काठमाडौं: चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा नेपालले १९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ।
उद्योग विभागका अनुसार साउनदेखि कात्तिक महिनासम्म ४९७ वटा नयाँ उद्योग तथा परियोजनाका लागि उक्त लगानी स्वीकृत भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको प्रतिबद्धता आएको थियो, जसले चालु वर्षमा लगानीको आकर्षणमा उल्लेख्य कमी आएको देखाउँछ।
स्वीकृत ४९७ परियोजनामध्ये ४८० वटा स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत १७ अर्ब ५२ करोड रुपैयाँ र १७ वटा परम्परागत स्वीकृति मार्गबाट २ अर्ब ३ करोड रुपैयाँको लगानी भित्र्याउन अनुमति दिइएको छ। सरकारले विदेशी लगानी सहज बनाउन ल्याएको स्वचालित मार्ग प्रणालीप्रति लगानीकर्ताको आकर्षण बढेको देखिएको छ।
क्षेत्रगत रूपमा हेर्दा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी २७२ परियोजना स्वीकृत भएका छन्, जुन कुल परियोजनाको करिब ५५ प्रतिशत हो। यद्यपि, लगानी रकमका आधारमा पर्यटन क्षेत्र सबैभन्दा अगाडि छ। पर्यटन क्षेत्रमा १४६ परियोजनामार्फत ८ अर्ब ६६ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको ४४.३ प्रतिशत हो। ऊर्जा क्षेत्रमा ३ वटा परियोजनाका लागि ४ अर्ब ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ।
चालु आर्थिक वर्षको चार महिनामा स्वीकृत परियोजनाबाट ६ हजार २०१ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ। अर्कोतर्फ, नेपालमा कार्यरत विदेशी लगानीका कम्पनीहरूबाट लाभांश, रोयल्टी र सेवा शुल्कबापत रकम बाहिरिने क्रम बढेको छ। विभागको तथ्यांकअनुसार चार महिनामा लाभांशबापत मात्र ३ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी विदेशिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा बढी हो। साथै, लगानीकर्ता भिसा सिफारिसको संख्यामा पनि अघिल्लो वर्षको तुलनामा गिरावट देखिएको छ।
