काठमाडौं: बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले नेपालको पर्यटन क्षेत्र फेरि एकपटक प्रभावित भएको छ। पर्यटकीय सिजनको सुरुवातमै प्राकृतिक विपद्को मार खेप्दै आएको पर्यटन क्षेत्र तङ्ग्रिने प्रयासमा रहेकै बेला चक्रवातको त्रास थपिएको हो।
चक्रवातको जोखिम बढेसँगै पदयात्रामा रहेका पर्यटकहरू धमाधम फर्किन थालेका छन्। गन्तव्यमा नपुग्दै पर्यटक फर्किने क्रम बढेको व्यवसायीहरूले बताएका छन्। सरकार र सम्बन्धित निकायले उच्च हिमाली क्षेत्रमा नजान पर्यटकहरूलाई आग्रह गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले तीन हजार मिटरभन्दा माथि नजान पर्यटकलाई निर्देशन जारी गरेको छ भने पर्यटन बोर्डले पनि सतर्कता अपनाउन भनेको छ। यो सिजनमा पर्यटन क्षेत्रले पटक-पटक विपद्को सामना गर्नुपरेको छ।
यसअघि रसुवाको भोटेकोशीमा आएको बाढी, असोजको दोस्रो साताको बाढी-पहिरो र मनास्लु क्षेत्रको बाढीले पर्यटन क्षेत्रलाई ठूलो क्षति पुर्याएको थियो। पर्यटन व्यवसायी विजय केसीले हिमाली क्षेत्रको पदयात्रा असुरक्षित रहेको सन्देश प्रवाह हुँदा पर्यटकहरू त्रसित बनेको बताए। अर्का व्यवसायी दिलीप गुरुङका अनुसार चक्रवातको त्रासले पर्यटकको बसाई अवधि छोटिएको छ।
पदयात्रीहरू तालिकाभन्दा छिटो हिँडेर यात्रा छोट्याउन बाध्य भएका छन्। सेप्टेम्बरपछि सामान्यतया सुरक्षित मानिने यो सिजन यस वर्ष मौसमको अनिश्चितताका कारण प्रभावित भएको छ। मौसम विज्ञान विभागले चक्रवातको प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म रहने जनाएको छ। टान गण्डकी च्याप्टरका पूर्वअध्यक्ष सोमबहादुर थापाले यस वर्ष सिजन बाहिरका विपद्का घटनाले पर्यटन क्षेत्रले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताए। अहिले हिमाली क्षेत्रमा जाने पर्यटक सहरमै रोकिएका छन् भने कतिपयले यात्रा रद्द गरेका छन्।
