काठमाडौं: अमेरिकामा आप्रवासन तथा भिसासम्बन्धी नीतिमा गरिएको कडाइ र पढाइपछि काम गर्न चाहने विदेशी विद्यार्थीका लागि उत्पन्न असहज परिस्थितिका कारण त्यहाँ पुग्ने विद्यार्थीको संख्यामा गिरावट आएको छ। यसको प्रत्यक्ष असर अमेरिकी अर्थतन्त्रमा देखिएको छ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी विद्यार्थीको संख्यामा आएको कमीले अमेरिकामा ३१ हजार रोजगारीका अवसर गुमेका छन्। यसबाट अमेरिकी अर्थतन्त्रलाई २ अर्ब ४० करोड डलर बराबरको क्षति पुगेको छ।
रिपोर्टका अनुसार गत वर्ष विदेशी विद्यार्थीको आगमनमा १८ प्रतिशतले गिरावट आएको थियो भने पछिल्लो ‘फल’ सिजनमा १५ प्रतिशतले कमी देखिएको छ। यद्यपि, यति हुँदाहुँदै पनि अमेरिका विदेशी विद्यार्थीका लागि अध्ययनको पहिलो गन्तव्यका रूपमा कायमै रहेको छ। हाल अमेरिकामा हरेक वर्ष १० लाखभन्दा बढी विदेशी विद्यार्थी अध्ययनका लागि जाने गरेका छन्।
