काठमाडौं: गत असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण देशभरको धानबालीमा ठूलो क्षति पुगेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार २२९.३३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित हुँदा चार सय ३८ मेट्रिक टन उत्पादनमा ह्रास आएको छ।
मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी डा. मणिरत्न अर्यालका अनुसार धानबालीमा भएको यस क्षतिबाट दुई करोड एक लाख ७३ हजार रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार कुल कृषि क्षतिमध्ये धानबालीमा मात्र ५७.१७ प्रतिशत नोक्सानी देखिएको छ।
सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशको बाँके र दाङ जिल्लामा भएको छ। यी जिल्लाका २०५.०७ हेक्टर क्षेत्रफलमा क्षति पुग्दा ३५९.८० मेट्रिक टन धान उत्पादन घटेको छ, जसबाट एक करोड ५४ लाख ५८ हजार ६८० रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। त्यसैगरी, गण्डकी प्रदेशका गोरखा, तनहुँ, बागलुङ र स्याङ्जामा १६.७८ हेक्टरमा क्षति हुँदा ४३ लाख ९४ हजार रुपियाँ बराबरको नोक्सानी भएको छ। कोशी प्रदेशमा २.१४ हेक्टर क्षेत्रफलमा तीन लाख २० हजार रुपियाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ।
वर्षाका कारण धानबाली बाहेक अन्य बालीमा पनि क्षति पुगेको छ। मन्त्रालयको विवरण अनुसार मकैमा १९.६० प्रतिशत, तरकारीमा १०.४० प्रतिशत, फलफूलमा ७.८५ प्रतिशत, अलैँचीमा ४.५९ प्रतिशत, कोदोमा ०.२६ प्रतिशत र फूलमा ०.१३ प्रतिशत क्षति भएको छ।
