काठमाडौं: सामान्यतया रोपेको तीनदेखि चार वर्षमा उत्पादन दिने कफी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८, किमडाँडाका कृषक पुष्करनाथ बन्जाडेको बारीमा भने दुई वर्षमै फल्न थालेको छ। बन्जाडेले दुई वर्षअघि रोपेका करिब तीन सय कफीका बिरुवामा अहिले फल लागेको छ।
कफी खेतीमा खाडलको उचित तयारी, जैविक मलको प्रयोग, छहारी र नियमित स्याहारमा विशेष ध्यान दिँदा अपेक्षाभन्दा छिटो उत्पादन लिन सफल भएको बन्जाडेको अनुभव छ। उनले भने, “खाडल राम्रोसँग तयार गरेर गँड्यौला मल प्रयोग गरेँ। बिरुवा रोपेपछि छहारी र स्याहारमा पनि ध्यान दिएँ। त्यसैले दोस्रो वर्षमै फल लाग्यो।”
बन्जाडेले कफीको बिरुवालाई आवश्यक छहारी प्रदान गर्न लिचीका बोटमुनि कफी लगाएको छ। यसले एउटै जमिनबाट बहुबाली खेतीमार्फत आम्दानी लिन सकिने अवस्था सिर्जना गरेको छ। समथर भागमा कफी र बारीको डिलमा लिची लगाइएको छ। यसरी बहुबाली खेती गर्दा दीर्घकालीन आम्दानीको आधार तयार हुने उहाँको भनाइ छ। साथै, नेपालमा उत्पादित कफीको माग स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा बढिरहेको उनले बताए।
