काठमाडौं: तीन दिनको सार्वजनिक बिदापछि मंगलबार खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा कायम भएको छ।
बजारमा कुल ३५३ वटा स्क्रिपको १ करोड १२ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये १८५ वटाको सेयर मूल्य घटेको छ भने ८६ वटाको बढेको छ। ९ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
बजार समग्रमा घटे पनि अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ लिएका छन्। उक्त कम्पनीको सेयर मूल्य ११.८४ प्रतिशतले बढेर ३५९ रुपैयाँ पुगेको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको मूल्य ६ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा नबिल बैंकको डिबेञ्चर पहिलो स्थानमा रहेको छ, जसको २८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। दोस्रो स्थानमा रहेको घलेम्दी हाइड्रोपावरको २० करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ।
समूहगत परिसूचकमा म्युचुअल फन्ड बाहेक सबै समूह घटेका छन्। होटल समूहले सर्वाधिक १.२१ प्रतिशत मूल्य गुमाएको छ।
