काठमाडौं। हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।
सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको संस्थाले व्यवस्थापन सुदृढीकरण र सेवा विस्तारका लागि उनलाई जिम्मेवारी सुम्पिएको जनाएको छ।
डा. आचार्यले आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्ने र प्राज्ञिक कार्यक्रमहरूलाई व्यवस्थित गर्ने भूमिका निर्वाह गर्नेछन्।
सन् २००३ मा स्थापना भएको यस संस्थाले डेन्टल इम्प्लान्ट, थ्रीडी सीबीसीटी एक्सरे, लेजर डेन्टिस्ट्री र आधुनिक शल्यक्रिया सेवा दिँदै आएको छ। साथै, संस्थाले इन्स्टिच्युट अफ डेन्टल साइन्समार्फत विभिन्न प्राविधिक तथा व्यावसायिक शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।
कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको छ। नयाँ नेतृत्वको आगमनसँगै अस्पतालले सेवा विस्तार र आईपीओ प्रक्रियालाई थप तीव्रता दिने योजना बनाएको छ।
