काठमाडौं: तनहुँको म्याग्दे गाउँपालिका-१, गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले वनको आम्दानीलाई कृषि उत्पादन र स्थानीयको आयआर्जनमा लगानी गरेर उदाहरणीय काम गरेको छ। समूहले वर्षौंदेखि बाँझो रहेको ३६ रोपनी जग्गा बन्धकीमा लिएर सात वर्षदेखि सामूहिक खेती गर्दै आएको छ।
यस वर्ष समूहले १८० मुरी धान उत्पादन गरेको छ। उक्त धान १६ परिवारमा बाँडिएको छ, जसमा प्रत्येक परिवारले दुई चरणमा गरी ११ मुरीभन्दा बढी धान पाएका छन्। समूहले वनको आम्दानीबाट आठ लाख २५ हजार रुपियाँ खर्च गरेर जग्गा बन्धकीमा लिएको हो। यसअघि अधियाँ खेती गर्दा उत्पादनको आधा हिस्सा जग्गाधनीलाई दिनुपर्ने बाध्यता रहेकामा अहिले सम्पूर्ण उत्पादन सहभागी परिवारले उपभोग गर्न पाएका छन्। धानका अतिरिक्त समूहले आलु र मकैसमेत उत्पादन गर्दै आएको छ।
सामूहिक खेतीमा आबद्ध स्थानीय किसान दिलबहादुर रामदामले पहिलेको तुलनामा अहिले धेरै लाभ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “पहिले अधियाँ खेती गर्दा उत्पादनको आधा हिस्सा मात्रै पाइन्थ्यो। अहिले सामूहिक खेतीबाट भएको उत्पादन सबै सहभागी परिवारले बाँडेर लिन पाएका छौँ। यसले खेती गर्न थप उत्साह मिलेको छ।”
समूहका अध्यक्ष मुक्तिनाथ खनालले सामुदायिक वनको आम्दानीबाट सबै उपभोक्ताले लाभ लिन पाउनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले यस्तो अभ्यासले वनको आर्थिक लाभ स्थानीय समुदायसम्म पुर्याउन र गरिबी न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो।
समूहले आगामी दिनमा धान काट्ने मेसिन र ट्याक्टरको व्यवस्था गरी खेतीलाई थप व्यवस्थित बनाउने योजना बनाएको छ। साथै, उत्पादित परालको सदुपयोग गर्दै पशुपालन विस्तार गर्ने र वनको आम्दानीबाट पाडापाडी खरिद गरी उपभोक्ताको आयआर्जन बढाउने योजना पनि अघि सारिएको छ।
