काठमाडौं: कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चाप ह्वात्तै बढेपछि स्थानीयले भ्रमणमा आउनुअघि अग्रिम जानकारी गराउन आग्रह गरेका छन्। तिहारको भोलिपल्ट कात्तिक २६ गते मात्र एक हजार ३२४ जना पर्यटक सिक्लेस पुगेका छन्। पर्यटक सूचना केन्द्रको तथ्याङ्क अनुसार सिक्लेस पुग्नेहरूमा अधिकांश आन्तरिक पर्यटक छन् भने नौ जना विदेशी छन्।
वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार एकैदिन ठुलो सङ्ख्यामा पर्यटकको आगमन हुँदा स्थानीय होटल तथा होमस्टेमा व्यवस्थापन गर्न कठिनाइ भएको छ। तिहारको बिदाका कारण केही होटल तथा होमस्टे सञ्चालक गाउँ नफर्केकाले थप समस्या सिर्जना भएको हो। सिक्लेस होटल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रजङ्ग गुरुङ ‘पारस’ले अग्रिम बुकिङबिना पर्यटक आउँदा होटल तथा होमस्टेको क्षमताभन्दा बढी चाप परेको बताए। हाल गाउँमा ३२ होटल र ३७ होमस्टे सञ्चालनमा छन्, जसको क्षमता करिब एक हजार ५५० जनालाई राख्ने रहेको छ।
अध्यक्ष गुरुङका अनुसार गाउँका अन्य घरमा समेत पाहुना राख्दा एकैदिन करिब दुई हजार पर्यटकलाई सेवा दिन सकिने भए पनि पूर्व जानकारी नहुँदा व्यवस्थापनमा समस्या हुने गरेको छ। त्यसैले पर्यटकहरूलाई भ्रमणमा निस्कनुअघि सम्बन्धित होटल, होमस्टे वा पर्यटन व्यवसायीसँग सम्पर्क गर्न आग्रह गरिएको छ। सिक्लेस पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङले पर्यटकको आगमनले स्थानीयको आम्दानी र रोजगारीमा सकारात्मक प्रभाव पारेको बताए। हाल गाउँका होटल तथा होमस्टेमा करिब १०० जनाले रोजगारी पाएका छन्।
पोखराबाट ३८ किलोमिटरको दूरीमा रहेको सिक्लेसमा करिब ४०० घर छन्। गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा आउने अधिकांश पर्यटक कोरी र क्हफुचे हिमतालसम्मको पदयात्राका लागि जाने गरेका छन्।
