काठमाडौं: सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित सहजीकरण गर्नुपर्ने बताएका छन्। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको परिसरमा आयोजित तीनदिने रैथाने मेलाको अवलोकनपछि उनले यस्तो धारणा राखेका हुन्।
सभामुख अर्यालले किसानलाई उत्पादनसँगै बजारीकरणमा समय दिन कठिन हुने भएकाले सरकारले बजार विस्तारमा अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले यस्ता मेला काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य ठूला सहरमा समेत विस्तार गर्नुपर्ने बताए। नियमित मेला आयोजना हुँदा किसानले आफ्ना उत्पादन सिधै उपभोक्तासमक्ष पुर्याउन पाउने र नागरिकले पनि विभिन्न भूगोलका रैथाने उत्पादनबारे जानकारी पाउने उनको भनाइ छ।
उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायतका सरकारी संस्थान र सञ्चारमाध्यमले किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने बताए। दुर्गम जिल्लाका उत्पादनको प्रदर्शनीले नयाँ बजार र उपभोक्ता जोड्न ठूलो मद्दत पुग्ने उनको विश्वास छ।
मेला अवलोकनका क्रममा सरकारी स्टलहरूमा प्लास्टिकका झोला प्रयोग भएको भेटिएपछि सभामुख अर्यालले तत्काल त्यस्ता झोलाको प्रयोग बन्द गर्न निर्देशन दिए। साथै, उनले सरकारी उत्पादनहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य र स्पष्ट रूपमा उल्लेख गर्न सुझाव दिए। नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार सुरु भएको तीनदिने मेला सोमबार समापन भएको छ।
