काठमाडौं: मकवानपुरको भीमफेदी गाउँपालिका: ५ मा रहेको सुपिङ गाउँमा पछिल्लो एक वर्षयता पर्यटकीय चहलपहल बढेको छ। बसाइँसराइका कारण खाली भएका पुराना घरहरूलाई साजसज्जा गरी ‘सुपिङ गोर्ज क्याम्प’ सञ्चालनमा ल्याइएपछि गाउँको मुहार फेरिएको हो।
पर्यटन व्यवसायी देवेन्द्र नेपालले ‘रिनेष्ट टुरिजम’ को अवधारणामा स्थानीय नौवटा घर भाडामा लिएर यो क्याम्प सुरु गरेका हुन्। उनले चित्लाङमा १५ वर्षअघि सुरु गरेको यस्तै अवधारणालाई यहाँ पनि निरन्तरता दिएका हुन्। सुपिङ गोर्ज क्याम्पका व्यवस्थापक सन्देश जोशीका अनुसार रिसोर्ट स्तरको सेवा र गाउँले परिवेशको अनुभव लिन हेटौँडा र काठमाडौँबाट पर्यटक आउने गरेका छन्। क्याम्पमा हाल नौ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जसमध्ये अधिकांश स्थानीय छन्।
स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले क्याम्पले भाडामा लिएको २६ रोपनी जग्गामध्ये १५ रोपनीमा खेती गरिएको छ। त्यहाँ उत्पादित अर्गानिक सागसब्जी, ढिडो, लोकल कुखुरा र सिस्नो पर्यटकलाई खुवाउने गरिएको छ। भविष्यमा फलफूल खुवाउने लक्ष्यसहित एभोकाडो, नासपति र अम्बाका बिरुवासमेत रोपिएका छन्।
क्याम्पमा पर्यटकका लागि विभिन्न प्याकेजहरू उपलब्ध छन्। पाँच जनासम्मको समूहका लागि प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ र दम्पतीका लागि ६ हजार रुपैयाँको प्याकेज तोकिएको छ। यातायात सुविधासहितको प्याकेज प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँ रहेको छ। दैनिक ४० देखि ७० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको यस क्याम्पमा हाल चारवटा पुराना घर र ६ वटा कटेज प्रयोगमा ल्याइएको छ।
एक वर्षको अवधिमा क्षमताको ६० प्रतिशत भरिभराउ हुने गरेको व्यवस्थापक जोशीले बताए। परम्परागत सामग्रीहरू जस्तै ठेकी, जाँतो र हलोजस्ता वस्तुको प्रयोग तथा रातो माटो र कमेरोले गरिएको लिपपोतले ग्रामीण मौलिकता झल्काएको छ। भीमफेदी बजार, गुप्तेश्वर गुफा र चिसापानी गढीजस्ता नजिकैका पर्यटकीय स्थलहरूले पनि गाउँको आकर्षण बढाएका छन्।
