काठमाडौं: नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप व्यवस्थित र संस्थागत बनाउने उद्देश्यका साथ ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ। बोर्डका अनुसार यस नीतिले दलाल व्यवसायीहरूलाई पुँजी, सेवा विविधीकरण र जोखिम वहन क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरेको छ।
नयाँ व्यवस्थाअनुसार श्रेणी ‘क’ मा धितोपत्र व्यापारी, ‘ख’ मा पूर्ण सेवा धितोपत्र दलाल, ‘ग’ मा कारोबारमुखी धितोपत्र दलाल र ‘घ’ मा विशिष्टीकृत धितोपत्र दलाल रहनेछन्। नीतिले मार्जिन कारोबार, धितोपत्र सापटी, अन्तरदिवसीय कारोबार र बजार निर्माणका लागि छुट्टाछुट्टै स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ। यसका साथै ग्राहक गुनासो व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष र कारोबारको विवरण उपलब्ध गराउने व्यवस्थालाई अनिवार्य गरिएको छ।
बोर्डले प्रविधिमा आधारित सुरक्षालाई विशेष प्राथमिकता दिएको छ। जसमा डिजिटल ग्राहक पहिचान, मल्टिफ्याक्टर प्रमाणीकरण, जोखिम व्यवस्थापन प्रणाली र साइबर सुरक्षासम्बन्धी मापदण्डहरू रहेका छन्। साथै, नियमित सूचना प्रविधि परीक्षणलाई पनि अनिवार्य गरिएको छ। हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरूलाई नयाँ मापदण्डमा समायोजन हुनका लागि बोर्डले संक्रमणकालीन अवधि प्रदान गर्ने जनाएको छ।
