काठमाडौं: भारतीय स्टेट बैंक अफ इन्डिया (एसबीआई) का ३ हजार ८९७ जना ग्राहकको निजी विवरण डार्क वेबमा फेला परेको छ। डार्क वेबमा उपलब्ध करिब ३ लाख ७५ हजार अभिलेखको प्रारम्भिक जाँचका क्रममा बैंकका ग्राहकको विवरण सार्वजनिक भएको पाइएको हो।
बैंकका अनुसार चुहिएको विवरणमा ग्राहकको नाम, मोबाइल नम्बर, जन्ममिति, लिंग, इमेल ठेगाना, घरको ठेगाना, बैंक शाखा र सीआईएफ नम्बर रहेका छन्। यसबाहेक ऋणसँग सम्बन्धित लिड आईडी र अन्य फाइलसमेत सार्वजनिक भएको बताइएको छ। घटनाको अनुसन्धानका लागि बैंकले एक स्वतन्त्र साइबर सुरक्षा निकायलाई जिम्मेवारी दिएको छ। सो निकायले विवरण चुहावटको प्रकृति र दायराबारे विस्तृत अध्ययन गर्नेछ।
बैंकले बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जलाई पठाएको पत्रमा घटनाले बैंकको मुख्य कामकाज, वित्तीय कार्यसम्पादन वा कारोबार जारी राख्ने क्षमतामा कुनै ठूलो असर नपारेको जनाएको छ। बैंकले आफ्ना मुख्य काम सामान्य रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै भविष्यमा यस्ता घटना रोक्न उचित कदम चालिँदै गरेको जनाएको छ। बैंकले घटनाको निरन्तर निगरानी गरिरहेको र नियमअनुसार आवश्यक सबै प्रक्रिया अघि बढाएको छ।

