एक समय एशियाको औद्योगिक सफलताको कथा निकै सरल थियो। पश्चिमले प्रविधि बनाउँथ्यो, एशियाले सामान उत्पादन गर्थ्यो।
१८औँ शताब्दीपछि बेलायत र पश्चिमी युरोपमा औद्योगिक क्रान्ति तीव्र हुँदै जाँदा मेसिन, रेल, कारखाना, स्टिल, रसायन, विद्युत् र आधुनिक इन्जिनियरिङले आर्थिक शक्तिको नयाँ आधार बनाउँदै जाँदा विश्वको प्रविधि, उद्योग र इन्जिनियरिङको नक्सा पश्चिमतिर पुरै ढल्कीएको थियो।
१९औँ र २०औँ शताब्दीको सुरुआतसम्म आइपुग्दा पश्चिमा देशहरुको औद्योगिक उत्पादन, वैज्ञानिक अनुसन्धान र प्राविधिक क्षमतामा एशियाभन्दा निकै अगाडि पुगिसकेको थियो।
अब एशियाको पुरानो कथा फेरिएको छ।
एशिया अब केवल विश्वको उत्पादन केन्द्र होइन, विश्वको इन्जिनियरिङ शक्ति-सन्तुलन बदलिरहेको महादेश बन्न थालेको छ।
रोबोटिक्सदेखि सेमिकन्डक्टर, कृत्रिम बुद्धिमत्तादेखि विद्युतीय सवारी, अन्तरिक्षदेखि जैविक प्रविधि र ऊर्जा प्रविधिसम्म – एशियाली अर्थतन्त्रहरूले आ-आफ्नो विशिष्ट इन्जिनियरिङ क्षमता विकास गरेका छन्। आज विश्वका दुई तिहाइ भन्दा बढी रोबोट एशियामा जडान भइसकेका छन्।
दोस्रो विश्वयुद्धपछि जापानबाट सुरु भएको एशियाको औद्योगिक पुनरुत्थानले क्रमशः दक्षिण कोरिया, ताइवान, सिंगापुर, चीन र दक्षिणपूर्वी एशियासम्म फैलिँदै विश्वको प्रविधि र उत्पादनको शक्ति सन्तुलन नै बदलिदिएको छ ।
जापानले सस्तो श्रमलाई गुणस्तरमा बदल्यो, दक्षिण कोरियाले उत्पादनलाई विश्वव्यापी कम्पनीमा विस्तार गर्यो, ताइवानले इलेक्ट्रोनिक्स र सेमिकन्डक्टरमा विशेषज्ञता बनायो, चीनले विश्वकै ठूलो कारखाना खडा गर्यो र भारतले सफ्टवेयर तथा सूचना प्रविधिमा आफ्नो छुट्टै साम्राज्य निर्माण गर्यो।
दक्षिणपूर्वी एशियाले लागत, श्रम, कच्चा पदार्थ र उत्पादनको नयाँ आधार तयार गर्यो।
एशियाको औद्योगिक शक्ति अब कति सामान उत्पादन गर्छ भन्ने प्रश्नले मात्र मापन हुँदैन।
असली प्रश्न बदलिएको छ – कसले प्रविधि डिजाइन गर्छ, कसले पेटेन्ट गर्छ, कसले चिप बनाउँछ, कसले ती चिप बनाउने मेसिन र सामग्री उत्पादन गर्छ, कसले कारखानालाई रोबोटले चलाउँछ, कसले अनुसन्धानमा पैसा लगाउँछ, कसले उच्च प्रविधिको उत्पादनलाई ठूलो बजारमा पुर्याउँछ र कसले विश्वव्यापी आपूर्ति-श्रृंखलाको सबैभन्दा महत्वपूर्ण गाँठो आफ्नो नियन्त्रणमा राख्छ? यी सबै जिज्ञासाहरुको धेरै उत्तर अहिले एशियामै भेटिन्छन्।
विश्व बौद्धिक सम्पत्ति संगठनका अनुसार २०२४ मा विश्वभर ३७ लाखभन्दा बढी पेटेन्ट आवेदन परेका थिए। तीमध्ये एशियाका बौद्धिक सम्पत्ति कार्यालयहरूले करिब २६ लाख आवेदन प्राप्त गरे, अर्थात् विश्वको कुल पेटेन्ट आवेदनको ७०.१ प्रतिशत। २०१४ मा यो हिस्सा करिब ६० प्रतिशत थियो।
एक दशकमा विश्वको अनुसन्धान र प्रविधि सिर्जनामा एशियाको हिस्सा यसरी बढ्नु केवल तथ्यांकको परिवर्तन होइन। यो विश्वको औद्योगिक शक्ति कहाँ सर्दैछ भन्ने संकेत हो।
चीन, भारत, जापान र दक्षिण कोरिया मिलेर २०२४ मा एशियाबाट आएका पेटेन्ट आवेदनको ९५.२ प्रतिशत हिस्सा ओगटेका थिए। चीनका आवेदकले विश्वभर करिब १८ लाख पेटेन्ट आवेदन दर्ता गरे।
जापानका ४ लाख १९ हजारभन्दा बढी र दक्षिण कोरियाका करिब २ लाख ९६ हजार आवेदन थिए। भारतका आवेदकबाट विश्वभर पेटेन्ट आवेदन १९.१ प्रतिशतले बढ्यो, लगातार छैटौँ वर्ष दोहोरो अंकको वृद्धि।
तर पेटेन्टको संख्या मात्र हेरेर एशियाको कथा बुझिँदैन। यसको वास्तविक अर्थ अनुसन्धान, उद्योग, उत्पादन, पूँजी, प्रतिभा र बजार एकअर्कासँग जोडिन थालेपछि देखिन्छ।
विश्व नवप्रवर्तन सूचकांक २०२५ मा दक्षिण कोरिया विश्वको चौथो, सिंगापुर पाँचौँ, चीन दशौँ, जापान बाह्रौँ र इजरायल चौधौँ स्थानमा छन्।
भारत ३८औँ स्थानमा रहेर मध्य तथा दक्षिण एशियाको अग्रणी अर्थतन्त्र बनेको छ। चीनका २४ वटा शहर तथा क्षेत्र विश्वका शीर्ष १०० नवप्रवर्तन क्लस्टरमा छन्। सेन्जेन-हङकङ-ग्वाङ्झाउ विश्वकै पहिलो र टोकियो-योकोहामा दोस्रो ठूलो नवप्रवर्तन क्लस्टर बनेका छन्।
तर यो सूचीभन्दा पनि रोचक कुरा एशियाका देशहरूले एउटै बाटो रोजेका छैनन् भन्ने हो।
जापानले प्रिसिजन र मेसिनरीको गहिराइ समातेको छ। चीनले विशाल उत्पादन प्रणालीलाई अनुसन्धान र स्वचालनसँग जोडेको छ। ताइवानले विश्वकै सबैभन्दा रणनीतिक उद्योगमध्ये एक – अत्याधुनिक सेमिकन्डक्टर – मा असाधारण विशेषज्ञता बनाएको छ। दक्षिण कोरियाले चिप, इलेक्ट्रोनिक्स, ब्याट्री र रोबोटिक्सलाई जोडेको छ।
भारतले सफ्टवेयर र इन्जिनियरिङ प्रतिभालाई हार्डवेयर, अन्तरिक्ष र सेमिकन्डक्टरतर्फ विस्तार गर्दैछ। सिंगापुरले सानो भूगोललाई उच्च-मूल्य उत्पादनको शक्तिमा बदलेको छ। इजरायलले अनुसन्धानलाई उद्यम र प्रविधिमा रूपान्तरण गर्ने क्षमता बनाएको छ।
साउदी अरेबियाले पेट्रोलियम र रसायनमा बनेको पुरानो इन्जिनियरिङ ज्ञानलाई नयाँ ऊर्जा, हाइड्रोजन, खानी र उन्नत उत्पादनमा लैजान खोजिरहेको छ।
इन्डोनेसियाले निकेललाई ब्याट्री उद्योगसँग जोड्दैछ। मलेसियाले सेमिकन्डक्टर एसेम्बली, परीक्षण र इलेक्ट्रोनिक्सको पुरानो आधारलाई नयाँ उच्च-प्रविधि आपूर्ति-श्रृंखलासँग जोडिरहेको छ। यसरी हेर्दा एशियाको वास्तविक शक्ति कुनै एउटा देशमा छैन। यो एउटा औद्योगिक प्रणाली हो।
जापानले सुरु गरेको बाटो
यो प्रणालीको एउटा पुरानो आधार जापान हो।
दोस्रो विश्वयुद्धपछि जापानसँग चीनजस्तो विशाल बजार थिएन, अमेरिकाजस्तो प्राकृतिक स्रोत थिएन र सोभियत संघजस्तो भूगोल पनि थिएन। उसले प्रतिस्पर्धा गर्ने बाटो फरक रोज्यो – उत्पादनमा सटीकता, गुणस्तर र निरन्तर सुधार।
कार उद्योग त्यसको सबैभन्दा चर्चित उदाहरण हो। तर जापानको असली औद्योगिक शक्ति कारको अन्तिम उत्पादनभन्दा धेरै गहिरो छ।
मेसिन टुल, औद्योगिक रोबोट, सेन्सर, प्रिसिजन उपकरण, विशेष सामग्री, इलेक्ट्रोनिक कम्पोनेन्ट र उत्पादन प्रणालीमा जापानी कम्पनीहरूको क्षमता विश्वव्यापी आपूर्ति-श्रृंखलाको आधारभूत हिस्सा बनेको छ। २०२४ मा जापानमा ४४ हजार ५०० औद्योगिक रोबोट नयाँ जडान भए। सञ्चालनमा रहेका औद्योगिक रोबोटको संख्या करिब ४ लाख ५० हजार ५०० पुग्यो।
यो चीनपछि विश्वकै ठूलो परिचालन भण्डारमध्ये एक हो। रोबोटको संख्या मात्र जापानको उपलब्धि होइन। जापानले एउटा यस्तो औद्योगिक संस्कृति विकास गर्यो जहाँ उत्पादन गर्ने कम्पनीसँगै उत्पादन गराउने मेसिन बनाउने कम्पनी पनि विश्वस्तरीय बन्न सक्छ।
यही कारण जापानको प्रभाव उपभोक्ताले सधैँ देख्दैन। कार जापानी नहुन सक्छ, तर त्यसको उत्पादनमा प्रयोग भएको उपकरण जापानी हुन सक्छ। स्मार्टफोनको ब्रान्ड अर्को देशको हुन सक्छ, तर त्यसमा प्रयोग भएको विशेष सामग्री वा प्रिसिजन कम्पोनेन्ट जापानबाट आएको हुन सक्छ।
जापानले इन्जिनियरिङलाई अन्तिम उत्पादनभन्दा तलसम्म पुर्यायो। २०२३ मा जापानको अनुसन्धान तथा विकास खर्च २२.०५ ट्रिलियन येन पुगेको थियो, जुन उसको कुल गार्हस्थ्य उत्पादनको ३.७ प्रतिशत बराबर हो।
त्यस वर्ष करिब ९ लाख ७ हजार ४ सय अनुसन्धानकर्ता थिए। यातायात उपकरणमा मात्रै अनुसन्धान खर्च ४.४४ ट्रिलियन येन थियो भने इलेक्ट्रोनिक पार्ट्स, उपकरण तथा सर्किटमा १.३७ ट्रिलियन येन खर्च भएको थियो। त्यसैले जापानको कथा पुरानो औद्योगिक शक्तिको कथा मात्र होइन। यो औद्योगिक ज्ञानको गहिराइ को कथा हो।
चीनले कारखानालाई प्रयोगशाला बनाउँदैछ
यदि जापानले उच्च गुणस्तरको उत्पादन प्रणाली बनायो भने चीनले त्यसलाई विशाल आकारमा विस्तार गर्यो। चीनको पहिलो औद्योगिक शक्ति सस्तो उत्पादन थियो। त्यसपछि ठूलो उत्पादन भयो। अहिले चीनको लक्ष्य तेस्रो चरणमा पुगेको छ – उत्पादन, अनुसन्धान, स्वचालन र प्रविधिलाई एउटै प्रणालीमा जोड्ने।
२०२४ मा चीनको अनुसन्धान तथा विकास खर्च ३६.३३ ट्रिलियन युआन पुगेको थियो, अघिल्लो वर्षभन्दा ८.९ प्रतिशत बढी। अनुसन्धान खर्च कुल गार्हस्थ्य उत्पादनको २.६९ प्रतिशत पुगेको थियो।
त्यसको ७७.७ प्रतिशत व्यवसाय क्षेत्रबाट आएको थियो। उच्च प्रविधि उत्पादन उद्योगको अनुसन्धान तथा विकास खर्च मात्रै ७.६७ ट्रिलियन युआन पुगेको थियो। यसको अर्थ अनुसन्धान अब चीनका विश्वविद्यालय र सरकारी प्रयोगशालामा मात्र सीमित छैन।
उद्योग आफैं ठूलो अनुसन्धानकर्ता बनेको छ। पेटेन्टमा यसको प्रभाव अझ ठूलो छ। चीनका आवेदकले २०२४ मा विश्वभर करिब १८ लाख पेटेन्ट आवेदन दर्ता गरे।
चीनमा मात्रै १८ लाखभन्दा बढी आवेदन परेका थिए। प्रतिएक खर्ब अमेरिकी डलर बराबरको जीडीपीमा घरेलु पेटेन्ट आवेदनको दर ४,९७७ थियो। जापानको ४,१५० थियो।
तर चीनको वास्तविक परिवर्तन रोबोटमा देखिन्छ।
२०२४ मा विश्वभर नयाँ जडान भएका औद्योगिक रोबोटमध्ये चीनले एक्लैले ५४ प्रतिशत हिस्सा लियो। चीनमा २ लाख ९५ हजार नयाँ औद्योगिक रोबोट जडान भए। देशमा सञ्चालनमा रहेका औद्योगिक रोबोटको संख्या २० लाख नाघ्यो।
यो एउटा असाधारण परिवर्तन हो। विश्वको कारखाना भनिएको चीन अब मानिसको सस्तो श्रममा मात्र निर्भर रहन चाहँदैन। उसले त्यही विशाल उत्पादन प्रणालीलाई रोबोट, एआई र स्वचालनले अझ उत्पादक बनाउँदैछ।
२०२४ मा चिनियाँ रोबोट निर्माताहरूले घरेलु बजारमा ५७ प्रतिशत हिस्सा हासिल गरे। करिब एक दशकअघि यो हिस्सा २८ प्रतिशत थियो। यसको अर्थ चीन अब रोबोट प्रयोग गर्ने मात्र होइन, रोबोट बनाउने देश पनि बन्दैछ।
कार उद्योगमा पनि यही परिवर्तन देखिन्छ। चीनको विद्युतीय सवारी उद्योगले ब्याट्री, मोटर, इलेक्ट्रोनिक्स, सफ्टवेयर र उत्पादनको ठूलो घरेलु आपूर्ति-श्रृंखला बनाएको छ।
सौर्य प्यानल, ब्याट्री, विद्युतीय सवारी र नवीकरणीय ऊर्जा उपकरणमा चीनको उत्पादन क्षमता विश्वव्यापी आपूर्ति-श्रृंखलाको केन्द्र बनेको छ।
तर चीनको सबैभन्दा ठूलो रणनीतिक लक्ष्य अझै अगाडि छ – प्रविधिको उच्चतम तहमा निर्भरता घटाउनु।
चीनको विश्व नवप्रवर्तन सूचकांकमा दशौँ स्थानमा पुग्नु यस परिवर्तनको संकेत हो। ज्ञान तथा प्रविधि उत्पादनमा चीन विश्वकै पहिलो स्थानमा छ।
ट्रेडमार्क, उपयोगिता मोडल र औद्योगिक डिजाइनमा पनि उसको प्रभुत्व छ। चीनको शक्ति केवल ठूलो हुनु होइन। ठूलो बजार, ठूलो कारखाना, ठूलो अनुसन्धान बजेट, ठूलो प्रतिभा आधार र ठूलो आपूर्ति-श्रृंखलालाई एउटै प्रणालीमा जोड्न सक्नु हो।
चिपको शक्ति र ताइवानको असाधारण भूमिका
आधुनिक औद्योगिक शक्तिको सबैभन्दा रणनीतिक केन्द्र अहिले सेमिकन्डक्टर बनेको छ। कृत्रिम बुद्धिमत्ता होस् वा स्मार्टफोन, विद्युतीय सवारी होस् वा रक्षा प्रणाली, डेटा सेन्टर होस् वा रोबोट – सबैको मुटुमा चिप छ। यही कारण ताइवानको औद्योगिक भूमिका उसको आकारभन्दा असाधारण रूपमा ठूलो भएको छ।
ताइवानले विश्वकै सबैभन्दा जटिल उद्योगमध्ये एकमा विशेषज्ञता बनाएको छ – फाउन्ड्री सेमिकन्डक्टर उत्पादन।
अमेरिकी वाणिज्य विभागका अनुसार ताइवानले विश्वव्यापी फाउन्ड्री आम्दानीको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ र अत्याधुनिक चिप उत्पादनको ९० प्रतिशतभन्दा बढी हिस्सा त्यहाँ केन्द्रित छ।
२०२४ मा ताइवानको सेमिकन्डक्टर उद्योगको आम्दानी १६५ अर्ब अमेरिकी डलरभन्दा बढी थियो, जुन उसको अर्थतन्त्रको करिब २०.७ प्रतिशत बराबर थियो।
ताइवानको शक्ति केवल चिप बनाउने कारखानामा छैन। त्यसका वरिपरि इन्जिनियर, डिजाइन कम्पनी, सामग्री, उत्पादन उपकरण, प्याकेजिङ, परीक्षण, अनुसन्धान संस्था र विश्वव्यापी ग्राहकको नेटवर्क छ।
एउटा देशले विश्वको सबैभन्दा महत्वपूर्ण प्रविधिको एउटा तहमा असाधारण विशेषज्ञता हासिल गरेपछि उसको रणनीतिक महत्त्व उसको भूगोलभन्दा धेरै ठूलो हुन सक्छ। ताइवानले यही प्रमाणित गरेको छ। तर सेमिकन्डक्टरको कथा ताइवानमै सकिँदैन।
दक्षिण कोरियाको चिप, ब्याट्री र रोबोट
दक्षिण कोरियाले सेमिकन्डक्टर, इलेक्ट्रोनिक्स, डिस्प्ले, ब्याट्री र अटोमोबाइललाई एउटै औद्योगिक क्षमतामा जोडेको छ। विश्व नवप्रवर्तन सूचकांक २०२५ मा दक्षिण कोरिया चौथो स्थानमा पुग्यो। व्यवसाय क्षेत्रको अनुसन्धान तथा विकास खर्चको जीडीपीसँगको अनुपातमा ऊ विश्वकै पहिलो छ। उच्च-प्रविधि उत्पादनमा पनि ऊ अग्रणी छ।
रोबोटिक्समा दक्षिण कोरियाको अवस्था अझ असाधारण छ।
२०२४ मा ३० हजार ६०० औद्योगिक रोबोट जडान भए। तर उसको वास्तविक शक्ति रोबोटको कुल संख्याभन्दा घनत्वमा देखिन्छ। प्रत्येक १० हजार उत्पादन श्रमिकका लागि करिब १,२२० औद्योगिक रोबोट रहेको दक्षिण कोरिया विश्वकै सबैभन्दा स्वचालित उत्पादन अर्थतन्त्र हो।
यसले कोरियाली औद्योगिक मोडलको मूल चरित्र देखाउँछ। उच्च ज्याला र सीमित श्रमशक्तिको समस्या उसले स्वचालनबाट समाधान गर्यो। चिपमा ठूलो लगानी गर्यो। ब्याट्रीमा प्रवेश गर्यो। विद्युतीय सवारी र स्मार्ट इलेक्ट्रोनिक्सलाई जोड्यो। दक्षिण कोरिया अहिले एउटा देश मात्र होइन, उच्च प्रविधिको उत्पादन प्रणाली बनेको छ।
भारतको ठूलो सम्पत्ति इन्जिनियर
भारतको औद्योगिक कथा भने मानिसबाट सुरु हुन्छ। भारतले दशकौँसम्म सूचना प्रविधि, सफ्टवेयर र इन्जिनियरिङ सेवामा ठूलो जनशक्ति तयार गर्यो। भारतीय इन्जिनियरहरू सिलिकन भ्यालीदेखि विश्वका ठूला प्रविधि कम्पनीसम्म पुगे। अब भारतले यही प्रतिभालाई उत्पादनमा फर्काउन खोजिरहेको छ।
विश्व नवप्रवर्तन सूचकांकमा भारत ३८औँ स्थानमा छ। पेटेन्ट आवेदन तीव्र गतिमा बढिरहेको छ। २०२४ मा भारतीय पेटेन्ट आवेदन १६.५ प्रतिशत बढ्यो। भारतीय आवेदकको विश्वव्यापी पेटेन्ट आवेदन १९.१ प्रतिशतले बढ्यो।
सेमिकन्डक्टरमा भारतको महत्व अझ बढ्दैछ। भारतीय इन्जिनियरहरूले विश्वव्यापी सेमिकन्डक्टर डिजाइन जनशक्तिमा करिब पाँचौँ हिस्सा ओगट्ने अनुमान गरिएको छ। भारत अब चिप डिजाइनबाट उत्पादन र प्याकेजिङतर्फ विस्तार गर्न खोजिरहेको छ।
अन्तरिक्षमा भारतले कम लागतको जटिल इन्जिनियरिङको क्षमता देखाइसकेको छ। डिजिटल सार्वजनिक पूर्वाधारमा पनि भारतले विश्वका धेरै देशभन्दा फरक प्रयोग गरेको छ।
तर भारतको चुनौती स्पष्ट छ। अनुसन्धान तथा विकास खर्च जीडीपीको करिब ०.८४ प्रतिशत मात्र छ। चीन, जापान वा दक्षिण कोरियासँग तुलना गर्दा यो निकै कम हो। त्यसैले भारतको अगाडिको प्रश्न प्रतिभा उत्पादन गर्ने होइन। त्यो प्रतिभालाई अनुसन्धान, उत्पादन र विश्वव्यापी उच्च-मूल्य उद्योगमा कसरी बाँध्ने भन्ने हो।
सिंगापुर – सानो भूगोल, ठूलो विशेषज्ञता
सिंगापुरले एशियाको औद्योगिक शक्तिको अर्को मोडल देखाउँछ। ठूलो जनसंख्या छैन। ठूलो भूमि छैन। प्राकृतिक स्रोत पनि सीमित छन्। त्यसैले उसले मात्रा होइन, मूल्य रोज्यो।
सेमिकन्डक्टर, जैविक औषधि, एयरोस्पेस, विशेष रसायन, इलेक्ट्रोनिक्स र उच्च-मूल्य उत्पादनमा सिंगापुरले आफ्नो स्थान बनाएको छ।
सिंगापुरले विश्वका करिब १० प्रतिशत चिप उत्पादनसँग सम्बन्धित गतिविधि, विश्वको करिब पाँचौँ सेमिकन्डक्टर उपकरण उत्पादन र विश्वव्यापी एयरोस्पेस मर्मत तथा ओभरहाउल उत्पादनको करिब १० प्रतिशत हिस्सा ओगट्ने औद्योगिक आधार बनाएको छ।
विश्वका शीर्ष १० जैविक औषधि कम्पनीमध्ये आठको त्यहाँ उत्पादन वा अनुसन्धान गतिविधि छ।
यसको रहस्य सस्तो श्रम होइन।
पूर्वाधार, दक्ष जनशक्ति, अनुसन्धान संस्था, स्थिर नीति र बहुराष्ट्रिय कम्पनीलाई स्थानीय ज्ञान प्रणालीसँग जोड्ने क्षमता हो। सिंगापुरको एउटा महत्त्वपूर्ण पाठ यही हो – सानो देशले ठूलो उद्योगमा सबै कुरा गर्नुपर्दैन; एउटा अत्यन्त मूल्यवान चरणमा उत्कृष्ट हुनुपर्छ।
इजरायल – प्रयोगशालाबाट कम्पनीसम्म
इजरायलको औद्योगिक शक्ति अझ फरक छ। संसारको सबैभन्दा ठूलो जनसंख्या नभएको देश। विशाल उत्पादन उद्योग पनि छैन। तर अनुसन्धान तथा विकासमा उसको तीव्रता विश्वकै उच्च छ।
२०२३ मा इजरायलको कुल अनुसन्धान तथा विकास खर्च जीडीपीको ६.३५ प्रतिशत थियो, विश्वकै उच्च दर। ज्ञान-गहन रोजगारी पनि अत्यन्त उच्च छ। कम्प्युटर विज्ञान, इलेक्ट्रोनिक्स, साइबर सुरक्षा, रक्षा प्रविधि, एयरोस्पेस, जैविक प्रविधि र स्वास्थ्य प्रविधिमा इजरायलले अनुसन्धानलाई व्यावसायिक कम्पनीमा बदल्ने प्रणाली बनाएको छ।
यसले अर्को महत्वपूर्ण कुरा देखाउँछ। इन्जिनियरिङ शक्ति कारखानाको आकारले मात्र निर्धारण हुँदैन। कहिलेकाहीँ एउटा सानो देशले विश्वविद्यालय, अनुसन्धान, रक्षा प्रविधि, निजी लगानी र उद्यमशीलतालाई जोडेर विश्वव्यापी प्रभाव बनाउन सक्छ। इजरायल त्यसको एउटा उदाहरण हो।
इन्डोनेसिया: खानीबाट ब्याट्रीसम्म
इन्डोनेसियाको औद्योगिक सम्भावना पनि प्राकृतिक स्रोतबाट सुरु हुन्छ, तर लक्ष्य कच्चा पदार्थ निर्यातमा रोकिँदैन। निकेल।
विश्वको विद्युतीय सवारी र ब्याट्री उद्योग विस्तार हुँदै गर्दा निकेल रणनीतिक धातु बनेको छ। इन्डोनेसिया विश्वको सबैभन्दा महत्वपूर्ण निकेल स्रोत र उत्पादक देशमध्ये एक हो। देशले कच्चा निकेल निर्यात सीमित गर्दै घरेलु प्रशोधन र औद्योगिकरणमा जोड दिएको छ।
खानीबाट निकेल निकाल्ने, त्यसलाई प्रशोधन गर्ने, ब्याट्रीका लागि आवश्यक सामग्री बनाउने, सेल उत्पादन गर्ने र अन्ततः विद्युतीय सवारीसम्म पुग्ने मूल्य-श्रृंखला निर्माण गर्ने उसको लक्ष्य हो।
कच्चा पदार्थ देशभित्र प्रशोधन गर्नु मात्र औद्योगिक उन्नयन होइन। उच्च प्रविधि, स्थानीय इन्जिनियरिङ, अनुसन्धान, स्वदेशी कम्पनी र विश्वस्तरीय उत्पादन क्षमता पनि चाहिन्छ। इन्डोनेसियाको सफलता यही कुराले निर्धारण गर्नेछ – उसले निकेललाई केवल नयाँ निर्यात वस्तु बनाउँछ कि नयाँ औद्योगिक युगको आधार बनाउँछ।
मलेसिया: चिपको अदृश्य केन्द्र
मलेसियाको कथा पनि यही आपूर्ति-श्रृंखलाको अर्को कडी हो। मलेसियाले दशकौँदेखि इलेक्ट्रोनिक्स र सेमिकन्डक्टर एसेम्बली, परीक्षण तथा प्याकेजिङमा क्षमता बनाएको छ। उसको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स क्षेत्र कुल निर्यातको ४० प्रतिशतभन्दा बढी हिस्सासँग जोडिएको छ।
विश्वव्यापी चिप उद्योगले उत्पादनलाई विभिन्न देशमा फैलाउन खोज्दा मलेसियाको भूमिका थप महत्वपूर्ण बनेको छ। अब मलेसिया केवल एसेम्बली र परीक्षणमा सीमित रहन चाहँदैन। आईसी डिजाइन, उन्नत प्याकेजिङ, स्मार्ट उत्पादन, डिजिटल ट्विन र एआई-सहायित उत्पादनतर्फ उक्लिन खोजिरहेको छ।
यसरी हेर्दा मलेसिया ताइवानको प्रतिस्पर्धी मात्र होइन। ऊ ताइवान, चीन, जापान, दक्षिण कोरिया र पश्चिमी प्रविधि कम्पनीलाई जोड्ने आपूर्ति-श्रृंखलाको एउटा महत्त्वपूर्ण कडी हो।
एउटै कारखाना होइन, एउटा महादेशीय कारखाना
यहीँबाट एशियाको सबैभन्दा ठूलो औद्योगिक शक्ति देखिन्छ। यी देशहरू पूर्ण रूपमा अलग छैनन्।
ताइवानले चिप उत्पादन गर्छ। जापानले अत्याधुनिक सामग्री र उत्पादन उपकरणको ठूलो हिस्सा दिन्छ।
दक्षिण कोरियाले मेमोरी चिप र ब्याट्रीमा शक्ति राख्छ। चीनले विशाल इलेक्ट्रोनिक्स र अन्तिम उत्पादन प्रणाली दिन्छ। मलेसियाले परीक्षण र प्याकेजिङ गर्छ। सिंगापुरले उच्च-मूल्य उत्पादन, जैविक औषधि र सेमिकन्डक्टर गतिविधि सम्हाल्छ। भारतले सफ्टवेयर, डिजाइन र इन्जिनियरिङ प्रतिभा दिन्छ।
इन्डोनेसियाले निकेल दिन्छ। साउदी अरबले ऊर्जा र रसायनमा आफ्नो क्षमता विस्तार गर्दैछ। जापान र कोरियाले उच्चस्तरीय उत्पादन प्रविधि र सामग्री दिन्छन्।
त्यसैले एशिया एउटा कारखाना होइन। यो कारखानाहरूको नेटवर्क हो।
यही कारण चीनबाट केही उत्पादन मलेसिया, भियतनाम वा अन्य दक्षिणपूर्वी एशियाली देशमा सर्दा चीनको औद्योगिक शक्ति समाप्त हुँदैन। आपूर्ति-श्रृंखला बदलिन्छ। कम्पनीहरूले जोखिम बाँड्छन्। देशहरूले फरक चरण सम्हाल्छन्।
भूराजनीतिक तनाव, महामारीपछि आपूर्ति-श्रृंखला पुनर्गठन र चीन-अमेरिका प्रविधि प्रतिस्पर्धाले यसलाई थप तीव्र बनाएको छ। अब विश्वव्यापी कम्पनीको प्रश्न केवल “सबैभन्दा सस्तो कारखाना कहाँ छ?” भन्ने होइन। प्रश्न हो – कुन देशले कुन जोखिम कम गर्न सक्छ र कुन चरणमा सबैभन्दा बढी मूल्य सिर्जना गर्छ?
रोबोटले देखाएको भविष्य
रोबोटिक्सले यो परिवर्तनको सबैभन्दा भौतिक रूप देखाउँछ। २०२४ मा विश्वभर ५ लाख ४२ हजारभन्दा बढी औद्योगिक रोबोट नयाँ जडान भए। तीमध्ये करिब ४ लाख २ हजार एशियामा जडान भए। अर्थात् विश्वका नयाँ औद्योगिक रोबोटमध्ये करिब तीन चौथाइ एशियामै गए।
चीन एक्लैले २ लाख ९५ हजार रोबोट जडान गर्यो। जापान ४४ हजार ५०० र दक्षिण कोरिया ३० हजार ६००को आसपास थिए। भारतमा ९ हजार १०० रोबोट जडान भए, जुन उसको अहिलेसम्मकै उच्च संख्या हो। यी तथ्यांकलाई केवल रोबोट उद्योगको तथ्यांकका रूपमा हेर्नु गल्ती हुनेछ।
यसले श्रम बजार, उत्पादन लागत, जनसांख्यिकी र औद्योगिक प्रतिस्पर्धाको भविष्य बताउँछ।
जापानमा वृद्ध जनसंख्या र श्रम अभावले स्वचालन आवश्यक बनाउँछ। कोरियामा उच्च ज्याला र सीमित श्रमशक्तिले रोबोटलाई आकर्षक बनाउँछ। चीनमा विशाल उत्पादनलाई अझ उत्पादक बनाउन रोबोट आवश्यक छ। भारतमा बढ्दो उत्पादनलाई विश्वस्तरीय बनाउने साधनका रूपमा रोबोटको प्रयोग बढ्दैछ।
एउटै प्रविधिले फरक देशमा फरक समस्या समाधान गरिरहेको छ।
कृत्रिम बुद्धिमत्ता – सबै इन्जिनियरिङलाई जोड्ने प्रविधि
अब यस सम्पूर्ण औद्योगिक परिवर्तनको माथि कृत्रिम बुद्धिमत्ता थपिँदैछ। एआईलाई सफ्टवेयरको मात्र कथा ठान्नु अब गलत हुनेछ। एआईका लागि चिप चाहिन्छ।
चिपका लागि अत्याधुनिक उत्पादन प्रविधि चाहिन्छ। उत्पादनका लागि रोबोट चाहिन्छ। रोबोटका लागि सेन्सर, मोटर र नियन्त्रण प्रणाली चाहिन्छ।
डेटा सेन्टरका लागि बिजुली र शीतलन चाहिन्छ। यी सबैका लागि इलेक्ट्रिकल, मेकानिकल, सिभिल, केमिकल र सामग्री इन्जिनियरिङ चाहिन्छ। यसैले एआईको दौड वास्तवमा सम्पूर्ण इन्जिनियरिङ प्रणालीको दौड हो।
चीनले विशाल एआई र उत्पादन क्षमता जोड्न खोजिरहेको छ। ताइवान अत्याधुनिक एआई चिप उत्पादनको केन्द्रमा छ।
दक्षिण कोरिया मेमोरी र उच्च-प्रविधि इलेक्ट्रोनिक्समा छ। जापान सामग्री, उपकरण र रोबोटिक्समा बलियो छ। भारत सफ्टवेयर र डिजाइन प्रतिभामा बलियो छ। सिंगापुर उच्च-मूल्य उत्पादन र डेटा पूर्वाधारमा छ। इजरायल एआई, साइबर सुरक्षा र रक्षा प्रविधिमा बलियो छ।
यसरी हेर्दा एआईले एशियाको पुरानो औद्योगिक संरचनालाई विस्थापित गरिरहेको छैन। उसले त्यसलाई एकअर्कासँग जोडिरहेको छ।
इन्जिनियरिङका शाखा अब छुट्टाछुट्टै रहेनन्
यस परिवर्तनको अर्को ठूलो परिणाम इन्जिनियरिङ शिक्षामा देखिन्छ।
कम्प्युटर विज्ञान अब केवल सफ्टवेयरको विषय रहेन। इलेक्ट्रोनिक्स अब केवल सर्किटको विषय रहेन। मेकानिकल इन्जिनियरिङ अब केवल मेसिनको विषय रहेन। केमिकल इन्जिनियरिङ अब केवल कारखानाको रसायनसम्म सीमित छैन।
आधुनिक विद्युतीय सवारीमा मेकानिकल, इलेक्ट्रिकल, सफ्टवेयर, ब्याट्री, सामग्री र एआई सबै मिसिएका छन्।
आधुनिक रोबोटमा मेकानिकल डिजाइन, इलेक्ट्रोनिक्स, सेन्सर, सफ्टवेयर र कृत्रिम बुद्धिमत्ता मिसिएका छन्। अत्याधुनिक चिपमा भौतिकशास्त्र, रसायनशास्त्र, सामग्री विज्ञान, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर डिजाइन र अत्यन्त सटीक उत्पादन प्रविधि मिसिएका छन्।
अन्तरिक्षयानमा एयरोस्पेस, इलेक्ट्रोनिक्स, सामग्री, कम्प्युटिङ, ऊर्जा र नियन्त्रण प्रणाली एकै ठाउँमा आउँछन्। त्यसैले भविष्यको इन्जिनियर एक शाखाको मात्र विशेषज्ञ भएर पुग्दैन।
उसले अर्को शाखासँग काम गर्न सक्नुपर्छ।
यही कारण एशियाका अग्रणी देशहरूले अब केवल इन्जिनियर उत्पादन गर्ने होइन, अनुसन्धानकर्ता, डिजाइनर, उद्यमी र औद्योगिक नेतृत्वकर्ता उत्पादन गर्ने प्रणालीमा जोड दिन थालेका छन्।
एशियाको सबैभन्दा ठूलो जोखिम पनि यही हो
तर एशियाको यो कथा पूर्ण रूपमा सफलताको कथा होइन।
प्रविधिको दौडमा ठूलो लगानीले ठूलो जोखिम पनि ल्याउँछ। चिप उद्योगमा अत्यधिक पूँजी आवश्यक हुन्छ। रोबोटिक्सले श्रम बजारमा दबाब सिर्जना गर्न सक्छ।
एआईले रोजगारीको स्वरूप बदल्न सक्छ। खनिज-आधारित औद्योगिकीकरणले वातावरणीय समस्या बढाउन सक्छ। आपूर्ति-श्रृंखलाको अत्यधिक एकाग्रताले भूराजनीतिक जोखिम सिर्जना गर्न सक्छ।
ताइवानमा केन्द्रित अत्याधुनिक चिप उत्पादन यसको उदाहरण हो। विश्व अर्थतन्त्रले एउटा सानो भूगोलमा निर्भर हुने जोखिम देखिरहेको छ।
चीन र अमेरिकाबीचको प्रविधि प्रतिस्पर्धाले पनि देखाउँछ कि इन्जिनियरिङ अब व्यापारको मात्र विषय रहेन। यो राष्ट्रिय सुरक्षाको विषय बनेको छ।
चिप, एआई, रोबोट, ड्रोन, उपग्रह, ब्याट्री र ऊर्जा प्रविधि अब आर्थिक र रणनीतिक शक्ति दुवै हुन्। त्यसैले आगामी दशकको औद्योगिक प्रतिस्पर्धा बजारमा मात्र हुनेछैन। यो प्रविधि, प्रतिभा, पूँजी, ऊर्जा र आपूर्ति-श्रृंखलाको नियन्त्रणमा हुनेछ।
