काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोछेले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिने मन्त्रालयले जनाएको छ।
रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारको पनि उपस्थिति थियो। सोही अवसरमा गुरु रिम्पोछेले आफ्नो पुस्तक ‘जोए अफ लाइफ’ पनि शिक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरेका थिए।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा बाढीले पुर्याएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको गुरु रिम्पोछेले बताएका छन्।
