udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

टीएसएमसी : संसारको डिजिटल अर्थतन्त्रको अदृश्य कारखाना

एप्पलदेखि एनभिडियासम्मका प्रविधि दिग्गजका चिप बनाउँदै ताइवानी कम्पनीले चार दशकमा डिजिटल अर्थतन्त्रको अपरिहार्य शक्ति निर्माण गरेको छ।

टीएसएमसी : संसारको डिजिटल अर्थतन्त्रको अदृश्य कारखाना
A A+ A-

संसारको कुनै कुनामा बसेर मानिसले आइफोन चलाइरहेको छ, कम्प्युटरमा काम गरिरहेको छ, विद्युतीय गाडी गुडाइरहेको छ वा कृत्रिम बौद्धिकतामा आधारित सेवा प्रयोग गरिरहेको छ भने तीमध्ये धेरै प्रविधिको पछाडि एउटा यस्तो कम्पनीको हात हुन सक्छ, जसको नाम अन्तिम उपभोक्ताले सायदै सुनेको हुन्छ।

त्यो कम्पनी हो, ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी अर्थात् टीएसएमसी।

एप्पल, एनभिडिया, एएमडी, क्वाल्कमलगायत विश्वका ठूला प्रविधि कम्पनीहरूले अत्याधुनिक चिपको डिजाइन गर्छन्। तर डिजाइनलाई वास्तविक सिलिकन चिपमा बदल्ने काम ठूलो हिस्सामा टीएसएमसीले गर्छ।

यही कारण टीएसएमसीलाई सामान्य अर्थमा अर्को एउटा प्रविधि कम्पनी भनेर बुझ्नु पर्याप्त हुँदैन। यो आधुनिक डिजिटल अर्थतन्त्रको उत्पादन संरचनामै बसेको कम्पनी हो।

२०२५ मा टीएसएमसीले १२ हजार ६ सय ८२ प्रकारका उत्पादन बनाएको थियो। कम्पनीले ३०५ फरक उत्पादन प्रविधि प्रयोग गर्दै ५३४ ग्राहकका लागि चिप उत्पादन गर्‍यो। उसका कारखानाको वार्षिक उत्पादन क्षमता १२ इन्च बराबरका १ करोड ७० लाखभन्दा बढी वेफर पुगेको थियो।

त्यही वर्ष कम्पनीको आम्दानी अमेरिकी डलरमा १२२ अर्ब ४२ करोड पुगेको थियो। खुद नाफा मात्रै ५५ अर्ब २१ करोड डलर थियो। आम्दानी अघिल्लो वर्षको तुलनामा ३५.९ प्रतिशत र खुद नाफा ५१.२ प्रतिशतले बढेको थियो।

अझ महत्वपूर्ण कुरा, २०२५ मा टीएसएमसीको कुल वेफर आम्दानीमध्ये ७ नानोमिटर र त्यसभन्दा उन्नत प्रविधिको हिस्सा ७४ प्रतिशत पुगेको थियो। चौथो त्रैमासिकमा यो हिस्सा ७७ प्रतिशतसम्म पुगेको थियो।

यो केवल एउटा कम्पनीको आर्थिक सफलता होइन। यो एउटा यस्तो व्यापारिक मोडलको सफलता हो, जसले सेमिकन्डक्टर उद्योगको संरचनै बदलिदियो।

पचास वर्षपछि आएको एउटा विचार

टीएसएमसीको कथा मोरिस च्याङबिना पूरा हुँदैन।

च्याङको जीवन आफैँमा सेमिकन्डक्टर उद्योगको इतिहाससँग जोडिएको छ। उनी अमेरिकाको टेक्सास इन्स्ट्रुमेन्ट्समा २५ वर्ष काम गरे। त्यहाँ उनले ट्रान्जिस्टरदेखि एकीकृत सर्किटसम्मको व्यवसाय र प्रविधिको विकासलाई नजिकबाट बुझे। उनी कम्पनीको विश्वव्यापी सेमिकन्डक्टर व्यवसायका प्रमुख नेतृत्वकर्तामध्ये एक बने।

तर उनले उद्योगमा एउटा गम्भीर समस्या देखे। चिप बनाउन चाहने कम्पनीले चिप डिजाइन मात्र गरेर पुग्दैनथ्यो। उसले आफ्नै उत्पादन कारखाना पनि बनाउनुपथ्र्यो।

त्यसका लागि अर्बौँ डलर चाहिन्थ्यो। कारखाना बनाउन मात्र होइन, त्यसलाई सञ्चालन गर्न अत्याधुनिक उपकरण, दक्ष इन्जिनियर, उत्पादन प्रणाली, अनुसन्धान तथा विकास र निरन्तर नयाँ प्रविधिमा लगानी गर्नुपर्थ्यो।

यसको अर्थ थियो-उत्कृष्ट चिपको विचार भएको सानो कम्पनी पनि केवल कारखाना बनाउन नसकेकै कारण बजारमा प्रवेश गर्न सक्दैनथ्यो।

च्याङले यही समस्या समाधान गर्ने उपाय खोजे।  किन चिप डिजाइन गर्ने कम्पनीले डिजाइन मात्रै नगर्ने? किन उत्पादनको जिम्मेवारी अर्को कम्पनीले नलिने?

यही सोचले चिप उद्योगमा नयाँ प्रकारको कम्पनीको अवधारणा जन्मायो।

टीएसएमसीको आधिकारिक इतिहासअनुसार १९८७ मा च्याङले संसारकै पहिलो समर्पित सेमिकन्डक्टर फाउन्ड्री स्थापना गरे। यसको मूल उद्देश्य अरू कम्पनीले डिजाइन गरेका चिप उत्पादन गर्नु थियो। त्यो समयका लागि यो विचार असामान्य थियो।

किनकि उद्योगको स्थापित मान्यता थियो— वास्तविक सेमिकन्डक्टर कम्पनीले आफ्नै चिप डिजाइन गर्नुपर्छ र आफ्नै कारखानामा उत्पादन पनि गर्नुपर्छ।

च्याङले भने ठीक उल्टो बाटो रोजे। उनले भने, ‘तपाईं डिजाइन गर्नुस्, हामी उत्पादन गर्छौँ।’ त्यही एउटा निर्णयले भविष्यको प्रविधि उद्योगको ढोका खोलिदियो।

ताइवानको जोखिमपूर्ण दाउ

१९८० को दशकमा ताइवान आजको जस्तो विश्व सेमिकन्डक्टर शक्तिका रूपमा स्थापित थिएन। त्यहाँ एप्पल वा इन्टेलजस्ता विश्वव्यापी ब्रान्ड थिएनन्। विशाल अमेरिकी बजारमा पुग्ने आफ्नै प्रविधि कम्पनीहरू थिएनन्।

तर ताइवान सरकारले इलेक्ट्रोनिक्स उद्योगलाई आर्थिक विकासको आधार बनाउन चाहेको थियो। च्याङलाई ताइवान ल्याइनुको कारण पनि यही थियो।

टीएसएमसी सरकार, फिलिप्स इलेक्ट्रोनिक्स र निजी लगानीकर्ताको संयुक्त पहलबाट स्थापना भयो। कम्पनीले सुरुमा सीमित स्रोत र प्रारम्भिक प्रविधिबाट यात्रा सुरु गर्‍यो। तर यसको सबैभन्दा ठूलो सम्पत्ति पैसा थिएन।

व्यावसायिक मोडल थियो। टीएसएमसीले आफ्नै ब्रान्डको चिप बेचेन। उसले आफ्ना ग्राहकसँग प्रतिस्पर्धा गरेन। कुनै ग्राहकले अत्याधुनिक चिप डिजाइन गर्छ भने टीएसएमसीले त्यसलाई उत्पादन गर्ने।

कुनै अर्को कम्पनीले अझ राम्रो चिप डिजाइन गर्‍यो भने पनि टीएसएमसीले त्यसलाई उत्पादन गर्ने। ग्राहकहरू एकअर्काका प्रतिस्पर्धी भए पनि टीएसएमसी उनीहरूको साझा उत्पादन साझेदार बन्ने।

यही तटस्थता पछि कम्पनीको सबैभन्दा ठूलो शक्ति बन्यो। टीएसएमसीले आफूलाई एउटा ‘भर्चुअल फ्याक्ट्री’का रूपमा प्रस्तुत गर्‍यो— ग्राहकले आफ्नै फ्याक्ट्री नबनाई आफ्नै उत्पादन कारखाना भएको जस्तो सुविधा पाउने। कम्पनीको पुरानो व्यावसायिक अवधारणामै यही विचार स्पष्ट रूपमा उल्लेख गरिएको छ।

इन्टेलको विश्वासले बदलिएको खेल

कुनै नयाँ व्यवसायिक मोडल सफल हुन बजारको विश्वास चाहिन्छ। टीएसएमसीका लागि त्यो विश्वास क्रमशः निर्माण भयो।

कम्पनीले सुरुका वर्षमै प्रविधि विकास, उत्पादन गुणस्तर र ग्राहक सेवा सुधारमा ठूलो जोड दियो। १९८८ मै कम्पनी नाफामा पुगेको उसको ऐतिहासिक अभिलेखले देखाउँछ।

तर टीएसएमसीलाई उद्योगको केन्द्रमा पुर्‍याउने सबैभन्दा ठूलो परिवर्तन भने ग्राहकको बढ्दो विश्वास थियो। ठूला सेमिकन्डक्टर कम्पनीहरूले क्रमशः बाह्य फाउन्ड्री प्रयोग गर्न थाले।

यसले एउटा नयाँ सम्भावना देखायो। चिप डिजाइन गर्ने कम्पनीले कारखानामा अर्बौँ डलर नलगाई आफ्नो मुख्य क्षमता—डिजाइन, सफ्टवेयर, बजार र उत्पादन रणनीति—मा लगानी गर्न सक्ने भयो।

यसैबाट पछि ‘फ्याबलेस’ कम्पनीहरूको ठूलो संसार विकसित भयो। एनभिडिया, एएमडी, क्वाल्कमजस्ता कम्पनीहरूको व्यापारिक संरचना बुझ्न टीएसएमसीको उदय बुझ्नैपर्छ।

उनीहरूका लागि चिप डिजाइन नै मुख्य शक्ति हो। चिप बनाउने कारखाना होइन। टीएसएमसीले यही विभाजनलाई औद्योगिक संरचनामा बदल्यो। एउटा फ्याक्ट्रीले जन्माएको हजारौँ कम्पनीको सम्भावना

टीएसएमसीको वास्तविक प्रभाव उसको आफ्नै आम्दानीभन्दा धेरै ठूलो छ। किनकि उसले केवल चिप उत्पादन गरेन। उसले नयाँ कम्पनी जन्माउन सकिने वातावरण निर्माण गर्‍यो।

यदि एउटा नयाँ प्रविधि कम्पनीसँग उत्कृष्ट चिप डिजाइन गर्ने क्षमता छ तर फ्याक्ट्री बनाउन अर्बौँ डलर छैन भने पनि उसले बजारमा प्रवेश गर्न सक्छ। उसले टीएसएमसीलाई डिजाइन दिन सक्छ। टीएसएमसीले वेफर उत्पादन गर्छ।

त्यसपछि प्याकेजिङ, परीक्षण र अन्य आपूर्ति शृङ्खलाबाट चिप अन्तिम उत्पादनमा पुग्छ। यसरी चिप उद्योगमा प्रवेश गर्ने लागत घट्यो। नयाँ विचारहरू बजारमा आए। स्मार्टफोन, उच्च क्षमताका कम्प्युटर, गेमिङ उपकरण, विद्युतीय गाडी, डेटा सेन्टर र अहिले एआईसम्म यही औद्योगिक विभाजनको प्रभाव फैलियो।

टीएसएमसी आफैँले पनि आफ्नो फाउन्ड्री मोडलले आईसी डिजाइन कम्पनी र स्टार्टअपको प्रवेश अवरोध घटाएको र चिप डिजाइनमा नयाँ लहर ल्याएको बताउँदै आएको छ।

किन एप्पलले टीएसएमसी रोज्यो?

टीएसएमसीको तटस्थता कति मूल्यवान छ भन्ने उदाहरण एप्पलसँगको सम्बन्ध हो। सामसुङसँग आफ्नै स्मार्टफोन, मेमोरी र अन्य इलेक्ट्रोनिक्स उत्पादन छन्। त्यसैले सामसुङ र एप्पल आफैँ विश्व बजारमा प्रतिद्वन्द्वी हुन्।

यस्तो अवस्थामा एप्पलको अत्यन्त गोप्य चिप डिजाइन उत्पादन गर्ने जिम्मेवारी प्रतिस्पर्धी कम्पनीलाई दिनु रणनीतिक जोखिम बन्न सक्छ। टीएसएमसीको संरचना फरक छ। उसको आफ्नै स्मार्टफोन छैन।

उसको आफ्नै उपभोक्ता चिप ब्रान्ड छैन। उसको उद्देश्य ग्राहकको चिप बेच्नु होइन। ग्राहकको चिप बनाउनु हो। यही कारण एप्पलजस्ता कम्पनीका लागि टीएसएमसी एउटा प्रतिस्पर्धीभन्दा बढी सुरक्षित उत्पादन साझेदार बन्यो।

समयसँगै एप्पल टीएसएमसीको सबैभन्दा महत्वपूर्ण ग्राहकहरूमध्ये एक बन्यो। आईफोनका लागि चाहिने अत्याधुनिक प्रोसेसरमा टीएसएमसीको भूमिका बढ्दै गयो। यसले अर्को महत्वपूर्ण कुरा प्रमाणित गर्‍यो- ग्राहकलाई सस्तो फ्याक्ट्री मात्र चाहिँदैन, उसलाई विश्वास गर्न सकिने र आफ्नो प्रविधि गोप्य राख्न सक्ने साझेदार चाहिन्छ।

टीएसएमसीले त्यही विश्वासलाई व्यापारिक सम्पत्तिमा बदल्यो।

सामसुङ, इन्टेल र प्रतिस्पर्धाको कठिन बाटो

टीएसएमसीको मोडल देखेर अरू कम्पनीले पनि फाउन्ड्री व्यवसायमा प्रवेश गर्ने प्रयास गरे। तर एउटै फ्याक्ट्री बनाएर टीएसएमसीसँग प्रतिस्पर्धा गर्न सकिँदैन। कारण स्पष्ट छ। अत्याधुनिक चिप उत्पादनमा प्रत्येक पुस्तासँग लगानी बढ्छ।

नयाँ उत्पादन प्रविधि विकास गर्न अनुसन्धानमा पैसा चाहिन्छ। नयाँ कारखाना बनाउन अर्बौँ डलर चाहिन्छ। त्यसमा अत्याधुनिक लिथोग्राफी उपकरण, स्वच्छ उत्पादन कक्ष, पानी, ऊर्जा, रसायन, दक्ष जनशक्ति र हजारौँ आपूर्तिकर्ताको संयोजन आवश्यक हुन्छ।

त्यसैले फाउन्ड्री व्यवसायमा आकार आफैँ प्रतिस्पर्धात्मक शक्ति बन्न थाल्छ। जति ठूलो उत्पादन हुन्छ, त्यति धेरै ग्राहक आउँछन्।

जति धेरै ग्राहक आउँछन्, त्यति धेरै आम्दानी हुन्छ। त्यही आम्दानी फेरि नयाँ प्रविधिमा लगानी हुन्छ। नयाँ प्रविधि आएपछि अझ धेरै ग्राहक आउँछन्। टीएसएमसीले चार दशकमा यही चक्रलाई अत्यन्त बलियो बनाएको छ।

नानोमिटरको दौड

सेमिकन्डक्टर उद्योगमा ‘नानोमिटर’ केवल एउटा प्राविधिक शब्द होइन। यो शक्ति र प्रतिस्पर्धाको मापदण्ड हो। चिपमा ट्रान्जिस्टर जति सानो आकारमा राख्न सकिन्छ, त्यति नै बढी गणनात्मक क्षमता र ऊर्जा दक्षता हासिल गर्न सकिन्छ।

त्यसैले ९० नानोमिटरबाट ६५, ४५, २८, १६, ७, ५, ३ र अहिले २ नानोमिटरको दिशामा उद्योग अघि बढेको छ।

टीएसएमसीले आफ्नो अनुसन्धान तथा विकासमा निरन्तर लगानी गर्दै उत्पादन प्रविधिलाई क्रमशः सानो बनाउँदै लगेको छ। कम्पनीका अनुसार उसले १९९० को दशकको ०.१८ माइक्रोन प्रविधिदेखि ९० नानोमिटर, ६५ नानोमिटर, ४० नानोमिटर, २८ नानोमिटर हुँदै ७ नानोमिटर र त्यसपछिका प्रविधिमा नेतृत्व कायम गरेको छ।

आज ७ नानोमिटर र त्यसभन्दा उन्नत प्रविधि टीएसएमसीको कुल वेफर आम्दानीको ठूलो हिस्सा बनेको छ। २०२५ मा यस्तो प्रविधिको हिस्सा ७४ प्रतिशत थियो।

यसको अर्थ टीएसएमसीको शक्ति केवल ठूलो उत्पादन क्षमता होइन। उत्पादनको सबैभन्दा कठिन तहमा नेतृत्व हो।

एआईले फेरि बदलिदियो खेल

टीएसएमसीको अर्को ठूलो मोड एआई हो। एआईका लागि सामान्य कम्प्युटरको भन्दा धेरै शक्तिशाली चिप चाहिन्छ। एआई मोडललाई तालिम दिन हजारौँ चिप एकसाथ सञ्चालन गर्नुपर्छ।

डेटा सेन्टरमा प्रयोग हुने यस्तो हार्डवेयरले ठूलो मात्रामा गणना गर्नुपर्छ। त्यसका लागि अत्याधुनिक उत्पादन प्रविधि आवश्यक हुन्छ।

यही कारण एनभिडियाको एआई चिप माग टीएसएमसीका लागि ठूलो अवसर बनेको छ। एनभिडियाले एआई चिप डिजाइनमा अग्रता लिए पनि त्यसलाई ठूलो मात्रामा उत्पादन गर्न फाउन्ड्री चाहिन्छ। त्यहाँ टीएसएमसी प्रवेश गर्छ।

ब्ल्याकवेल पुस्ताका एनभिडिया चिपको ठूलो उत्पादन टीएसएमसीको अत्याधुनिक प्रक्रियामा भएको छ। २०२५ मा एआई सर्भर जीपीयू र अन्य उच्च क्षमताका चिपको मागले टीएसएमसीको अत्याधुनिक उत्पादन क्षमतामाथि दबाब बढायो।

२०२६ मा पनि यही प्रवृत्ति जारी छ। ट्रेन्डफोर्सका अनुसार २०२६ को दोस्रो त्रैमासिकमा टीएसएमसीको फाउन्ड्री बजार हिस्सा ७२.५ प्रतिशत पुगेको छ। एआई सर्भर जीपीयू र अन्य उच्च क्षमताका प्रोसेसरको मागका कारण ५/४ नानोमिटर र ३ नानोमिटर क्षमतामा उच्च उपयोग कायम छ। २ नानोमिटरले पनि पहिलोपटक आम्दानीमा योगदान गर्न थालेको छ।

यसले देखाउँछ—एआईको दौड एनभिडिया वा एएमडीबीच मात्र छैन। त्यसको पछाडि चिप बनाउने क्षमताको पनि दौड छ। र त्यो दौडमा टीएसएमसी अगाडि छ।

एआईको भोक र अर्बौँ डलरको लगानी

एआईको मागले टीएसएमसीलाई पनि अभूतपूर्व लगानीतर्फ धकेलेको छ। २०२६ को सुरुवातमा कम्पनीले पुँजीगत खर्च ५२ देखि ५६ अर्ब डलरको दायरामा रहने बताएको थियो। पछि एआईको माग अझ बलियो बनेपछि कम्पनीले यो अनुमान बढाएर ६० देखि ६४ अर्ब डलर पुर्‍यायो।

यस्तो लगानी कुनै सामान्य उत्पादन उद्योगको लगानी होइन। एउटा अत्याधुनिक फ्याक्ट्री आफैँमा अर्बौँ डलरको परियोजना हुन्छ। त्यसमाथि प्रविधि परिवर्तन हुँदा उपकरण फेरिन्छन्। उत्पादन लाइन फेरिन्छ।

इन्जिनियरिङ प्रक्रिया परिवर्तन हुन्छ। अनुसन्धानमा निरन्तर पैसा जान्छ। त्यसैले टीएसएमसीको प्रतिस्पर्धा केवल सामसुङ वा इन्टेलसँग छैन। उसले हरेक वर्ष आफैँसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ। आजको सबैभन्दा राम्रो प्रविधि केही वर्षपछि पुरानो हुन सक्छ।

त्यसैले कम्पनीले आज कमाएको ठूलो नाफाको ठूलो हिस्सा भोलिको कारखाना र प्रविधिमा फर्काउनुपर्छ।

२०२५ : रेकर्डमाथि रेकर्ड

टीएसएमसीको पछिल्लो आर्थिक प्रदर्शनले यही लगानी चक्र कति शक्तिशाली बनेको देखाउँछ। २०२५ मा कम्पनीको कुल आम्दानी १२२ अर्ब ४२ करोड अमेरिकी डलर पुगेको थियो।

खुद नाफा ५५ अर्ब २१ करोड डलर। खुद नाफा मार्जिन ४५.१ प्रतिशत। सञ्चालन नाफा मार्जिन ५०.८ प्रतिशत। यो स्तरको नाफा कुनै सामान्य उत्पादन कम्पनीका लागि असाधारण हो। तर टीएसएमसीले उत्पादन गर्ने वस्तु साधारण वस्तु होइन।

उसले विश्वका सबैभन्दा महँगा र जटिल औद्योगिक प्रविधिमध्ये एक उत्पादन गर्छ। त्यसैले टीएसएमसीको आर्थिक शक्ति पनि असाधारण रूपमा बढेको छ।

कम्पनीको २०२५ को आम्दानीमा एआई र उच्च क्षमताको कम्प्युटिङको योगदान बढ्दै गयो। फाउन्ड्री उद्योगमै पनि टीएसएमसीको दूरी प्रतिस्पर्धीभन्दा फराकिलो भएको छ। २०२५ को चौथो त्रैमासिकमा विश्वका शीर्ष फाउन्ड्रीमध्ये टीएसएमसीको बजार हिस्सा ७०.४ प्रतिशत थियो। सामसुङ दोस्रो स्थानमा ७.१ प्रतिशतको आसपास थियो।

अर्थात् पहिलो र दोस्रो कम्पनीबीचको दूरी नै ठूलो छ। यही दूरी टीएसएमसीको वास्तविक शक्ति हो।

ग्राहक नै शक्ति, ग्राहक नै जोखिम

तर टीएसएमसीको सफलता पूर्ण रूपमा जोखिममुक्त भने छैन।

कम्पनीका सयौँ ग्राहक छन्। तर ठूलो ग्राहकबाट आउने आम्दानीको हिस्सा पनि ठूलो छ।

टीएसएमसीको २०२५ को अमेरिकी प्रतिभूति नियामकमा बुझाएको प्रतिवेदनअनुसार उसका १० ठूला ग्राहकले कुल आम्दानीको करिब ७८ प्रतिशत हिस्सा ओगटेका थिए। सबैभन्दा ठूलो ग्राहकले १९ प्रतिशत र दोस्रो ठूलो ग्राहकले १७ प्रतिशत योगदान गरेका थिए।

यसले दुईवटा कुरा देखाउँछ। पहिलो, विश्वका सबैभन्दा शक्तिशाली प्रविधि कम्पनीहरू टीएसएमसीमा निर्भर छन्।

दोस्रो, टीएसएमसी पनि ती ठूला ग्राहकको मागमा निर्भर छ। तर अहिलेको एआई लहरले दोस्रो जोखिमभन्दा पहिलो शक्ति ठूलो बनाइरहेको देखिन्छ। एनभिडिया, एएमडी, एप्पल, गुगल, अमेजन, मेटा लगायतका कम्पनीहरूले आफ्नै विशेष चिप डिजाइनमा ठूलो लगानी गरिरहेका छन्।

डिजाइन जति धेरै हुन्छ, फाउन्ड्रीको आवश्यकता त्यति नै बढ्छ। यसले टीएसएमसीका लागि ग्राहकको संख्या र उत्पादनको विविधता अझ बढाउने सम्भावना सिर्जना गर्छ।

कारखानाको साम्राज्य ताइवानबाहिर

टीएसएमसीको अर्को ठूलो चुनौती भने भूराजनीति हो। विश्वको अत्याधुनिक चिप उत्पादनको ठूलो हिस्सा ताइवानमा केन्द्रित छ। तर ताइवान चीनसँगको तनावको केन्द्रमा छ।

चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ भने ताइवानले आफ्नै शासन प्रणाली सञ्चालन गर्दै आएको छ। अमेरिका–चीन प्रविधि प्रतिस्पर्धा बढ्दै जाँदा सेमिकन्डक्टर आपूर्ति विश्व शक्तिको रणनीतिक विषय बनेको छ।

यदि ताइवानमा युद्ध, नाकाबन्दी वा ठूलो प्राकृतिक विपत्ति भयो भने अत्याधुनिक चिपको विश्वव्यापी आपूर्ति प्रभावित हुन सक्छ। त्यसैले टीएसएमसीलाई पनि आफ्नो उत्पादन भौगोलिक रूपमा फैलाउन दबाब बढेको छ।

अमेरिका त्यसको सबैभन्दा ठूलो उदाहरण हो। २०२० मा टीएसएमसीले एरिजोनामा पहिलो अत्याधुनिक अमेरिकी कारखानाको घोषणा गरेको थियो। पछि लगानीको योजना ठूलो हुँदै गयो।

 २०२५ मा कम्पनीले अमेरिकामा कुल लगानी १६५ अर्ब डलरसम्म पुर्‍याउने योजना अघि बढायो, जसमा छवटा सेमिकन्डक्टर फ्याब, दुईवटा उन्नत प्याकेजिङ कारखाना र अनुसन्धान तथा विकास केन्द्र समावेश छन्।

२०२६ मा कम्पनीले एरिजोना विस्तारलाई थप अगाडि बढाउँदै नयाँ फ्याबहरू थप्ने योजना सार्वजनिक गर्‍यो। जापानमा पनि उत्पादन विस्तार भइरहेको छ।

जर्मनीको ड्रेस्डेनमा टीएसएमसीको युरोपेली परियोजना अगाडि बढेको छ। कम्पनीको विश्वव्यापी संरचना अब ताइवानमा मात्र सीमित छैन।

अमेरिकामा फ्याक्ट्री किन महँगो?

तर ताइवानमा सफल भएको मोडल संसारका अन्य ठाउँमा हुबहु लागू गर्न सजिलो छैन। अमेरिकामा कारखाना निर्माणको लागत बढी छ।

श्रम लागत बढी छ। दक्ष जनशक्ति उपलब्धताको संरचना फरक छ। आपूर्तिकर्ताको पारिस्थितिक प्रणाली ताइवानजस्तो घना छैन।

त्यसैले अमेरिकामा उत्पादन गर्दा चिपको लागत बढ्ने दबाब हुन्छ। तर ग्राहकहरू त्यसका लागि तयार छन्। कारण लागतभन्दा आपूर्ति सुरक्षा महत्वपूर्ण हुँदै गएको छ। एआई र सेमिकन्डक्टर अब केवल व्यापारिक उत्पादन होइनन्।

यी राष्ट्रिय सुरक्षा, सैन्य क्षमता, आर्थिक प्रतिस्पर्धा र डिजिटल सार्वभौमिकतासँग जोडिएका विषय बनेका छन्। त्यसैले अमेरिकी सरकार पनि घरेलु सेमिकन्डक्टर उत्पादन विस्तार गर्न चाहन्छ।

टीएसएमसीका लागि पनि अमेरिकामा लगानी गर्नु केवल व्यवसायिक निर्णय होइन। यो भूराजनीतिक बीमा हो।

तर ताइवान छोड्न सजिलो छैन

टीएसएमसीले संसारभर कारखाना बनाए पनि यसको मूल शक्ति अझै ताइवानमै छ। कारण त्यहाँ दशकौँदेखि विकसित भएको औद्योगिक पारिस्थितिक प्रणाली हो।

दक्ष इन्जिनियर। उपकरण आपूर्तिकर्ता। रसायन कम्पनी। वेफर आपूर्ति। प्याकेजिङ। परीक्षण। विश्वविद्यालय। अनुसन्धान केन्द्र।

यी सबै एउटै भौगोलिक क्षेत्रमा लामो समयदेखि विकास भएका छन्। त्यसैले अर्को देशमा एउटा कारखाना बनाउँदैमा ताइवानको सम्पूर्ण उत्पादन प्रणाली पुनर्निर्माण गर्न सकिँदैन। यही कारण टीएसएमसीको विदेशी विस्तारले ताइवानको महत्व घटाउनुको सट्टा उसको औद्योगिक संरचना कति बलियो छ भन्ने पनि देखाउँछ।

ट्रेन्डफोर्सले पनि भूराजनीतिक कारणले विश्वव्यापी उत्पादन विस्तार भए पनि अत्याधुनिक उत्पादन क्षमतामा ताइवानको भूमिका आगामी वर्षहरूमा ठूलो रहने प्रक्षेपण गरेको छ।

टीएसएमसीको सबैभन्दा ठूलो हतियार प्रविधि होइन

टीएसएमसीलाई केवल अत्याधुनिक मेसिनको कम्पनी ठान्नु गल्ती हुनेछ।

उसको सबैभन्दा ठूलो शक्ति हो-विश्वास।

एप्पललाई थाहा छ टीएसएमसीले उसको चिप डिजाइन लिएर आफ्नै स्मार्टफोन बनाउँदैन। एनभिडियालाई थाहा छ टीएसएमसीले उसको जीपीयूको डिजाइन लिएर आफ्नै एआई चिप बजारमा ल्याउँदैन। एएमडीलाई पनि यही विश्वास छ।

क्वाल्कमलाई पनि। यही कारण प्रतिस्पर्धीहरू एकै कारखानाको ग्राहक बन्न सक्छन्। व्यवसायमा यस्तो अवस्था दुर्लभ हुन्छ। कोका–कोला र पेप्सी एउटै कारखानाबाट आफ्नो ब्रान्डको पेय उत्पादन गराउँछन् भन्ने कल्पना गर्न सकिँदैन।

तर सेमिकन्डक्टर उद्योगमा टीएसएमसीले त्यस्तै किसिमको तटस्थ उत्पादन प्लेटफर्म निर्माण गरेको छ। त्यसैले टीएसएमसीको तटस्थता उसको ब्रान्डभन्दा पनि ठूलो सम्पत्ति बनेको छ।

अर्को शक्ति : अनुभवको पहाड

टीएसएमसीलाई चुनौती दिन नयाँ कारखाना बनाउन सकिन्छ।

अर्बौँ डलर लगानी गर्न सकिन्छ। अत्याधुनिक मेसिन किन्न सकिन्छ। तर चार दशकको उत्पादन अनुभव किन्न सकिँदैन। अत्याधुनिक चिप उत्पादनमा सानो गल्तीले ठूलो घाटा हुन सक्छ। वेफर उत्पादनमा केही प्रतिशत उत्पादन क्षमताको फरकले अर्बौँ डलरको आर्थिक असर पार्न सक्छ।

त्यसैले उत्पादन दक्षता, उत्पादनको गुणस्तर र ‘यिल्ड’ अर्थात् एउटा वेफरबाट सफल चिप निकाल्ने क्षमता अत्यन्त महत्वपूर्ण हुन्छ। टीएसएमसीले दशकौँसम्म यही ज्ञान जम्मा गरेको छ।

प्रत्येक नयाँ पुस्ताको उत्पादनमा पुरानो अनुभव जोडिन्छ। यसले एउटा अदृश्य प्रतिस्पर्धात्मक पर्खाल निर्माण गर्छ।

प्रतिस्पर्धीले पैसा खर्च गरेर कारखाना बनाउन सक्छ। तर टीएसएमसीले चार दशकमा जम्मा गरेको उत्पादन ज्ञान तत्कालै दोहोर्‍याउन सकिँदैन।

एएसएमएलदेखि टीएसएमसीसम्म

अत्याधुनिक चिप उद्योगलाई एउटा कम्पनीको कथा मात्र भनेर बुझ्न पनि मिल्दैन। यो विश्वव्यापी औद्योगिक शृङ्खला हो। नेदरल्यान्ड्सको एएसएमएलले अत्याधुनिक लिथोग्राफी उपकरण बनाउँछ। टीएसएमसीले त्यस्ता उपकरण प्रयोग गरेर चिप बनाउँछ।

एनभिडिया वा एप्पलले चिपको डिजाइन गर्छ। त्यसपछि प्याकेजिङ र परीक्षण हुन्छ।

त्यसपछि त्यो चिप सर्भर, स्मार्टफोन, कम्प्युटर वा अन्य उपकरणमा पुग्छ। यसरी एउटा अत्याधुनिक चिप वास्तवमा दर्जनौँ देश र सयौँ कम्पनीको संयुक्त परिणाम हो।

तर ती सबैको बीचमा टीएसएमसीको स्थान असाधारण रूपमा महत्वपूर्ण छ। एएसएमएलको नयाँ पुस्ताको उपकरणको माग अहिले एआईका कारण झन् तीव्र भएको छ। २०२६ मा एएसएमएलका अत्याधुनिक ईयूभी उपकरणहरू आगामी वर्षसम्मको मागले भरिएको रिपोर्ट आएको छ।

यसले सेमिकन्डक्टर उद्योगमा लगानीको चक्र कति तीव्र भएको छ भन्ने देखाउँछ।

टीएसएमसी ढल्यो भने के हुन्छ?

यही प्रश्नले विश्वका सरकार र कम्पनीलाई चिन्तित बनाएको छ।

यदि टीएसएमसीको उत्पादनमा ठूलो अवरोध आयो भने एप्पलको नयाँ उपकरणदेखि एनभिडियाको एआई सर्भरसम्म असर पर्न सक्छ।

डेटा सेन्टर विस्तार सुस्त हुन सक्छ। स्मार्टफोन उत्पादनमा समस्या आउन सक्छ। अटोमोबाइल उद्योग प्रभावित हुन सक्छ। विद्युतीय गाडीको उत्पादन प्रभावित हुन सक्छ।

औद्योगिक उपकरण र सञ्चार प्रणालीसम्म असर पर्न सक्छ।

किनकि अत्याधुनिक चिपको उत्पादन क्षमता तुरुन्तै अर्को कम्पनीमा सार्न सकिँदैन। यही कारण अमेरिकादेखि जापान र युरोपसम्मका सरकार टीएसएमसीको उत्पादनलाई आफ्नै भूभागमा ल्याउन चाहन्छन्।

तर यसले अर्को प्रश्न पनि जन्माएको छ। यदि टीएसएमसीका फ्याक्ट्री संसारभर फैलिन्छन् भने के उसको ताइवानमाथिको निर्भरता घट्छ? उत्तर पूर्ण रूपमा सकारात्मक छैन।

कारण अत्याधुनिक प्रविधिको ठूलो हिस्सा अझै ताइवानमै केन्द्रित छ। त्यसैले विश्वले टीएसएमसीको निर्भरता घटाउन खोज्दै गर्दा उल्टै टीएसएमसीलाई विश्वका विभिन्न भागमा अझ महत्वपूर्ण बनाइरहेको छ।

साम्राज्यको केन्द्रमा ‘नदेखिने’ कम्पनी

टीएसएमसीको सबैभन्दा रोचक पक्ष यही हो। एप्पलको लोगो संसारभर देखिन्छ। एनभिडियाको लोगो अहिले एआईको प्रतीक बनेको छ। सामसुङको नाम प्रत्येक घरमा पुग्छ। तर टीएसएमसीको नाम अन्तिम उपभोक्ताले त्यति सुन्दैन।

उसले टेलिभिजन विज्ञापनमा आफ्नो उत्पादन बेच्दैन। स्मार्टफोन पसलमा उसको ब्रान्डको फोन हुँदैन।

कम्प्युटरको बक्समा टीएसएमसीको नाम मुख्य रूपमा लेखिएको हुँदैन। तर त्यसैका कारण उसको शक्ति अझ गहिरो छ। उसले उपभोक्ताको ध्यान खोजेको छैन।

उसले उत्पादनको पछाडिको उत्पादन क्षमता नियन्त्रण गरेको छ। यही ‘अदृश्य शक्ति’ उसको व्यवसायिक मोडलको सबैभन्दा ठूलो सफलता हो।

मोरिस च्याङको निर्णयको दीर्घकालीन मूल्य

जब च्याङले १९८७ मा टीएसएमसी सुरु गरे, उनले भविष्यमा एआईको युग आउने कुरा थाहा पाएका थिएनन्। उनीलाई एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बन्ने कुरा थाहा थिएन।

स्मार्टफोनले संसार बदल्ने कुरा पनि स्पष्ट थिएन।

डेटा सेन्टरको माग यति ठूलो हुने अनुमान थिएन। तर उनले एउटा आधारभूत समस्या बुझेका थिए। प्रविधिको विकासलाई फ्याक्ट्रीको स्वामित्वले रोक्नु हुँदैन। उनले उत्पादन र डिजाइनलाई अलग गरे। त्यही विभाजनले सेमिकन्डक्टर उद्योगमा नयाँ आर्थिक मोडल जन्मायो।

आज चार दशकपछि त्यसको परिणाम संसारभर देखिन्छ। एउटा कम्पनी डिजाइन गर्छ। अर्को कम्पनी उत्पादन गर्छ।

अर्को कम्पनी उपकरण बनाउँछ। अर्को कम्पनी प्याकेजिङ गर्छ। अर्को कम्पनी सफ्टवेयर बनाउँछ। र अन्ततः सबै मिलेर एउटा स्मार्टफोन वा एआई सर्भर तयार हुन्छ। यस औद्योगिक संरचनाको केन्द्रमा टीएसएमसी उभिएको छ।

अबको प्रश्न : टीएसएमसीलाई कसले रोक्छ?

प्रतिस्पर्धा समाप्त भएको छैन। सामसुङ आफ्नो फाउन्ड्री व्यवसायमा लगानी गरिरहेको छ।

इन्टेलले पनि बाह्य ग्राहकका लागि फाउन्ड्री व्यवसाय पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। चीनको एसएमआईसी आफ्नो घरेलु सेमिकन्डक्टर उद्योग विस्तार गर्दैछ।

अमेरिका आफ्नै उत्पादन क्षमता बढाइरहेको छ। युरोप, जापान र अन्य देश पनि आपूर्ति शृङ्खला स्थानीयकरण गर्न खोजिरहेका छन्। तर टीएसएमसीको चुनौती केवल प्रतिस्पर्धीको संख्या होइन। प्रविधिको गति हो।

यदि कुनै नयाँ कम्पनीले अझ राम्रो उत्पादन प्रविधि विकास गर्‍यो भने अहिलेको नेतृत्व बदलिन सक्छ।  सेमिकन्डक्टर इतिहासमा यस्तो भएको पनि छ।

कुनै समय इन्टेल उद्योगको निर्विवाद नेता थियो। आज उसको फाउन्ड्री रणनीति आफैँ पुनर्निर्माणको चरणमा छ। त्यसैले टीएसएमसी पनि अजेय छैन। तर उसले एउटा ठूलो सुरक्षा पर्खाल भने बनाइसकेको छ। ग्राहकको विश्वास।  प्रविधि। उत्पादन क्षमता। पूँजी। इन्जिनियरिङ ज्ञान। आपूर्तिकर्ताको सञ्जाल। र विश्वव्यापी विस्तार।

यी सबै एकैपटक निर्माण गर्न प्रतिस्पर्धीलाई दशकौँ लाग्न सक्छ।

डिजिटल सभ्यताको अदृश्य मेरुदण्ड

टीएसएमसीको कथा अन्ततः एउटा फ्याक्ट्रीको कथा होइन। यो व्यवसायिक सोच परिवर्तनको कथा हो। मोरिस च्याङले उद्योगमा रहेको एउटा कमजोरी देखे। उनले त्यसलाई अवसरमा बदले। अरू कम्पनीले आफ्नै कारखाना बनाउन अर्बौँ डलर खर्च गर्दा उनले अरूको कारखाना बन्ने निर्णय गरे।

अरू कम्पनीहरू आफ्नै ब्रान्ड बनाउन दौडिँदा उनले ब्रान्डविहीन उत्पादनलाई आफ्नो शक्ति बनाए। अरू कम्पनीहरू ग्राहकसँग प्रतिस्पर्धा गर्न थालेका बेला उनले ग्राहकसँग प्रतिस्पर्धा नगर्ने नीति लिए।

त्यही निर्णयले आज उनलाई विश्वको सबैभन्दा महत्वपूर्ण औद्योगिक व्यवसायिक मोडलमध्ये एउटा निर्माण गर्ने व्यक्तिका रूपमा स्थापित गरेको छ। २०२५ मा १२२ अर्ब डलरभन्दा बढी आम्दानी र ५५ अर्ब डलरभन्दा बढी खुद नाफा कमाएको टीएसएमसी अहिले केवल ताइवानको सफल कम्पनी रहेन।

यो एआईको युगमा विश्वव्यापी उत्पादन क्षमताको केन्द्र बनेको छ। एनभिडियाले एआई चिप डिजाइन गर्न सक्छ। एप्पलले आफ्नै प्रोसेसर डिजाइन गर्न सक्छ। एएमडीले प्रतिस्पर्धी जीपीयू बनाउन सक्छ। क्वाल्कमले मोबाइल चिप बनाउन सक्छ।

तर ती डिजाइनलाई ठूलो मात्रामा वास्तविक सिलिकनमा बदल्ने क्षमता बिना ती सबै विचार अधुरा हुन्छन्। त्यही ठाउँमा टीएसएमसी उभिन्छ। चार दशकअघि धेरैलाई असम्भव लागेको एउटा व्यापारिक विचार आज विश्वकै सबैभन्दा शक्तिशाली औद्योगिक संरचनामध्ये एक बनेको छ।

यसको सबैभन्दा ठूलो विडम्बना यही हो—टीएसएमसी आफैँ उपभोक्ताको हातमा देखिँदैन, तर संसारका करोडौँ मानिसले दिनहुँ प्रयोग गर्ने प्रविधिको मुटुभित्र उसको उत्पादन धड्किरहेको हुन्छ। स्मार्टफोनको स्क्रिनमा देखिने संसारदेखि एआईले सञ्चालन गर्ने डेटा सेन्टरसम्म, डिजिटल सभ्यताको चम्किलो सतहमुनि एउटा विशाल उत्पादन साम्राज्य छ।

त्यो साम्राज्यको नाम टीएसएमसी हो। र अहिलेको अवस्थामा विश्वले टीएसएमसीलाई प्रतिस्थापन गर्ने प्रयास गरिरहेको भए पनि त्यसबाट पूर्ण रूपमा अलग हुने अवस्थामा पुगेको छैन।

बरु एआईको बढ्दो मागले यसको महत्व झन् बढाइरहेको छ। २०२६ मा विश्वव्यापी फाउन्ड्री उद्योगको आम्दानी करिब २४.८ प्रतिशतले बढ्ने र टीएसएमसीको वृद्धि उद्योगभन्दा अझ तीव्र हुने प्रक्षेपण गरिएको छ।

यसको अर्थ आगामी दशकमा एआईको विजेता जोसुकै होस्, चिप डिजाइनमा नेतृत्व गर्ने कम्पनी जुनसुकै होस्, डिजिटल अर्थतन्त्रको अर्को ठूलो लहरमा एउटा नाम फेरि पनि केन्द्रमा रहने सम्भावना बलियो छ।

टीएसएमसी।

किनकि उसले संसारको सबैभन्दा महत्वपूर्ण उत्पादन आफ्नै नाममा बेचेर होइन, अरूलाई सफल हुन आवश्यक उत्पादन क्षमता उपलब्ध गराएर साम्राज्य निर्माण गरेको छ। त्यही नै मोरिस च्याङको सबैभन्दा ठूलो व्यावसायिक आविष्कार हो।

र त्यही आविष्कारले आज टीएसएमसीलाई आधुनिक डिजिटल अर्थतन्त्रको सबैभन्दा अनिवार्य, तर सबैभन्दा कम देखिने, शक्ति बनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action