काठमाडौं। बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुल्ने क्रम बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। विभागले ठूला डिपार्टमेन्ट स्टोरहरूमा चिनीको मूल्य प्रतिकेजी ११० रूपैयाँ तोकेको छ।
विभागका महानिर्देशक मोतीराम सापकोटाका अनुसार भाटभटेनी, सेल्सबेरी र बिगमार्टलगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रतिकेजी ११० रूपैयाँमा नै चिनी बिक्री गर्नुपर्नेछ। पछिल्लो समय बजारमा चिनीको मूल्य १५० देखि १६० रूपैयाँसम्म पुर्याएर कालोबजारी भइरहेको गुनासो बढेपछि विभागले यस्तो कदम चालेको हो।
विभागले साल्ट ट्रेडिङ कर्पोरेसनसँगको समन्वयमा चिनीको आपूर्ति सहज बनाउने र वितरण प्रणालीलाई व्यवस्थित गर्ने जनाएको छ। बजारमा अनुचित नाफाखोरी गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने जो-कोहीलाई उपभोक्ता संरक्षण ऐनअनुसार कडा कारबाही गरिने महानिर्देशक सापकोटाले जानकारी दिए। विभागले आगामी दिनमा अनुगमनलाई थप प्रभावकारी बनाउँदै तोकिएको मूल्य कार्यान्वयन गराउने जनाएको छ।
