काठमाडौं: काठमाडौंको बल्खु-दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अब यस्ता सवारीसाधनले साँझ ८ बजेभित्र फर्पिङ प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाअनुसार उक्त सडकखण्डमा चल्ने सार्वजनिक सवारीसाधन बिहान ५ बजेदेखि मात्र सञ्चालन गर्न पाइनेछ। प्रशासनले सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। काठमाडौं जिल्लाका प्रहरी युनिटहरूले ट्राफिक प्रहरीसँगको समन्वयमा प्रत्येक यात्रुवाहक सवारीसाधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाइएको छ।
पछिल्लो समय यस सडकखण्डमा सवारी दुर्घटनाको दर बढेको भन्दै प्रशासनले चिन्ता व्यक्त गरेको छ। सडकको अवस्था कमजोर हुनु, तीव्र गतिमा सवारी चलाउनु, रातको समयको दृश्यता र चालकको लापरबाहीका कारण जोखिम बढेको प्रशासनको निष्कर्ष छ।
त्यस्तै, तीव्र प्रतिस्पर्धाका कारण चालकहरूलाई एकै दिनमा धेरै पटक ट्रिप गर्नुपर्ने दबाब, अनिद्राका साथै मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले गम्भीर दुर्घटना निम्त्याएको प्रशासनले जनाएको छ। यात्रु तथा सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला सुरक्षा समितिले यो निर्णय लिएको हो।
