काठमाडौं: देशका अधिकांश स्थानीय तहले प्लाष्टिकका मालाको बिक्री वितरणमा प्रतिबन्ध लगाए पनि नेपालगन्जमा भने यसको बिक्री खुला रूपमा भइरहेको छ। भारतीय फूललाई विस्थापित गर्ने उद्देश्यले बाँकेमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको भए तापनि बजारमा अझै पनि प्लाष्टिकका मालाको प्रयोग बढी देखिएको छ।
नेपालगन्जको सदरलाइनमा आयोजित दिपावली मेलाका अधिकांश पसल र बिस्कोरियन टोलका थोक पसलहरूमा कृत्रिम मालाहरू छ्यापछ्याप्ती बिक्रीका लागि राखिएका छन्। हरित अभियन्ता हेमन्तराज काफ्लेले प्लाष्टिकका मालाले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे जानकारी नहुँदा यस्ता वस्तुको बिक्री नरोकिएको बताउनुभयो। उहाँले यस वर्ष जिल्लामा सयपत्री फूलको उत्पादन राम्रो भएकाले स्वदेशी फूलकै प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो।
स्थानीय व्यवसायी सुभाष शाहका अनुसार यस वर्ष भारतीय फूलको आयातमा कमी आए पनि प्लाष्टिकका मालाको आयात भने जारी छ। उहाँले प्लाष्टिकका मालाका कारण स्थानीय स्तरमा उत्पादित सयपत्री फूलको बिक्रीमा समेत नकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो। कोहलपुर-१३ का फूल व्यवसायी जय बस्नेतले प्लाष्टिकका मालाको आयात र बिक्रीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्ने माग गर्नुभएको छ। व्यवसायीहरूका अनुसार प्लाष्टिकका माला स्वास्थ्यका लागि हानिकारक छन्।
