काठमाडौं: नेपालका २० वटा वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तालिका अनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन्। मंसिरमा कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
तथ्यांक अनुसार १४ वटा बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ वटा बैंकले ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपतर्फ सानिमा बैंकले सर्वाधिक ४.५ प्रतिशत ब्याजदर तोकेको छ। यसपछि एनएमबि बैंक र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा कम ब्याजदर माछापुच्छ्रे बैंकको ३.५ प्रतिशत रहेको छ।
संस्थागत निक्षेपतर्फ पनि सानिमा बैंक नै अग्रस्थानमा छ, जसले अधिकतम ३.५१ प्रतिशत ब्याजदर तोकेको छ। नेपाल बैंकले ३.५ प्रतिशत तथा एभरेष्ट, लक्ष्मी सनराइज, हिमालयन र एनएमबि बैंकले ३.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्। नबिल, सिटिजन्स, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास र प्रभु बैंक गरी ९ वटा बैंकले संस्थागततर्फ सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर तोकेका छन्।
ब्याजदर घटाउने बैंकहरूमा माछापुच्छ्रे, कृषि विकास, एनएमबि, लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन्। माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेपमा १ प्रतिशत बिन्दुले ब्याजदर घटाएर ३.५ प्रतिशतमा झारेको छ। अधिकांश बैंकको एकवर्षे मुद्दती निक्षेपको ब्याजदर भने २.७५ प्रतिशत कायम छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको ब्याजदर करिडोरको तल्लो सीमा हो। उल्लेखित अधिकतम ब्याजदरहरू सामान्यतया पाँच वर्ष वा सोभन्दा बढी अवधिका लागि तोकिएका हुन्।
