धनकुटा। धनकुटाका डेरी व्यवसायीहरूले उत्पादन गरेको छुर्पीको माग धान्न मुस्किल भएको छ। यहाँका डेरीबाट उत्पादित छुर्पी स्थानीय बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुने गरेको छ।
पाख्रीबास नगरपालिका-७ राम्चेका मोहन थापाले दुई वर्षअघि ११ लाख रुपियाँको लागतमा कञ्चनजंगा डेरी उद्योग सुरु गर्नुभएको हो। दुबईमा एक दशक बिताएर फर्कनुभएका थापाले अहिले दैनिक २ सय ५० लिटरभन्दा बढी दुध संकलन गर्दै आउनुभएको छ। उहाँको डेरीबाट उत्पादित छुर्पी प्रतिकेजी १२ देखि १५ सय रुपियाँमा बिक्री हुने गरेको छ। डेरी सञ्चालनपछि उहाँले ३ जनालाई रोजगारी दिनुभएको छ।
त्यस्तै, धनकुटा नगरपालिका-१ भिरगाउँका राजु घिमिरेले एक दशकदेखि सिंहदेवी डेरी उद्योग सञ्चालन गर्दै आउनुभएको छ। उहाँको उद्योगमा दैनिक ८ सय लिटर दुध संकलन हुन्छ। घिमिरेका अनुसार डेरीबाट वार्षिक ६० देखि ७० लाख रुपियाँ बराबरको कारोबार हुने गरेको छ र उहाँले ७ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ। यहाँ उत्पादित छुर्पी हिले, पाख्रीबास, धनकुटा, भेडेटार र धरान लगायतका स्थानीय बजारमा बिक्री हुनुका साथै विदेशमा समेत निर्यात हुने गरेको छ।
भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र धनकुटाका अनुसार जिल्लामा वार्षिक ११ हजार ४ सय ५६ मेट्रिक टन दुध र २२ लाख १२ हजार केजी छुर्पी उत्पादन हुने गरेको छ। केन्द्रका सूचना अधिकारी दिनेश कार्कीका अनुसार जिल्लाको छुर्पी स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ।
