काठमाडौं। भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स सम्मेलनको दोस्रो दिन सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स राष्ट्रहरू विश्व जनसंख्याको ५० प्रतिशत, कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत र विश्व व्यापारको २५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने समूह भएको बताए। सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायतका नेताहरू सहभागी छन्।
सम्मेलनमा मध्यपूर्वमा बढिरहेको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरिएको छ। भारतले आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न रुससँगको सहकार्यलाई निरन्तरता दिएको छ।
यसका साथै, सन् २०१९ पछि पहिलोपटक भारत भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटलाई दुई देशको सम्बन्ध सुधारको प्रयासका रूपमा हेरिएको छ। सन् २०२० मा सीमा क्षेत्रमा भएको हिंसात्मक झडपपछि दुवै देशले सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेका थिए। हाल मोदी र सीले सीमा विवादको निष्पक्ष, उचित र स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ब्रिक्स सन् २००९ मा स्थापना भएको हो। सुरुमा ब्राजिल, रुस, भारत र चीन सदस्य रहेको यस समूहमा पछि दक्षिण अफ्रिका थपिएको थियो भने पछिल्लो समय इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स पनि जोडिएका छन्। यो समूह विकासशील देशहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो बनाउने उद्देश्यका साथ अघि बढिरहेको छ।
