म्याग्दी: म्याग्दीको सदरमुकाम बेनीबजारमा डेढ महिनापछि खानेपानी आपूर्ति पुनः सुरु भएको छ। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका-८ स्थित रिठाखर्क र डाँडाखर्कको मुहानबाट अस्थायी पाइपलाइन बिछ्याएर पानी ल्याउन थालेको हो।
संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मत गरेपछि कात्तिक २७ गतेदेखि पानी वितरण सुरु गरिएको हो। डेढ महिनाको प्रयासपछि प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति भइरहेको छ। खोरिया र खरेनी क्षेत्रमा पहिरो गएपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल-कालीपुल-बेनी चक्रपथ-दरवाङ बसपार्क हुँदै करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ।
विपद्का कारण यसअघि कोप्रे, अम्रेनी र राहुवडाका मुहानबाट आलोपालो प्रणालीमा पानी वितरण गरिँदै आएको थियो। तर, अम्रेनी र राहुवडाका मुहान सुकेपछि पुरानै मुहानबाट पानी ल्याउन पाइपलाइन मर्मत गरिएको हो। संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ। हाल नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीका करिब २५ हजार जनसङ्ख्याका लागि आलोपालो प्रणालीमा पानी वितरण भइरहेको छ।
संस्थाका सचिव केशवप्रसाद रेग्मीले खानेपानी आपूर्तिलाई सहज बनाउन दीर्घकालीन योजनाका लागि ७० करोड र तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको जानकारी दिए।
