काठमाडौं: चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क थप दुई महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ। राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार यसको जानकारी दिएको हो। यद्यपि, १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क भने कायमै रहनेछ।
यो निर्णय नोभेम्बर १० देखि लागू हुनेछ। आयोगले अनलाइनमार्फत जारी गरेको विज्ञप्तिमा वासिङ्टनमा चिनियाँ र अमेरिकी राष्ट्रप्रमुखबीच भएको बैठकका सहमति र नतिजा कार्यान्वयन गर्न यो कदम चालिएको उल्लेख छ। यो समायोजन देशको भन्सार कानुन, वैदेशिक व्यापार कानुन र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तअनुसार गरिएको हो।
आयोगका अनुसार अमेरिकी पक्षले अमान्य ठहरिएका अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गतका भन्सार शुल्कलाई धारा ३०१ का भन्सार शुल्कले प्रतिस्थापन गर्ने योजना रहेको जानकारी गराएको छ। चीनले अमेरिकी पक्षका आगामी कदमलाई नजिकबाट नियाल्ने र परिस्थितिअनुसार आफ्ना जवाफी उपायहरू समायोजन गर्ने जनाएको छ।
चीनले भन्सार शुल्कको आंशिक निलम्बनलाई निरन्तरता दिनु दुवै देशका उद्यमहरूका लागि स्थिर र अनुमानयोग्य नीतिगत वातावरण निर्माण गर्न सहयोगी हुने विश्वास लिएको छ। यसले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको दिगो विकासमा टेवा पुग्ने आयोगको भनाइ छ।
