काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता र अन्य सुविधा गरी कुल ४६ लाख ४८ हजार ९५६ रुपैयाँ बुझेका छन्। बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार उनले तलबबापत १६ लाख ३२ हजार, बैठक भत्ताबापत ५ लाख ६७ हजार र अन्य सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ प्राप्त गरेका हुन्।
सञ्चालक समितिका पदाधिकारीमध्ये डेपुटी गभर्नर किरण पण्डितले सबैभन्दा बढी ६१ लाख ९८ हजार ९९५ रुपैयाँ बुझेका छन्। गत चैत २४ गते नियुक्त भएका पण्डितले कार्यकारी निर्देशकको कार्यकालको समेत तलब र भत्ता जोडेर सो रकम प्राप्त गरेका हुन्। यसमा तलबबापत १३ लाख ६५ हजार ५८०, बैठक भत्ताबापत २ लाख २५ हजार र अन्य सुविधाबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ समावेश छ।
त्यस्तै, फागुन २५ गते कार्यकाल पूरा गरेका निवर्तमान डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रले क्रमशः ५४ लाख १८ हजार ९७१ र ५१ लाख १६ हजार ७७१ रुपैयाँ बुझेका छन्। राष्ट्र बैंकका सञ्चालक समितिका सदस्यहरूले प्रतिबैठक ९ हजार रुपैयाँ भत्ता पाउँछन्। साथै, उनीहरूले इन्धन, सवारी मर्मत, टेलिफोन, इन्टरनेट र औषधोपचारजस्ता सुविधा पनि प्राप्त गर्छन्।
सञ्चालक डा. रवीन्द्रप्रसाद पाण्डेले २९ लाख ११ हजार २०१, चिन्तामणि शिवाकोटीले २४ लाख ४६ हजार ९६९ र शंकरप्रसाद आचार्यले २२ लाख ८३ हजार ८१३ रुपैयाँ सुविधा लिएका छन्। अर्थसचिव डा. घनश्याम उपाध्यायले बैठक भत्ता र अन्य सुविधा गरी कुल ८ लाख ८८ हजार १२० रुपैयाँ बुझेका छन्। समीक्षा वर्षमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक ६४ पटक बसेको थियो। समग्रमा, गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका आठ जना पदाधिकारीले उक्त वर्ष कुल २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ बुझेका छन्। मुख्य व्यवस्थापन पदाधिकारीहरूको समग्र पारिश्रमिकमा २० करोड ५५ लाख ११ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
