीति–निर्णयको हिस्सा बनाउनु थियो।

यही कारण सिंगापुरको विकास मोडललाई केवल ‘तीव्र आर्थिक वृद्धि’ भनेर बुझ्नु अधुरो हुन्छ। यसको गहिरो पक्ष लगातार पुनःनिर्माण हुने राज्य हो।

एउटा सफलता प्राप्त भएपछि त्यसैमा सन्तुष्ट नहुने, विश्व बदलिँदा आफ्नो आर्थिक भूमिका बदल्ने र पुरानो फाइदा कमजोर हुनुअघि नयाँ फाइदा खोज्ने क्षमता यसको केन्द्रमा रह्यो।

ली कुआन यूले सानो देशले आफूलाई निरन्तर पुनःनिर्माण गर्दै विश्व अर्थतन्त्रमा प्रासंगिक राख्नुपर्ने बताएका थिए। उनको दृष्टिमा सिंगापुरको अस्तित्वको प्रश्न नै यही थियो-विश्वलाई आफू किन आवश्यक छ भन्ने उत्तर निरन्तर दिन सक्ने कि नसक्ने।

त्यसैले सिंगापुरको सबैभन्दा ठूलो उपलब्धि कुनै एउटा उद्योग, बन्दरगाह, भवन वा वित्तीय केन्द्र होइन। त्यो विश्वसनीयता उत्पादन गर्ने प्रणाली हो-जहाँ लगानीकर्ताले नियम बुझ्न सक्छ, कम्पनीले निर्णय गर्न सक्छ, नागरिकले राज्यको क्षमता अनुमान गर्न सक्छ र सरकार आफैंले बदलिँदो परिस्थितिअनुसार आफ्नो नीति बदल्न सक्छ।

सिंगापुरको वास्तविक पाठ त्यसैले ‘सिंगापुरजस्तै बन’ भन्ने होइन। आफ्नो देशको आकार, भूगोल, जनशक्ति, पूँजी र कमजोरीअनुसार आफ्नै विकास-मोडल बनाऊ भन्ने पाठ हो।

सिंगापुरले संसारलाई देखाएको छ-अरूको सफलताको नक्कलले होइन, आफ्नो सीमाको सही मूल्यांकनले विकासको बाटो खोल्छ।

सिङ्गापुरले संसारलाई उदाहरण प्रस्तुत गर्‍यो-विकास स्रोतको परिणाम मात्र होइन, छनोटको परिणाम पनि हो

सबैभन्दा ठूलो राष्ट्रिय सम्पत्ति प्राकृतिक स्रोतहरूमा हुँदैन; त्यो राज्यको सोच, संस्थाको क्षमता र भविष्य बदलिँदा आफूलाई बदल्न सक्ने साहसमा हुन्छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action