एजेन्सी । अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकको आईपीओपछि कम्पनीका हजारौं कर्मचारीको सम्पत्ति उल्लेख्य रूपमा बढेको छ। कम्पनीको सेयर मूल्य र उच्च मूल्यांकनका कारण करिब ९६ प्रतिशत कर्मचारीसँग १० लाख डलरभन्दा बढी मूल्यको सेयर स्वामित्व रहेको तथ्यांक सार्वजनिक भएको छ।
नियामक विवरणअनुसार गत सेप्टेम्बरसम्म एन्थ्रोपिकमा ५ हजार ३ सय कर्मचारी कार्यरत थिए। कम्पनीले आईपीओमा प्रतिसेयर ८३ डलर मूल्य निर्धारण गरेपछि कर्मचारीको सेयर सम्पत्तिमा ठूलो वृद्धि भएको हो।
निजी कम्पनीको सेयर स्वामित्व ट्र्याक गर्ने संस्था हिल डटकमका अनुसार कम्पनीका करिब ६ सय कर्मचारीसँग १० करोड डलरभन्दा बढी मूल्यको सेयर छ। त्यस्तै, २ हजार ८ सय कर्मचारीसँग एक करोड डलरभन्दा बढी र करिब ५ हजार १ सय कर्मचारीसँग १० लाख डलरभन्दा बढी मूल्यको सेयर स्वामित्व रहेको छ।
हिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एन्ड्रयु बेन्सनले छोटो अवधिमै यति ठूलो सम्पत्ति सिर्जना हुनु आश्चर्यजनक रहेको बताएका छन्। एन्थ्रोपिकको तीव्र विस्तारका कारण कर्मचारीले कम्पनी छाड्दा प्राप्त हुन सक्ने आर्थिक अवसर गुमाउने जोखिम देखेर जागिर नछाडेको उनको भनाइ छ।
सन् २०२१ मा स्थापना भएको एन्थ्रोपिकले छोटो समयमै एआई बजारमा आफ्नो उपस्थिति विस्तार गरेको हो। सन् २०२४ को अन्त्यसम्म कम्पनीमा एक हजारभन्दा कम कर्मचारी थिए। तर, पछिल्लो विस्तारसँगै कर्मचारी संख्या पाँच हजारभन्दा माथि पुगेको छ।
प्रविधि क्षेत्रमा स्टार्टअप कम्पनीले कर्मचारीलाई तलबसँगै सेयर उपलब्ध गराउने अभ्यास सामान्य भए पनि एन्थ्रोपिकमा यसको प्रतिफल असाधारण देखिएको छ। बेन्सनका अनुसार कम्पनीमा सुरुवाती वर्षमै जोडिएका कर्मचारीले पछिल्लो समयमा नियुक्त भएका वरिष्ठ अधिकारीभन्दा बढी आर्थिक लाभ प्राप्त गर्ने अवस्था बनेको छ।
एन्थ्रोपिकको आईपीओको अर्को विशेषता कर्मचारीलाई सेयर बिक्रीमा दिइएको सुविधा पनि हो। सामान्यतया कम्पनीको आईपीओपछि कर्मचारीलाई तीनदेखि छ महिनासम्म सेयर बिक्री गर्न रोक लगाइन्छ। तर, एन्थ्रोपिकले लागू गरेको चरणबद्ध लकअप व्यवस्थाअनुसार संस्थापकबाहेकका आन्तरिक सेयरधनीले कारोबार सुरु भएपछि आफ्नो सेयरको १० प्रतिशतसम्म बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि स्पेसएक्सले पनि आईपीओअघि नै कर्मचारीलाई सेयरमार्फत ठूलो आर्थिक लाभ दिएको थियो। दुई दशकभन्दा बढी समय निजी कम्पनीका रूपमा सञ्चालन भएको स्पेसएक्सका करिब २२ हजार कर्मचारीमध्ये चार हजार चार सय जना मिलियनेयर बनेको विवरण सार्वजनिक भएको थियो।
एन्थ्रोपिकका अधिकांश कर्मचारी अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रित छन्। कर्मचारीको सम्पत्ति बढेसँगै त्यहाँको घरजग्गा बजारमा समेत थप माग सिर्जना हुन सक्ने अनुमान गरिएको छ।
रेडफिनका अनुसार गत अक्टोबरमा सान फ्रान्सिस्कोमा सामान्य घरको बिक्री मूल्य १७ लाख डलर पुगेको थियो। यो अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशत बढी हो। सोही अवधिमा अमेरिकाको राष्ट्रिय औसत घर मूल्य भने चार लाख १६ हजार सात सय डलर आसपास रहेको थियो।
