काठमाडौं: टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अवधिमा नेपालमा आफ्ना कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ। अप्रिलदेखि जुनसम्मको तथ्याङ्क सार्वजनिक गर्दै कम्पनीले सो जानकारी दिएको हो।
टिकटकको रिपोर्टअनुसार हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै कम्पनीको प्रणालीले पहिचान गरी हटाइएका थिए। साथै, ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्रै हटाइएको कम्पनीले जनाएको छ। थप समीक्षा प्रक्रियापछि ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएको छ।
विश्वव्यापी रूपमा भने टिकटकले यसै अवधिमा १८ करोड ८२ लाखभन्दा बढी भिडियो हटाएको छ। यसका साथै कम्पनीले १४ करोड ६८ लाखभन्दा बढी नक्कली एकाउन्ट र २ करोड ६८ लाखभन्दा बढी कम उमेरका प्रयोगकर्ता हुन सक्ने आशङ्कामा त्यति नै सङ्ख्यामा एकाउन्टहरू हटाएको जनाएको छ।
