काठमाडौं: ताप्लेजुङका किसानहरू यतिबेला अलैँची थन्क्याउने काममा व्यस्त छन्। जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची भित्र्याउने मुख्य मौसम सुरु भएसँगै किसानहरू अलैँची टिप्ने, छोडाउने र सुकाउने काममा खटिएका हुन्। असोज र कात्तिक महिना अलैँची थन्क्याउने उपयुक्त समय मानिन्छ।
फुङ्लिङ नगरपालिका-४ का स्थानीय सुरज ओझाका अनुसार अलैँची टिप्न ढिलो गरेमा वन्यजन्तुले नोक्सानी पुर्याउने डर हुन्छ। ओझाले भन्नुभयो, ‘अलैँची टिप्न र थन्क्याउनलाई ढिलो गरेमा चरा, मुसा र कालाजस्ता जङ्गली जनावरले खाएर नोक्सानी गर्ने भएकाले किसानहरू अलैँची बगानमा व्यस्त रहेका हुन्।’ उहाँले वर्षा र झरीको चुनौतीका बाबजुद पनि किसानहरू बाली भित्र्याउन व्यस्त रहेको बताउनुभयो।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लाका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोला बाहेकका सबै क्षेत्रमा अलैँची खेती गरिन्छ। जिल्लाभर चार हजार ५७८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। यसबाट वार्षिक करिब दुई हजार ३०० मेट्रिक टन अलैँची उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। हाल ताप्लेजुङमा अलैँची प्रतिमन (४० किलोग्राम) ८० हजार रुपियाँका दरले कारोबार भइरहेको छ।
