काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री साहले यस्तो धारणा राखेका हुन्।
उनले नेपालमा छलफल धेरै हुने तर काम नहुने प्रवृत्तिका कारण आर्थिक अवसर गुम्ने गरेको बताए। जलविद्युत् क्षेत्रको उदाहरण दिँदै उनले समयमै काम गर्न नसक्दा वार्षिक ३ खर्ब रुपैयाँ बराबरको क्षति भइरहेको उल्लेख गरे। भारत र बंगलादेशमा निर्माण सामग्रीको माग उच्च रहेकाले नेपालका नदीहरूमा थुप्रिएको बालुवाको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए।
मन्त्री साहले विशेषगरी कोशी नदीमा रहेको ठूलो परिमाणको बालुवा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘कोशी नदीमै अर्बौँ टन बालुवा थुप्रिएको छ, त्यसलाई १० वर्षभित्र उपयोग गर्न सकेनौँ भने नदीको सतह बढेर हाम्रै देशका लागि भार हुन्छ।’
उनले राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवर्द्धन कार्यक्रम तत्काल अघि बढाउन सरोकारवाला निकायहरूलाई निर्देशन दिन समितिको ध्यानाकर्षण गराएका छन्। खानी उत्खनन तथा खनिज पदार्थको सदुपयोगका विषयमा प्राविधिक र नीतिगत छलफल भइरहेको जानकारी दिँदै मन्त्री साहले उद्योग क्षेत्रको विकासका लागि आफू क्रियाशील रहेको बताए।
