काठमाडौं। बाढीका कारण क्षतिग्रस्त गल्छी-देवीघाट-त्रिशूली सडकखण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ। रसुवागढीसम्मको आवागमन सुचारु गर्न विभिन्न स्थानमा बेलीब्रिज जडानको काम तीव्र पारिएको छ। नेपाल सरकारसँग पर्याप्त लम्बाइका बेलीब्रिज मौज्दात नभएपछि चीन, भारत, अमेरिका र युएईबाट सहयोग लिने तयारी गरिएको छ।
भदौ १० गते आएको बाढीले ६९ किलोमिटर सडक र ३७ वटा मोटरेबल पुलमा क्षति पुर्याएको छ। सडक विभागका अनुसार देवीघाटमा ६० मिटर लम्बाइको बेलीब्रिज जडान भइसकेको छ। अब बेत्रावतीमा ७६ मिटर लम्बाइको बेलीब्रिज जडान गर्ने प्रक्रिया सुरु भएको छ। विभागका इन्जिनियर सौजन्य नेपालका अनुसार बेत्रावतीमा बाटो खुलाइएको ८ देखि १० दिनभित्र नेपाली सेनाले बेलीब्रिज जडान गर्नेछ। त्रिशूली बजारमा भने खोलाको चौडाइ बढेकाले प्राविधिक अध्ययन भइरहेको छ।
सडक विभागसँग हाल ५० मिटरका १० वटा बेलीब्रिज मौज्दात रहे पनि क्षतिग्रस्त स्थानमा ७० मिटरभन्दा लामा पुल आवश्यक परेको छ। पुल महाशाखा प्रमुख ललिजन खनालका अनुसार भारतबाट ७० मिटरको एउटा बेलीब्रिज हेटौंडा आइपुगेको छ र अर्को ढुवानीको क्रममा छ। चीनबाट थप बेलीब्रिज आउने क्रममा रहेको छ भने अमेरिकाले हवाईजहाजबाटै बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ।
बाढीले ३३ वटा मोटरेबल पुल पूर्ण रूपमा बगाएको छ भने ६८ मध्ये ५३ वटा झोलुङ्गे पुल नष्ट भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदनअनुसार क्षतिग्रस्त सडक र पुलको स्थायी पुनर्निर्माणका लागि ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ। हाल विभागले अस्थायी मर्मत र द्रुत पुनर्स्थापनामा जोड दिएको छ।
