काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गर्न ढिलाइ गर्दा बर्दियाका किसानहरू सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्। हिउँदेबाली लगाउने तयारी, मल तथा बीउ खरिद र घरायसी खर्च जुटाउनुपर्ने बाध्यताका कारण किसानहरू सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा कममा धान बेच्न विवश छन्।
गुलरिया नगरपालिका-१२ का किसान जगमोहन थारूले आफूले ३०० क्विन्टल धान प्रतिक्विन्टल रु दुई हजार ८०० का दरले बिक्री गरेको बताए। उनले भने, “हिउँदेबाली लगाउन खेत जोत्ने खर्च र घरायसी आवश्यकता पूरा गर्न धान सस्तोमा बिक्री गर्नुपरेको छ।” बढैयाताल गाउँपालिका-७ का रामदेव थारूले पनि मल र बीउका लागि रकम अभाव भएपछि शनिबार धान बिक्री गरेको जानकारी दिए। हाल बर्दियामा मोटा धान प्रतिक्विन्टल रु दुई हजार ९०० र मसिनो धान रु चार हजारमा कारोबार भइरहेको छ।
नेपाल किसान महासङ्घका अध्यक्ष बिपी भण्डारीका अनुसार गत वर्ष कात्तिक १९ गतेबाट सुरु भएको खरिद प्रक्रिया यस वर्ष दुई साता ढिलो हुँदा किसानले आधाभन्दा बढी धान सस्तोमा बेचिसकेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले मङ्सिर ३ गतेदेखि धान खरिद सुरु गर्ने जनाएको छ।
कम्पनीका वरिष्ठ सहायक एवं सूचना अधिकारी चेतमान कठायतले यस वर्ष बर्दियाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार तिहार बिदाका कारण खरिद प्रक्रियामा ढिलाइ भएको हो। २४ हजार क्विन्टल धान पालिकामार्फत र बाँकी छ हजार क्विन्टल कम्पनीको परिसरबाट खरिद गरिनेछ।
सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको रु तीन हजार ८६० तोकेको छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार बर्दियामा ५० हजार एक सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ, जसबाट दुई लाख २८ हजार ८१ मेट्रिक टन धान उत्पादन हुने गर्दछ।
