काठमाडौं। नेपाल र चीनको सीमावर्ती हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जडीबुटी चिराइतो निर्यात गरिएको छ।
मध्यपहाडी क्षेत्रमा उत्पादन हुने चिराइतो यसअघि हिल्सा नाकाबाट औपचारिक रूपमा निकासी हुन सकेको थिएन।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार व्यापारीहरूले काठमाडौंस्थित भन्सार विभागबाट क्वारेन्टाइनको पत्र प्राप्त गरेपछि जडीबुटी निकासीको बाटो खुलेको हो। हिल्सामा क्वारेन्टाइन सुविधा नभएका कारण व्यापारीले काठमाडौंबाटै आवश्यक कागजात ल्याएका थिए।
यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले दिएको जानकारी अनुसार, उक्त चिराइतो सुर्खेत हुँदै सिमकोटबाट नेपाली ट्रकमा हिल्सा पुर्याइएको थियो।
हिल्सा सीमामा नेपाली ट्रकबाट चिनियाँ ट्रकमा लोड गरी चिराइतो चीनको ताक्लाकोटतर्फ पठाइएको छ। यो निकासी प्रक्रियाले सीमावर्ती क्षेत्रमा जडीबुटी व्यापारको नयाँ सम्भावना खुलाएको छ।
