काठमाडौं: भारत सरकारले नेपालबाट थप ६१५.०२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति प्रदान गरेको छ। यससँगै नेपालले भारततर्फ निर्यात गर्न पाउने कुल विद्युत् क्षमता १२६९.०२ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अच्युत घिमिरेका अनुसार प्राधिकरणले यसअघि पठाएको प्रस्ताव अनुसार यो स्वीकृति प्राप्त भएको हो। यसअघि नेपालले ६५४ मेगावाट विद्युत् निर्यातका लागि अनुमति पाइसकेको थियो।
प्राप्त जानकारीअनुसार थप गरिएको ६१५.०२ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा पीटीसी र एनभीभीएनमार्फत बिक्री गरिनेछ। पीटीसी इन्डियामार्फत १२ वटा जलविद्युत् आयोजनाको २०४.५८ मेगावाट विद्युत् १८ नोभेम्बरदेखि १४ जुन २०२७ सम्मका लागि निर्यात गर्न स्वीकृति मिलेको छ। साथै, सेती हाइड्रोपावरको २१.३४ मेगावाट विद्युत् १८ नोभेम्बरदेखि ३१ अगस्ट २०२७ सम्म निर्यातका लागि अनुमति प्राप्त भएको छ।
यसैगरी, एनभीभीएनमार्फत ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइन हुँदै ३८९.१० मेगावाट विद्युत् १८ नोभेम्बरदेखि १४ जुन २०२७ सम्म निर्यात गर्न स्वीकृति प्राप्त भएको प्रवक्ता घिमिरेले जानकारी दिए। यो विद्युत् मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट, कटैया-कुशाहा १३२ केभी, रक्सौल-परवानीपुर १३२ केभी र रामनगर-सूरजपुरा १३२ केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत पठाइनेछ।
प्राधिकरणले थप प्रस्तावहरूमाथि पनि भारतीय पक्षबाट स्वीकृति आउने क्रम जारी रहेको जनाएको छ। गत आर्थिक वर्षमा नेपालले भारतमा गरेको विद्युत् निर्यातबाट करिब १८ अर्ब रुपैयाँ आम्दानी गरेको थियो।
