वेलिङ्टन: न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ। अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको एक उद्योग सर्वेक्षणले जनाएको छ।
बीएनजेड-बिजनेसएनजेडले सार्वजनिक गरेको पर्फर्मेन्स अफ सर्भिसेज इन्डेक्स (पीएसआई) अक्टोबरमा ०.८ अंकले बढेर ५१.७ पुगेको छ। सेप्टेम्बरमा यो सूचक ५०.९ अंकमा थियो। लगातार पाँच महिनादेखि ५० अंकको सीमाभन्दा माथि रहनुले सेवा क्षेत्र निरन्तर विस्तार भइरहेको देखाउँछ। सूचकमा ५० भन्दा माथिको अंकले व्यावसायिक गतिविधिमा विस्तार र सोभन्दा तलको अंकले संकुचन जनाउने गर्दछ।
बिजनेसएनजेडकी प्रमुख कार्यकारी क्याथरिन रिचले पछिल्लो तथ्यांक सेवा क्षेत्रका लागि उत्साहजनक रहेको बताए। उनका अनुसार गर्मीयाम नजिकिँदै गर्दा नयाँ कारोबारमा वृद्धि देखिएको छ। नोभेम्बर ७ मा सम्पन्न आमनिर्वाचनअघि व्यवसायीहरूले लगानीका निर्णय स्थगित गरेका थिए। अब नयाँ सरकार गठनको प्रक्रियासँगै रोकिएका योजनाहरू कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।
सर्वेक्षणअनुसार नयाँ अर्डर उपसूचक ५३ अंक र गतिविधि तथा बिक्री उपसूचक ५२.६ अंकमा पुगेको छ। यद्यपि, रोजगारीसम्बन्धी सूचक ४९.९ अंकमा रहेकाले रोजगार बजारमा अपेक्षित सुधार आउन बाँकी छ। व्यवसायीहरूले इन्धनको मूल्य, जीवनयापनको लागत, ब्याजदर र राजनीतिक अनिश्चिततालाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्।
बीएनजेडका वरिष्ठ अर्थशास्त्री डग स्टिलले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने सेवा क्षेत्रको सुधार स्वागतयोग्य रहेको बताए। गर्मीयामको तयारी, क्रिसमसका लागि बढ्दो बुकिङ र विदेशी पर्यटकको आगमनले सेवा क्षेत्रलाई सकारात्मक ऊर्जा दिएको छ। आगामी महिनामा व्यवसाय, पर्यटन र उपभोगमा थप सुधार आउने अपेक्षा गरिएको छ।
