नेपालगञ्ज: बाँकेको नेपालगञ्जस्थित फुटाहा गाउँका युवाहरूले व्यावसायिक फूलखेतीमार्फत तिहारको खर्च जुटाएका छन्। मध्यपश्चिम विश्वविद्यालयमा कृषि विषय अध्ययनरत बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक रूपमा फूलखेती गरेका हुन्।
फूलखेतीमा संलग्न बेदराज आचार्यका अनुसार हालसम्म करिब ५ क्विन्टल फूल बिक्री भइसकेको छ र थप ५ क्विन्टल बिक्रीका लागि तयार छ। उनीहरूले प्रतिकिलो ४ सय रुपैयाँका दरले फार्मबाटै फूल बिक्री गरिरहेका छन्। अहिलेसम्म २ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको आचार्यले जानकारी दिए।
सञ्चालक असिम सिग्देलले थोरै मेहनत र लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिने विश्वास पलाएको बताए। उनीहरूले बुटवल, दाङ, काठमाडौँ र सुर्खेतबाट माग आए पनि स्थानीय ग्राहकलाई प्राथमिकता दिएका छन्।
फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा पुष्प व्यवसायी बिन्दु चर्तीमगरका अनुसार यस वर्ष बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुर गरी करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ। जिल्लामा सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ। भारतीय फूलको आयातमा रोक लगाउन सके किसानले थप राम्रो आम्दानी गर्न सक्ने चर्तीमगरले बताइन्। हाल किसानहरूले नेपालगञ्जको त्रिभुवन चोक र धम्बोझी चोक लगायतका स्थानमा फुटकर रूपमा फूल बिक्री गरिरहेका छन्।
