काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा वृद्धि भए पनि निगमले साविककै मूल्य कायम राखेको हो। भदौ ३० गते आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रति लिटर ४ रुपैयाँ ६८ पैसा मूल्य बढेर आएको थियो।
भोटेकोशी नदीमा आएको बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगमको सञ्चालक समितिले भदौ ३१ गते देखि लागू हुने गरी साविकको मूल्य नै कायम राख्ने निर्णय गरेको हो। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ।
यस निर्णयसँगै पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका क्षेत्रमा प्रति लिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहनेछ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।
त्यस्तै, १४.२ किलोग्रामको एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर २ हजार ६० रुपैयाँमा यथावत् राखिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर २४९ रुपैयाँ र काठमाडौंको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर १ हजार ६९७ अमेरिकी डलर कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहँदा खुद्रा बिक्री मूल्य नबढाउँदा निगमलाई पाक्षिक रूपमा १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने देखिएको छ।
