काठमाडौं। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन्।
इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले शर्मालाई आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो। उनले सोमबारबाट आफ्नो कार्यभार सम्हालेका छन्।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव सँगालेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण र रिटेल बैंकिङमा विज्ञ मानिन्छन्। उनले डिजिटल नवप्रवर्तन र रणनीतिक वृद्धिमा काम गरिसकेका छन्। सञ्चालक समितिले शर्माको अनुभवले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
यसैबीच, निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। वि.सं. २०७९ असोज १२ मा नियुक्त भएका खड्काको नेतृत्वमा कम्पनीले सेवा र पहुँचको दायरा उल्लेख्य रूपमा विस्तार गरेको थियो। उनको कार्यकालमा इसेवाका प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख र मर्चेन्टको सङ्ख्या ६ लाख नाघेको छ।
खड्काको कार्यकालमा डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, इसेवा सर्कल र विभिन्न बिजनेस एपजस्ता सेवाहरू थपिएका थिए। साथै, दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ फिचर र नेपाली भाषामा एप सञ्चालन गरी वित्तीय समावेशीकरणमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कम्पनीले खड्काको नेतृत्वले इसेवाको आगामी यात्राका लागि बलियो आधार तयार गरेको जनाएको छ।
