विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीतिगत र कानुनी सुधारमार्फत प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको बताएका छन्। कोशी प्रदेश लगानी प्राधिकरणद्वारा आयोजित कार्यक्रममा उनले जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा प्रदेशमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनका क्रममा भएका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने र यथार्थमा आधारित भएर समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्टन्ट र अनावश्यक विषयमा अलमलिने प्रवृत्ति त्यागेर ठोस काममा लाग्नुपर्नेमा जोड दिए।
सोही कार्यक्रममा सुनसरीको दुहबी नगरपालिकामा फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ। ५६ करोड रुपैयाँ लागतको उक्त परियोजना सञ्चालनमा आएपछि सुनसरी र मोरङ जिल्लाका विभिन्न पालिकाको फोहोरमैला व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।
कोशी प्रदेश सरकारले २०८१ वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा ५१ वटा परियोजनाका लागि १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो। लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाका अनुसार हालसम्म पाँच वटा परियोजनाको परियोजना विकास सम्झौता भइसकेको छ भने थप १२ वटा परियोजना सम्झौताको प्रक्रियामा रहेका छन्। निजी क्षेत्रबाट सञ्चालित केही परियोजनाहरू काम सुरु भइसकेका छन् भने सार्वजनिक-निजी साझेदारी मोडेलका परियोजनाहरू कार्यान्वयनको चरणमा रहेको बताइएको छ।
