काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी ५ देखि ७ वर्षभित्र नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्रका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो अवधिभित्र नेपालीको प्रतिव्यक्ति आय ३ हजारदेखि ३३ सय अमेरिकी डलर पुर्याई मध्यम आय भएको मुलुक बनाइने स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकार सुशासनमा ‘बिग हिट’, आर्थिक सुधारमा ‘बिग ब्याङ’ र पूर्वाधार विकासमा ‘बिग पुस’ को नीतिमा केन्द्रित रहेको बताए। लगानी र आर्थिक सुधारलाई गति दिन सरकारले इतिहासमै पहिलो पटक ५९ वटा ऐनका करिब ५०० दफाहरू संशोधन गर्ने तयारी गरिरहेको जानकारी उनले दिए। उनले भने, ‘हामीले इतिहासमा दर्ता हुने खालको अम्निबस लेजिस्लेसन अघि बढाउँदैछौँ। यो अध्यादेश वा एकीकृत ऐनका रूपमा आउनेछ।’
देशको आर्थिक विकासका लागि सरकारको वार्षिक बजेट मात्र पर्याप्त नहुने भन्दै उनले निजी क्षेत्रको पुँजी आकर्षित गर्नुपर्नेमा जोड दिए। ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिताले विद्युत् उत्पादन २७ सय मेगावाट पुगेको उल्लेख गर्दै अब सडक पूर्वाधार र विद्युत् व्यापारमा पनि निजी क्षेत्रलाई अघि बढाइने उनले बताए। यसका लागि ‘हाइब्रिड एन्युइटी मोडल’ र वैकल्पिक विकास वित्त कोष कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए।
विश्व बैंक र एडीबीजस्ता दातृ निकायबाट पाउने सहुलियतपूर्ण ऋणको सुविधा कम हुँदै गएकाले ग्रिन इनर्जी बन्ड र अफसोर बन्डमार्फत स्रोत जुटाउनुपर्ने आवश्यकता उनले औँल्याए। साथै, गैरआवासीय नेपालीलाई पुँजी बजारमा प्रवेश गराउन आवश्यक कानुनी सुधार भइसकेको उनले बताए।
वर्तमान सरकार आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न प्रतिबद्ध रहेको दाबी गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘हामी सुशासन, डेलिभरी र नागरिकलाई प्रत्यक्ष छुने स्थिर सरकारका रूपमा पाँच वर्ष अविचलित काम गर्नेछौँ।’
