काठमाडौं: दसैँ र तिहार मनाएर काठमाडौँ फर्किने यात्रुहरूले यातायातको टिकट पाउन कठिनाइ भोगिरहेका छन्। विद्यालय र सरकारी कार्यालय खुल्ने समय नजिकिएसँगै सङ्खुवासभाबाट काठमाडौँ जाने यात्रुको चाप बढेको छ।
सङ्खुवासभाकी पत्ना गुरुङले छोराछोरीको पढाइका लागि काठमाडौँ फर्किनुपर्ने भए पनि समयमै टिकट नपाउँदा समस्या भएको बताए। उनले भने, “मङ्गलबारदेखि स्कुल लाग्छ। शनिबार काठमाडौँ जानु परेको थियो, तर जहाजको टिकट नपाएर आज बल्ल गाडीको टिकट पाएँ। आज जाँदा भोलि स्कुल छुट्छ।” खाँदबारीका लेखनाथ बुढाथोकीले पनि आफ्ना छोराछोरीलाई काठमाडौँ पठाउन टिकट मिलाउनै मुस्किल परेको जानकारी दिए।
खाँदबारी बस काउन्टरका व्यवसायी रोहित कार्कीका अनुसार हायस र बस दुवैमा यात्रुको अत्यधिक भीड छ। उनले भने, “राम्रो र सजिलो सिट पाउन मुस्किल छ। अझै एक-दुई दिन यस्तै भीड नै हुन्छ जस्तो छ। जति गाडी भए पनि पुग्दैन।” खाँदबारी-काठमाडौँको सामान्य भाडादर ३ हजार रुपियाँ रहेकामा चाडपर्वका कारण अहिले ३ हजार ५ सय रुपियाँ पुगेको छ।
हवाई यात्रा गर्नेहरूका लागि पनि टिकटको अभाव उस्तै छ। तुम्लिङटार विमानस्थलबाट दैनिक एक उडान भर्दै आएको बुद्ध एयरलाइन्सका कर्मचारी राजीव पोख्रेलले अझै तीन-चार दिनसम्म टिकट उपलब्ध नभएको बताए। उनले भने, “टिकट खोज्ने धेरै हुनुहुन्छ, दैनिक एक फ्लाइट छ, कसरी धान्ने?” तुम्लिङटार-काठमाडौँको हवाई भाडा ९ हजार ८ सय ८० रुपियाँ रहेको छ।
चाडपर्व सकिएपछि आफ्नो कर्मथलो फर्किनेको सङ्ख्या बढेकाले यातायातका साधनमा चाप बढेको हो। खाँदबारीबाट काठमाडौँ पुग्न बसमा करिब २४ घण्टा लाग्ने गर्छ।
