पोखरा: गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा कुल विनियोजित बजेटको ८.१५ प्रतिशत खर्च गरेको छ। असोज मसान्तसम्मको तथ्यांक अनुसार सरकारले कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बजेटमध्ये २ अर्ब ६९ करोड २६ लाख ५३ हजार ३१६ रुपैयाँ खर्च गरेको प्रदेश कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए।
प्रदेश कोष नियन्त्रक सुवेदीका अनुसार चालु तर्फको बजेट खर्च ११.३ प्रतिशत रहेको छ। कुल १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ चालु बजेटमध्ये १ अर्ब ४३ करोड ८७ लाख ६६ हजार ८७२ रुपैयाँ खर्च भएको छ। त्यसैगरी पुँजीगत तर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६.२६ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ३८ लाख ६६ हजार ८७२ रुपैयाँ खर्च भएको छ।
मन्त्रालयगत विवरण हेर्दा स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी खर्च गरेको छ। ३ अर्ब ३१ करोड २४ लाख ८४ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले पहिलो त्रैमासिक अवधिमा ११.५ प्रतिशत खर्च गरेको छ। अन्य मन्त्रालयको खर्चको अवस्था पनि सन्तोषजनक रहेको सुवेदीले बताए। गत आर्थिक वर्षको सोही अवधिमा ८.३ प्रतिशत बजेट खर्च भएको थियो।
आर्थिक वर्षको सुरुवातमा कार्यक्रम र योजनाहरू सुरु हुने प्रक्रियामा रहने भएकाले खर्च कम देखिएको सुवेदीको भनाइ छ। प्रायः योजना र कार्यक्रमहरू तेस्रो र चौथो त्रैमासिकमा सम्पन्न भई भुक्तानी हुने भएकाले वर्षको अन्त्यतिर खर्च बढ्ने उनले स्पष्ट पारे।
