काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ रुपैयाँ पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न नौ वटा बैंकमा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ रुपैयाँ नेपाली मुद्रा मौज्दात रहेको छ।
त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
कोषमा रहेको रकममध्येबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा भइसकेको छ।
सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्चका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ।
उक्त निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएका परिवारका लागि थप प्रत्येक सदस्य बराबर दुई हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइने छ।
