काठमाडौं: चालु आर्थिक वर्ष २०८३ को कात्तिक महिनामा मात्रै १९ दिन सार्वजनिक बिदा परेको छ। विभिन्न चाडपर्व तथा सरकारले थप गरेको बिदासमेत जोड्दा सार्वजनिक बिदाको सङ्ख्या १९ पुगेको हो। सरकारले कात्तिक ३० गते सोमबार थप सार्वजनिक बिदा दिने निर्णय गरेपछि बिदाको सङ्ख्यामा वृद्धि भएको हो।
दसैं र तिहारजस्ता प्रमुख चाडपर्व यसै महिनामा परेकाले बिदाको सङ्ख्या बढी देखिएको हो। लामो बिदाका कारण सर्वसाधारणलाई चाडपर्व मनाउन, पारिवारिक भेटघाट गर्न तथा घुमघामका लागि पर्याप्त समय मिलेको छ।
यद्यपि, एकै महिनामा १९ दिन सार्वजनिक बिदा पर्दा सरकारी तथा गैरसरकारी कार्यालयका नियमित कामकाज भने प्रभावित हुने देखिएको छ। यस आधारमा कात्तिक महिनामा जम्मा ११ दिन मात्र सरकारी कार्यालयहरू सञ्चालन हुनेछन्।
