नेपालगन्ज: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु नगर्दा बाँकेका किसान समस्यामा परेका छन् । खेतबाट धान भित्र्याइसकेका किसानलाई भण्डारण गर्ने ठाउँको अभाव भएपछि उनीहरू चिन्तित बनेका हुन् ।
नेपालगन्ज-१९ का किसान कल्लुबहादुर वलीले लामो समयदेखि खाद्य कम्पनीलाई धान बिक्री गर्दै आए पनि यस वर्ष खरिद प्रक्रिया अझै सुरु नभएको बताए । घरमा धान राख्ने ठाउँ नभएकाले किसानले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार कम्पनीले यस वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा माग गरे पनि १० हजार क्विन्टल मात्र स्वीकृत भएको छ । गत वर्ष कम्पनीले २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल धान खरिद गरेको थियो ।
कम्पनीले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ तोकेको छ । तर, सरकारी खरिद प्रक्रिया ढिलो हुँदा किसानहरू व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य छन् । अर्का किसान ध्रुव थापाका अनुसार व्यापारीले तोकिएको मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि १ हजार ५०० रुपैयाँसम्म कममा धान खरिद गरिरहेका छन् । चाडपर्वको खर्च जुटाउनसमेत किसानले बाध्य भएर सस्तो मूल्यमा धान बेच्नुपरेको उनले बताए ।
