काठमाडौं। आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्टमा नियुक्त गरेको छ। खड्काले समूहअन्तर्गतका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नेछन्।
नवनियुक्त खड्काको प्रमुख जिम्मेवारी समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गरी व्यवसायलाई प्रतिस्पर्धी बनाउने तथा समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने रहेको छ। कम्पनीका अनुसार नयाँ सेवा र साझेदारीको विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
चार्टर्ड एकाउन्टेन्ट खड्कासँग १५ वर्षभन्दा बढीको कार्य अनुभव छ। उनी यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए। उनीसँग विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायमा काम गरेको अनुभवसमेत छ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्काको आगमनले समूहका कम्पनीहरू थप बलियो हुने र डिजिटल रूपान्तरणलाई विस्तार तथा सुदृढ गर्दै नयाँ अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
खड्काले आफू समूहको प्राथमिकता र सरोकारवालाहरूसँगको सहकार्यमा नतिजा निकाल्न केन्द्रित रहने बताए। आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ, बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि र खेलकुद लगायतका विविध क्षेत्रमा लगानी गर्दै आएको छ।
