Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

साढे चार खर्बको रेल सपना

साढे चार खर्ब रुपैयाँको रक्सौल–काठमाडौं रेलमार्गले सर्वेक्षण र विस्तृत अध्ययन पार गरे पनि लगानी, प्रतिफल, प्राविधिक मापदण्ड र निर्माणको निर्णय अझै बाँकी छन्।

साढे चार खर्बको रेल सपना
A A+ A-

काठमाडौं । नेपाललाई भारतीय रेल सञ्जालसँग सीधै जोड्ने रक्सौल-काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको योजना फेरि चर्चामा आएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले प्रस्तावित रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण सम्पन्न भएको घोषणा गरेपछि वर्षौंदेखि अध्ययनको चरणमा रहेको आयोजना अब कार्यान्वयनको बहसमा प्रवेश गरेको छ।

यही भ्रमणमा नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि सहकार्य गर्ने र बर्दिबास–निजगढ तथा वीरगञ्ज–निजगढ खण्डलाई प्राथमिकतामा राख्ने सहमति पनि भएको छ।

तर यसलाई तत्काल निर्माण सुरु हुने सुनिश्चितता मान्न मिल्दैन। सर्वेक्षण सम्पन्न हुनु, विस्तृत परियोजना प्रतिवेदन तयार हुनु, आयोजना स्वीकृत हुनु र निर्माण सुरु हुनु चार फरक चरण हुन्।

रक्सौल–काठमाडौं रेलमार्गले पहिलो दुई चरण पार गरिसकेको छ। अब आयोजना स्वीकृत गर्ने, वित्तीय स्रोत सुनिश्चित गर्ने, प्राविधिक मापदण्ड टुंग्याउने र निर्माणको जिम्मेवारी बाँडफाँट गर्ने काम बाँकी छ।

करिब १३६ किलोमिटर लामो प्रस्तावित रेलमार्गको अनुमानित लागत साढे चार खर्ब रुपैयाँ पुगेको छ। ४२ किलोमिटर सुरुङ, १२४ ठूला पुल र कठिन भौगोलिक बनावटले यसलाई सामान्य रेलमार्गभन्दा निकै महँगो र जटिल पूर्वाधार परियोजना बनाएको छ।

आयोजनाको आर्थिक प्रतिफलसम्बन्धी तथ्यले पनि सरकारलाई सहज निर्णय गर्न दिँदैन। अध्ययनअनुसार परियोजनाको वित्तीय प्रतिफल दर ४.८१ प्रतिशत मात्र छ।

यसको अर्थ रेल सञ्चालनबाट प्रत्यक्ष रूपमा उठ्ने आम्दानीका आधारमा लगानी फिर्ता गर्न लामो समय लाग्नेछ। अध्ययनले लागत उठाउन करिब २५ वर्ष लाग्न सक्ने संकेत गरेको छ।

अर्कोतर्फ, आर्थिक प्रतिफल दर १४.३ प्रतिशत देखाइएको छ। यसले रेलमार्गबाट व्यापार, ढुवानी, पर्यटन, रोजगारी, बजार विस्तार र समग्र अर्थतन्त्रमा पर्ने अप्रत्यक्ष लाभलाई समेट्छ।

यही अन्तरले परियोजनाको मूल आर्थिक प्रश्न खडा गरेको छ। रेलमार्ग आफैँले लगानी उठाउन नसके पनि यसले राष्ट्रिय अर्थतन्त्रलाई कति लाभ दिन सक्छ र त्यो लाभका आधारमा राज्यले कति ठूलो लगानीको जोखिम लिन सक्छ?

प्रधानमन्त्री शाहको भारत भ्रमणले यो परियोजनालाई पुनः द्विपक्षीय प्राथमिकतामा ल्याएको छ। तर अब राजनीतिक घोषणाभन्दा अगाडि बढेर लागत, लगानीको स्वरूप र निर्माणको समयतालिका स्पष्ट गर्नुपर्नेछ।

नेपालले अनुदानमा आयोजना निर्माण गरिदिन भारतसँग आग्रह गर्ने विषय यसअघि नै उठाएको थियो। भारतले सन् २०१८ मा गरेको संयुक्त घोषणामा रेलमार्ग निर्माणको वित्तीय व्यवस्थापन गर्ने अपेक्षा गरिएको भए पनि अहिलेको लागत, भारतको भूमिका र नेपालले बेहोर्नुपर्ने दायित्व औपचारिक रूपमा टुंगिएको छैन।

त्यसैले रक्सौल–काठमाडौं रेलमार्ग नेपालको पूर्वाधार विकासको अवसर मात्र होइन, सार्वजनिक लगानीको क्षमता र आर्थिक प्राथमिकता परीक्षण गर्ने ठूलो परियोजना पनि हो।

सर्वेक्षण पूरा, डीपीआर पनि तयार

रक्सौल–काठमाडौं रेलमार्गको कथा सन् २०१८ अप्रिल ७ बाट सुरु हुन्छ। नेपाल र भारतले त्यस दिन जारी गरेको संयुक्त घोषणामा दुई देशबीच रेल सम्पर्क विस्तार गर्ने र भारतको सीमावर्ती सहर रक्सौललाई नेपालको राजधानी काठमाडौंसँग विद्युतीय रेलमार्गबाट जोड्ने योजना अघि सारिएको थियो।

त्यसपछि प्रारम्भिक इन्जिनियरिङ तथा यातायात सर्वेक्षणको प्रक्रिया सुरु भयो। भारतको कोङ्कण रेलवे कर्पोरेसन लिमिटेडले प्राविधिक अध्ययनको जिम्मेवारी पायो। सन् २०१८ अगस्ट ३१ मा प्रारम्भिक अध्ययनका लागि समझदारी भएको र त्यसपछि परियोजनाको प्राविधिक आधार तयार गर्ने काम अघि बढेको थियो।

प्रारम्भिक अध्ययनपछि अन्तिम स्थलगत सर्वेक्षणका लागि सन् २०२१ अक्टोबर ७ मा नेपाल र भारतबीच अर्को समझदारी भयो। त्यसअनुसार भारतीय प्राविधिक टोलीले सन् २०२२ फेब्रुअरी १३ देखि नेपालमा स्थलगत सर्वेक्षण सुरु गरेको थियो।

रेलमार्गको सम्भावित मार्ग, भूगोल, सुरुङ, पुल, जमिनको अवस्था, निर्माण लागत र प्राविधिक जटिलताको अध्ययन गरिएको थियो। कोङ्कण रेलवेले सन् २०२३ जुलाईमा सर्वेक्षण प्रतिवेदन तयार गरी नेपाल सरकारलाई बुझाएको थियो। भारतको रेल मन्त्रालयअन्तर्गतको प्राविधिक निकायले प्रतिवेदन तयार गरेको र भारतकै आर्थिक तथा प्राविधिक सहयोगमा अध्ययन अघि बढेको थियो।

कोङ्कण रेलवेले सन् २०२५ मार्चसम्म सार्वजनिक गरेको परियोजना विवरणमा समेत रक्सौल–काठमाडौं रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण प्रतिवेदन तयार भइसकेको उल्लेख छ।

सर्वेक्षण प्रतिवेदन नेपाललाई बुझाइएपछि पनि आयोजना अघि बढ्न सकेन। नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभाग र अन्य सरोकारवाला निकायले प्रतिवेदनका विभिन्न पक्ष अध्ययन गरे।

मार्गको लम्बाइ, सुरुङको संख्या, पुलको संरचना, लागत, जग्गा अधिग्रहण र प्रस्तावित अन्य पूर्वाधारसँगको सम्बन्धबारे थप स्पष्टता खोजियो। नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, खानी क्षेत्र र काठमाडौं–तराई द्रुतमार्गसँगको सम्बन्धलाई ध्यानमा राखेर प्राविधिक पक्षमा सुझाव दिएको थियो। मार्गको रेखाङ्कनले अन्य राष्ट्रिय पूर्वाधारमा असर नपार्ने सुनिश्चितता खोजिएको थियो।

यसैबीच भारतीय रेलमन्त्री अश्विनी वैष्णवले सन् २०२६ मार्च २० मा भारतको राज्यसभामा लिखित जवाफ दिँदै रक्सौल–काठमाडौं रेलमार्गको १३६ किलोमिटर लामो अन्तिम स्थलगत सर्वेक्षण सम्पन्न भएको र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भएको जानकारी दिएका थिए।

त्यसपछि मार्च २४ मा सार्वजनिक भएको विवरणमा पनि डीपीआर तयार भइसकेको र आयोजना स्वीकृतिका लागि विभिन्न निकायसँग परामर्श तथा भारतको नीति आयोग र अर्थ मन्त्रालयबाट मूल्यांकन आवश्यक पर्ने उल्लेख गरिएको थियो। अर्थात्, नेपालमा आयोजना अघि बढाउने निर्णय हुनुअघि नै भारतको प्राविधिक तहमा अध्ययन पूरा भइसकेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यले यसलाई दुई देशका प्रधानमन्त्रीको तहबाट पुनः औपचारिक मान्यता दिएको छ।

नोभेम्बर २३ मा भारतको प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा दुवै नेताले रक्सौल–काठमाडौं रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण सम्पन्न भएको स्वागत गरेका छन्। यससँगै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि सहकार्य गर्ने र बर्दिबास–निजगढ तथा वीरगञ्ज–निजगढ खण्डलाई प्राथमिकतामा राख्ने सहमति पनि गरिएको छ।

यस घोषणाको महत्त्व के हो भने रेलमार्गको विषय अब प्राविधिक प्रतिवेदनमा मात्र सीमित छैन। दुई देशका प्रधानमन्त्रीले यसलाई द्विपक्षीय कनेक्टिभिटीको एजेन्डामा राखेका छन्। तर संयुक्त वक्तव्यमा सर्वेक्षण सम्पन्न भएको घोषणा हुनु र निर्माणका लागि बजेट, अनुदान वा ऋणको सम्झौता हुनु एउटै होइन।

वक्तव्यमा निर्माण सुरु हुने मिति, भारतले बेहोर्ने कुल रकम, नेपालले उपलब्ध गराउनुपर्ने जग्गा वा अन्य पूर्वाधारसम्बन्धी दायित्व खुलाइएको छैन। यसले आयोजना अघि बढाउने राजनीतिक प्रतिबद्धता देखाए पनि कार्यान्वयनको वित्तीय र संस्थागत खाका अझै स्पष्ट हुन बाँकी रहेको देखाउँछ।

साढे चार खर्बको लागत चुनौती

रक्सौल–काठमाडौं रेलमार्गको सबैभन्दा ठूलो चुनौती यसको लागत हो। प्रारम्भिक अध्ययनका क्रममा करिब दुई अर्ब अमेरिकी डलर अनुमान गरिएको परियोजनाको लागत पछिल्लो अध्ययनसम्म आइपुग्दा तीन अर्ब अमेरिकी डलर अर्थात् करिब साढे चार खर्ब रुपैयाँ पुगेको छ।

सन् २०२५ मार्चमा सार्वजनिक विवरणमा परियोजनाको लागत ४० अर्ब रुपैयाँभन्दा बढी अर्थात् चार खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको थियो। त्यसपछि सन् २०२६ मार्चमा डीपीआरसम्बन्धी विवरण सार्वजनिक हुँदा लागत करिब ४५० अर्ब रुपैयाँ अर्थात् साढे चार खर्ब रुपैयाँ पुगेको उल्लेख गरिएको छ।

प्रारम्भिक अनुमानदेखि पछिल्लो लागतसम्मको अन्तरले निर्माण सामग्रीको मूल्य, भूगर्भीय जटिलता, जग्गा अधिग्रहण र अन्य प्राविधिक पक्षले परियोजनालाई कति महँगो बनाएको छ भन्ने देखाउँछ।

साढे चार खर्ब रुपैयाँ भनेको नेपालको सार्वजनिक लगानी क्षमताका हिसाबले निकै ठूलो रकम हो। यस्तो रकम एउटै पूर्वाधार आयोजनामा लगानी गर्दा त्यसको वित्तीय स्रोत, प्रतिफल र अन्य विकास आयोजनामा पर्ने प्रभावको हिसाब गर्नुपर्छ।

सडक, पुल, ऊर्जा, सिँचाइ, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा पनि ठूलो लगानी आवश्यक छ। सीमित स्रोत भएको मुलुकले रेलमार्गमा लगानी गर्दा त्यसबाट प्राप्त हुने दीर्घकालीन लाभ र तत्कालीन वित्तीय दायित्वबीच सन्तुलन मिलाउनुपर्ने हुन्छ।

परियोजनाको लागतमा निर्माण मात्र होइन, जग्गा अधिग्रहण र अन्य सहायक संरचनाको खर्चसमेत जोडिन्छ। नेपाल सरकारले जग्गा उपलब्ध गराउने र निर्माणमा सहजीकरण गर्ने जिम्मेवारी लिनुपर्ने विषय यसअघि सार्वजनिक भएको थियो।

सन् २०२५ मा सार्वजनिक विवरणअनुसार जग्गा अधिग्रहण दुई वर्षभित्र पूरा गर्ने अपेक्षा गरिएको थियो। तर मार्गको अन्तिम रेखाङ्कन, जग्गाको स्वामित्व, मुआब्जा, स्थानीय बस्ती र अन्य पूर्वाधारसँगको अन्तरसम्बन्धले अधिग्रहणको काम सहज नहुन सक्छ। जग्गा अधिग्रहणमा ढिलाइ भए निर्माण सुरु हुनुअघि नै लागत बढ्ने जोखिम रहन्छ।

नेपालले यसअघि पनि ठूला पूर्वाधार आयोजनामा जग्गा अधिग्रहण, मुआब्जा, वातावरणीय स्वीकृति र बजेट अभावका कारण लामो ढिलाइ बेहोरेको छ।

राष्ट्रिय गौरवका आयोजना वर्षौंसम्म अलपत्र रहने, लागत बढ्दै जाने र समयसीमा थपिँदै जाने समस्या नयाँ होइन। काठमाडौं–तराई द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र पूर्व–पश्चिम विद्युतीय रेलमार्गजस्ता परियोजनामा देखिएका समस्या रक्सौल–काठमाडौं रेलमार्गका लागि पनि चेतावनी हुन्। ठूलो आयोजना घोषणा गर्नु र समयमै सम्पन्न गर्नु फरक क्षमता हुन्।

लागतको अर्को पक्ष विदेशी मुद्रा र आयातमा निर्भरता हो। रेलमार्ग निर्माणका लागि आवश्यक रेल, ट्र्याक, विद्युतीय प्रणाली, सुरुङ खन्ने उपकरण, सिग्नल प्रणाली, सुरक्षा उपकरण र विशेष प्रविधि विदेशबाट ल्याउनुपर्ने सम्भावना उच्च छ।

यसले निर्माण अवधिमा आयात खर्च बढाउन सक्छ। तर निर्माणपछि रेलमार्ग सञ्चालनमा आएमा मालसामान ढुवानीको लागत घटाउने, सीमापार व्यापार सहज बनाउने र तेस्रो मुलुकबाट आउने वस्तुको पारवहन समय घटाउने अवसर पनि रहन्छ। त्यसैले परियोजनाको आर्थिक मूल्यांकन गर्दा निर्माण अवधिको विदेशी मुद्रा बहिर्गमन मात्र होइन, सञ्चालनपछिको व्यापारिक लाभ पनि समेटिनुपर्छ।

यस्तो परियोजनामा लागत बढ्ने जोखिमलाई सुरुमै नियन्त्रण गर्न नसकिए राज्यको वित्तीय भार थपिनेछ। निर्माण सम्झौतामा मूल्य समायोजन, लागत वृद्धि, ढिलाइको जिम्मेवारी, गुणस्तर परीक्षण र सञ्चालन मर्मतसम्भारको स्पष्ट व्यवस्था आवश्यक हुन्छ।

भारतले निर्माण गर्ने वा वित्तीय सहयोग गर्ने भए पनि नेपालले आफ्नो दायित्व र जोखिम स्पष्ट रूपमा बुझ्नुपर्छ। अनुदान प्राप्त भयो भन्दैमा परियोजनाको लागत, सञ्चालन खर्च र दीर्घकालीन दायित्व स्वतः शून्य हुँदैन।

४२ किलोमिटर सुरुङ, १२४ पुल

रक्सौल–काठमाडौं रेलमार्गको प्राविधिक बनावटले यसको लागत किन उच्च छ भन्ने स्पष्ट पार्छ। कोङ्कण रेलवे कर्पोरेसनले तयार गरेको अध्ययनअनुसार प्रस्तावित रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुनेछ। यसमध्ये करिब ४२ किलोमिटर सुरुङमार्फत पार गर्नुपर्नेछ। यसरी कुल रेलमार्गको झन्डै एकतिहाइ हिस्सा सुरुङभित्र रहनेछ।

त्यसबाहेक १२४ वटा ठूला पुल निर्माण गर्नुपर्नेछ। कठिन पहाडी भूगोल, खोलानाला, उचाइको अन्तर र घुम्तीले आयोजना निर्माणलाई प्राविधिक रूपमा चुनौतीपूर्ण बनाउनेछ।

रेलमार्गको प्रस्तावित रुट भारतको रक्सौलबाट सुरु भएर जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी र साठीखेल हुँदै काठमाडौंको चोभारसम्म पुग्नेछ। यो मार्गले तराईको समथर भूभागबाट चुरे र महाभारत क्षेत्र पार गर्दै काठमाडौं उपत्यकामा प्रवेश गर्नेछ। यही भौगोलिक बनावटका कारण सुरुङ र पुलको आवश्यकता अत्यधिक देखिएको हो।

रेलमार्गलाई पहाडी भूभागमा सुरक्षित र स्थिर राख्न भूगर्भीय अध्ययन, पहिरो जोखिम, पानीको निकास, भूकम्पीय जोखिम र सुरुङभित्रको हावा तथा आपत्कालीन उद्धार प्रणालीलाई उच्च प्राथमिकता दिनुपर्नेछ।

४२ किलोमिटर सुरुङ निर्माण आफैँमा ठूलो इन्जिनियरिङ चुनौती हो। सुरुङ निर्माण गर्दा चट्टानको प्रकृति, पानीको बहाव, भूगर्भीय चिरा, भूकम्पीय जोखिम र निर्माण सामग्रीको ढुवानी व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।

नेपाल भूकम्पीय जोखिम भएको देश भएकाले सुरुङको संरचनात्मक सुरक्षा र दीर्घकालीन मर्मतसम्भारको लागतलाई पनि परियोजनाको मूल्यांकनमा समेट्नुपर्छ। सुरुङभित्र दुर्घटना वा प्राविधिक समस्या आए यात्रु तथा कर्मचारीलाई सुरक्षित बाहिर निकाल्ने व्यवस्था, अग्नि नियन्त्रण, आपत्कालीन निकास र सञ्चार प्रणाली निर्माणकै चरणमा सुनिश्चित गर्नुपर्छ।

१२४ ठूला पुलको निर्माणले पनि लागत र समय बढाउनेछ। पुलको लम्बाइ, उचाइ, जगको प्रकृति, नदीको बहाव र बाढीको जोखिमअनुसार निर्माण प्रविधि फरक पर्न सक्छ। पहाडी क्षेत्रमा पुलका पिलर राख्ने स्थान छनोट गर्न भूगर्भीय स्थिरता जाँच्नुपर्छ।

नदी तथा खोलाको बहाव परिवर्तन, बाढी र पहिरोले संरचनामा असर पार्न सक्ने भएकाले जलविज्ञान र वातावरणीय अध्ययन अनिवार्य हुन्छ। पुल र सुरुङको ठूलो हिस्सा भएको परियोजनामा निर्माणको गुणस्तर कमजोर भए मर्मतसम्भारको खर्च वर्षौंसम्म बढिरहन्छ।

प्रस्तावित रेलमार्ग ब्रोडगेज प्रणालीमा आधारित हुनेछ। अध्ययनअनुसार यसमा अधिकतम प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेल सञ्चालन गर्न सकिनेछ। यात्रु तथा मालवाहक दुवै सेवा सञ्चालन गर्ने गरी योजना बनाइएको छ।

तर रेलमार्गको गति मात्र यसको व्यावसायिक सफलता निर्धारण गर्ने आधार होइन। यात्रु संख्या, मालसामानको परिमाण, ढुवानी समय, सञ्चालन खर्च, टिकट दर, मालभाडा, मर्मतसम्भार र रेलको आवृत्तिले यसको आर्थिक परिणाम निर्धारण गर्नेछन्।

रेलमार्गको प्राविधिक मापदण्डमा गेजको विषय पनि महत्त्वपूर्ण छ। भारतले आफ्नो विद्यमान रेल सञ्जालसँग मिल्ने ब्रोडगेज प्रणाली प्रस्ताव गरेको छ।

तर नेपालले राष्ट्रिय रेलमार्ग विकासका लागि स्ट्यान्डर्ड गेजलाई प्राथमिकता दिने नीति अघि सारेको विषय सार्वजनिक भएको छ।

दुई देशको रेल सञ्जाल जोड्ने परियोजनामा गेज फरक भएमा सीमामा रेल वा मालसामान स्थानान्तरण गर्नुपर्ने, थप संरचना बनाउनुपर्ने वा सञ्चालन प्रणालीमा जटिलता आउने सम्भावना हुन्छ। त्यसैले रक्सौल–काठमाडौं रेलमार्गलाई भारतसँग जोड्ने उद्देश्य र नेपालभित्र भविष्यमा विकास हुने रेल सञ्जालसँगको अनुकूलता दुवै कोणबाट गेजको निर्णय गर्नुपर्ने हुन्छ।

नेपालले आज एउटा परियोजनाका लागि मात्रै गेज छनोट गर्ने होइन। भविष्यमा पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण रेल सम्पर्क, औद्योगिक क्षेत्र, सुक्खा बन्दरगाह र सीमापार रेल सञ्जाल विस्तार गर्ने सम्भावनालाई समेत हेर्नुपर्छ।

अहिलेको निर्णयले आगामी दशकौंसम्म रेल सञ्चालन र मर्मतसम्भारको लागत निर्धारण गर्न सक्छ। यसैले ब्रोडगेज वा स्ट्यान्डर्ड गेजको विवाद प्राविधिक निकायबीचको सामान्य छलफल मात्र होइन, नेपालको दीर्घकालीन रेल नीति र क्षेत्रीय अन्तरआबद्धताको निर्णय हो।

वित्तीय प्रतिफल कमजोर, आर्थिक लाभ ठूलो

परियोजनाको सबैभन्दा गम्भीर आर्थिक प्रश्न वित्तीय प्रतिफल र आर्थिक प्रतिफलबीचको अन्तर हो। अध्ययनअनुसार रक्सौल–काठमाडौं रेलमार्गको वित्तीय प्रतिफल दर ४.८१ प्रतिशत छ।

आर्थिक प्रतिफल दर भने १४.३ प्रतिशत अनुमान गरिएको छ। यी दुई सूचकले एउटै कुरा मापन गर्दैनन्। वित्तीय प्रतिफलले आयोजना सञ्चालनबाट प्राप्त हुने प्रत्यक्ष आम्दानी र खर्चको सम्बन्ध देखाउँछ। आर्थिक प्रतिफलले भने परियोजनाबाट समाज र समग्र अर्थतन्त्रलाई हुने लाभसमेत समेट्छ।

४.८१ प्रतिशत वित्तीय प्रतिफल दर कम हुनुको अर्थ टिकट बिक्री र मालभाडाबाट मात्रै निर्माणमा भएको ठूलो लगानी छिटो उठाउन कठिन हुने देखिन्छ। नेपालका बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर र लगानीको अवसर लागतसँग तुलना गर्दा यस्तो प्रतिफलले निजी क्षेत्रलाई आकर्षित गर्न कठिन हुन्छ।

त्यसैले यो आयोजना विशुद्ध व्यावसायिक लगानीका रूपमा अघि बढाउने हो भने लगानीकर्ताले अपेक्षा गर्ने प्रतिफल र परियोजनाले दिन सक्ने प्रतिफलबीच ठूलो अन्तर देखिन्छ। अध्ययनले करिब २५ वर्षमा लागत उठ्न सक्ने अनुमान गरेको छ। तर त्यो अनुमान वास्तविक यात्रु संख्या, मालसामानको परिमाण, सञ्चालन खर्च र भविष्यमा हुने लागत परिवर्तनमा निर्भर हुन्छ।

आर्थिक प्रतिफल १४.३ प्रतिशत हुनु भनेको परियोजनाले प्रत्यक्ष आम्दानीभन्दा बाहिर पनि अर्थतन्त्रमा लाभ दिन सक्ने सम्भावना रहेको संकेत हो। उदाहरणका लागि, काठमाडौं र तराईबीच यात्राको समय घट्न सक्छ। मालसामान ढुवानीमा ट्रक र सडकमा निर्भरता कम हुन सक्छ। उद्योगका लागि कच्चा पदार्थ र बजारसम्मको पहुँच सहज हुन सक्छ।

सीमावर्ती क्षेत्रमा नयाँ औद्योगिक तथा व्यापारिक गतिविधि बढ्न सक्छ। पर्यटन, होटल, गोदाम, ढुवानी, मर्मतसम्भार र अन्य सेवामा रोजगारी सिर्जना हुन सक्छ। यी लाभलाई समग्र आर्थिक मूल्यांकनमा समेट्दा वित्तीय प्रतिफलभन्दा आर्थिक प्रतिफल उच्च देखिन सक्छ।

तर आर्थिक प्रतिफलको नाममा सबै लागतलाई उचित ठहर गर्न मिल्दैन। परियोजनाले दिने अप्रत्यक्ष लाभ वास्तविक रूपमा प्राप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न महत्त्वपूर्ण छ। रेलमार्ग बनेपछि यात्रु र मालसामानको माग कति हुन्छ? काठमाडौं र तराईबीच रेलबाट यात्रा गर्ने मानिसको संख्या कति पुग्छ? भारतबाट नेपाल आउने मालसामानमध्ये कति रेलमार्गबाट ढुवानी हुन्छ?

तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै आउने वस्तुको कति हिस्सा रेलमार्गमा सर्छ? यी प्रश्नको यथार्थपरक उत्तर बिना आर्थिक प्रतिफलको अनुमानमाथि भर पर्न सकिँदैन।

पूर्व रेल विभागका महानिर्देशक रोहित बिसुरालले यसअघि सार्वजनिक रूपमा परियोजनाको प्रत्यक्ष वित्तीय लाभभन्दा व्यापक सामाजिक तथा आर्थिक लाभलाई मूल्यांकन गर्नुपर्ने धारणा राखेका थिए।

उनका अनुसार यात्रु सेवा मात्र सञ्चालन गरेर रेलमार्गलाई नाफामा लैजान कठिन हुन सक्छ। त्यसैले मालवाहक सेवा पनि जोड्नुपर्छ। मालसामान ढुवानीबाट परियोजनाको व्यावसायिक सम्भाव्यता बढ्न सक्छ। भारतका बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आउने वस्तु नेपालसम्म ल्याउँदा लागत घटाउने सम्भावना पनि उनले औंल्याएका थिए।

यही तर्कका आधारमा रक्सौल–काठमाडौं रेलमार्गलाई यात्रु ओसार्ने परियोजनाका रूपमा मात्र हेर्नु उपयुक्त हुँदैन। नेपाल आयातमा निर्भर अर्थतन्त्र हो।

भारतसँगको व्यापारमा ठूलो हिस्सा निर्भर छ।

औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री, खाद्यान्न, इन्धन र उपभोग्य वस्तु आयातमा ढुवानी खर्च महत्त्वपूर्ण हुन्छ। रेलमार्गबाट ठूलो परिमाणमा मालसामान ढुवानी गर्न सकिएमा सडकको तुलनामा केही वस्तुको लागत घट्न सक्छ। तर त्यो लाभ प्राप्त गर्न रेलमार्गलाई वीरगञ्जको सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र, भन्सार, गोदाम र अन्य व्यापारिक संरचनासँग प्रभावकारी रूपमा जोड्नुपर्नेछ।

रेलमार्गको आर्थिक सम्भाव्यता मूल्यांकन गर्दा मालसामानको नियमित उपलब्धता पनि आवश्यक हुन्छ। रेल सञ्चालनका लागि निश्चित परिमाणमा ढुवानी माग चाहिन्छ। आयात हुने वस्तु मौसमी वा अनियमित भएमा रेलको क्षमता पूर्ण रूपमा प्रयोग नहुन सक्छ।

त्यसैले उद्योग, आयातकर्ता, निर्यातकर्ता, ढुवानी व्यवसायी र भन्सार निकायसँग समन्वय गरेर सम्भावित मालवाहक मागको अध्ययन गर्नुपर्छ। रेलमार्ग बनेपछि मात्रै ग्राहक खोज्ने होइन, निर्माण निर्णय गर्नुअघि नै कति मालसामान रेलमार्फत ढुवानी गर्न सकिन्छ भन्ने सुनिश्चित गर्नुपर्छ।

यात्रु सेवामा पनि यही सिद्धान्त लागू हुन्छ। काठमाडौं–रक्सौल रेलमार्गले सडक यातायातको विकल्प दिन सक्छ। तर यात्रुको समय बचत, टिकट दर, रेलको आवृत्ति, स्टेशनसम्मको पहुँच, सुरक्षा र अन्तिम गन्तव्यसम्मको यातायात प्रणाली मिल्नुपर्छ।

रेल स्टेशनबाट शहरको केन्द्र वा व्यापारिक क्षेत्रमा पुग्न अर्को सवारी साधन चाहिने अवस्था भए यात्रुले रेल प्रयोग गर्ने निर्णयमा त्यसको प्रभाव पर्छ। त्यसैले चोभारमा रेल स्टेशन निर्माण गर्नु मात्रै पर्याप्त हुँदैन। काठमाडौं उपत्यकाको सार्वजनिक यातायातसँग रेललाई जोड्ने योजना पनि आवश्यक हुन्छ।

रेलमार्गले बदल्न सक्ने व्यापारको नक्सा

नेपालको वैदेशिक व्यापारमा भारतको भूमिका अत्यन्त ठूलो छ। भारतीय दूतावासको वाणिज्यसम्बन्धी विवरणअनुसार नेपाल–भारतबीच आर्थिक वर्ष २०२५/२६ मा वस्तु व्यापार करिब ९ अर्ब ३८ करोड अमेरिकी डलर पुगेको थियो।

नेपालको कुल व्यापारमध्ये भारतसँगको हिस्सा करिब ६२.३ प्रतिशत रहेको उक्त विवरणमा उल्लेख छ। नेपालका कुल निर्यातमध्ये आर्थिक वर्ष २०२४/२५ मा भारततर्फ गएको हिस्सा ८१.१ प्रतिशत थियो। यी तथ्यले नेपालका लागि भारतसँगको व्यापारिक कनेक्टिभिटी कति महत्त्वपूर्ण छ भन्ने देखाउँछन्।

नेपालको व्यापारमा सडक र रेल दुवैको भूमिका छ। अहिले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र भारतको रक्सौलबीच रेलमार्गबाट मालसामान ढुवानी हुँदै आएको छ। भारतको कोलकाता र हल्दिया बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आउने सामान पनि भारतीय रेल सञ्जाल प्रयोग गरेर नेपाल भित्र्याइन्छ।

यसले रेलमार्ग नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि नयाँ विषय होइन भन्ने देखाउँछ। तर अहिलेको रेल सम्पर्क सीमित क्षेत्रमा केन्द्रित छ। रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भएमा सीमावर्ती व्यापारिक केन्द्रबाट राजधानीसम्म सीधा रेल पहुँच विस्तार हुन सक्छ।

नेपालको आयात व्यापारको ठूलो हिस्सा वीरगञ्ज नाकाबाट हुने गरेको छ। सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीले भन्सार प्रक्रिया तथा मालसामान व्यवस्थापनमा भूमिका खेलिरहेका छन्। तर रक्सौल–काठमाडौं रेलमार्गले व्यापारिक लाभ दिनका लागि वीरगञ्जको विद्यमान रेल तथा सुक्खा बन्दरगाह प्रणालीसँग यसको एकीकृत सञ्चालन आवश्यक हुन्छ।

सीमामा रेलबाट आएको मालसामानलाई अर्को सवारी साधनमा सार्नुपर्ने अवस्था कम गर्न सके ढुवानी समय र लागत घटाउन सकिन्छ। त्यसका लागि रेलमार्गको अन्तिम बिन्दु, मालवाहक टर्मिनल, गोदाम र भन्सार प्रणालीको डिजाइन एकैपटक गर्नुपर्छ।

भारतीय बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आउने वस्तुका लागि पनि रेलमार्गले नयाँ विकल्प दिन सक्छ। नेपालले समुद्रसम्म सीधा पहुँच पाउँदैन। त्यसैले भारतीय बन्दरगाह र सडक तथा रेलमार्ग नेपालको पारवहन व्यापारका लागि महत्त्वपूर्ण छन्।

रक्सौलबाट काठमाडौंसम्म रेलमार्ग जोडिएमा राजधानी र आसपासका औद्योगिक तथा उपभोग्य बजारसम्म मालसामान पुर्‍याउने समय घट्न सक्छ। तर यसको वास्तविक लाभ बन्दरगाहमा हुने ढुवानी, सीमामा हुने भन्सार प्रक्रिया, रेलको उपलब्धता र अन्तिम गन्तव्यसम्मको लागतसँग जोडिएको हुन्छ।

रेलमार्गले नेपालको औद्योगिक उत्पादनलाई पनि सहयोग गर्न सक्छ। तराई क्षेत्रमा रहेका उद्योगलाई कच्चा पदार्थ ल्याउन र उत्पादन बजारसम्म पुर्‍याउन सहजता हुन सक्छ।

काठमाडौं उपत्यकामा निर्माण सामग्री, खाद्यान्न र उपभोग्य वस्तुको नियमित आपूर्तिमा रेल उपयोगी हुन सक्छ। त्यसका लागि रेलमार्गको क्षमताअनुसार मालवाहक सेवा सञ्चालन, गोदाम, लोडिङ–अनलोडिङ केन्द्र र औद्योगिक क्षेत्रसँग जोड्ने सहायक रेल वा सडक सञ्जाल निर्माण गर्नुपर्छ। रेलमार्गलाई केवल यात्रु ओसार्ने पूर्वाधार बनाएर छाडियो भने यसको आर्थिक प्रतिफल कमजोर रहने जोखिम छ।

भारतसँगको व्यापारिक सम्बन्धलाई हेर्दा रेलमार्गले नेपाललाई थप विकल्प दिने सम्भावना छ। तर विकल्प थपिनु र निर्भरता घट्नु एउटै होइन। रेलमार्ग भारतको सञ्जालमा निर्भर हुनेछ।

यसको सञ्चालन, मर्मतसम्भार, प्राविधिक सेवा र सीमापार समन्वयमा भारतसँग दीर्घकालीन सहकार्य आवश्यक पर्न सक्छ। त्यसैले नेपालले रेलमार्ग निर्माणअघि नै सञ्चालन अधिकार, मालवाहक शुल्क, भन्सार प्रक्रिया, सुरक्षा, प्राविधिक मापदण्ड र सेवा निरन्तरतासम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणमा भएको अर्को महत्त्वपूर्ण सहमति पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य हो। संयुक्त वक्तव्यमा बर्दिबास–निजगढ र वीरगञ्ज–निजगढ खण्डलाई प्राथमिकतामा राखिएको छ।

यसले रक्सौल–काठमाडौं रेलमार्गलाई छुट्टै आयोजना मात्र नभई नेपालको आन्तरिक रेल सञ्जालसँग जोड्ने सम्भावना पनि प्रस्तुत गरेको छ। बर्दिबास–निजगढ र वीरगञ्ज–निजगढ खण्ड विकास भएमा सीमापार रेल सम्पर्क र पूर्व–पश्चिम रेलमार्गबीच अन्तरआबद्धता बढ्न सक्छ।

पूर्व–पश्चिम रेलमार्गसँगको सम्बन्ध

नेपालले पूर्व–पश्चिम विद्युतीय रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ। प्रस्तावित रेलमार्ग झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म फैलिने गरी योजना बनाइएको छ।

प्रारम्भिक योजनामा यसको लम्बाइ करिब ९४५ किलोमिटर थियो। पछिल्लो पुनःरेखाङ्कनपछि संरक्षित क्षेत्र र अन्य प्राविधिक पक्षलाई ध्यानमा राखेर यसको लम्बाइ करिब ९२५ किलोमिटरमा सीमित भएको विवरण सार्वजनिक भएको छ। तर लामो समयदेखि घोषणा र अध्ययनको चरण पार गरे पनि यसको निर्माण प्रगति अपेक्षाअनुसार हुन सकेको छैन।

काठमाडौं–रक्सौल रेलमार्ग र पूर्व–पश्चिम रेलमार्गलाई जोड्ने योजना नेपालको रेल सञ्जाल निर्माणका लागि रणनीतिक महत्त्वको हुन सक्छ। पूर्व–पश्चिम रेलमार्गले देशको तराई क्षेत्रलाई पूर्वदेखि पश्चिमसम्म जोड्नेछ भने रक्सौल–काठमाडौं रेलमार्गले राजधानीलाई दक्षिणी सीमासँग जोड्नेछ।

बर्दिबास–निजगढ खण्ड दुवै सञ्जालको सम्पर्क बिन्दु बन्न सक्छ। वीरगञ्ज–निजगढ लिंकले औद्योगिक र व्यापारिक केन्द्रलाई पूर्व–पश्चिम रेलमार्गसँग जोड्न सक्छ। यस्तो सञ्जाल बनेमा यात्रु तथा मालवाहक दुवै सेवाका लागि आन्तरिक बजार विस्तारको अवसर खुल्नेछ।

तर पूर्व–पश्चिम रेलमार्गको वर्तमान अवस्था हेर्दा नयाँ रेलमार्गका घोषणा कार्यान्वयनमा लैजान कति कठिन छ भन्ने स्पष्ट हुन्छ। काठमाडौं पोस्टले सन् २०२६ जुनमा प्रकाशित गरेको विवरणअनुसार पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि ५ हजार ४२४ वटा जग्गा कित्ता रोक्का गरिएको थियो।

तीमध्ये झापामा २ हजार ४५७, मोरङमा १ हजार ६३८ र सुनसरीमा १ हजार ३२९ कित्ता थिए। जग्गा मुआब्जा र अधिग्रहणका लागि २४ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको थियो। तर वित्तीय स्रोत सुनिश्चित नभएसम्म मुआब्जा वितरण अघि बढ्न नसकेको विवरणमा उल्लेख छ।

पूर्व–पश्चिम रेलमार्गको निर्माणमा पनि बजेट अभाव, जग्गा विवाद र संस्थागत समस्या देखिएका छन्। बर्दिबास–निजगढ खण्डमा केही संरचना निर्माण भए पनि सम्पूर्ण खण्ड सञ्चालनयोग्य बनेको छैन। रेलमार्गको ट्र्याकबेड निर्माण, पुल, स्टेशन, रेलको लिक, विद्युतीय प्रणाली र सञ्चालन संरचना अलग-अलग चरणमा अघि बढाउनुपर्ने हुन्छ।

ट्र्याकबेड तयार हुनु रेल चल्न थाल्नु होइन। त्यसमा रेलको लिक बिछ्याउने, सिग्नल प्रणाली जडान गर्ने, स्टेशन निर्माण गर्ने, सुरक्षा परीक्षण गर्ने र सञ्चालन अनुमति लिनुपर्ने हुन्छ।

सन् २०२६ को आर्थिक सर्वेक्षणसम्बन्धी विवरणमा बर्दिबास–निजगढ करिडोरको ८२ किलोमिटरमध्ये बर्दिबास–चोचा खण्डमा ६८.६ किलोमिटर ट्र्याकबेड निर्माण भएको र १६ वटा रेल पुल सम्पन्न भएको उल्लेख छ।

त्यस्तै, जयनगर–जनकपुर–भंगहा खण्डमा करिब ५२ किलोमिटर यात्रु रेल सेवा सञ्चालनमा रहेको र भंगहा–बर्दिबासको बाँकी खण्डमा जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको विवरण पनि सार्वजनिक भएको थियो। यी तथ्यले नेपालमा रेल सेवा सञ्चालनको अनुभव सुरु भए पनि राष्ट्रिय रेल सञ्जाल निर्माण अझै प्रारम्भिक अवस्थामा रहेको देखाउँछ।

नेपालको रेल पूर्वाधार विस्तारका लागि भारतको सहयोग नयाँ विषय होइन। जयनगर–जनकपुर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्ग भारतको अनुदान सहयोगमा निर्माण भइरहेका परियोजना हुन्।

भारतको विदेश मन्त्रालयले सन् २०२६ जुनमा सार्वजनिक गरेको विवरणअनुसार दुवै देशका संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिले ती रेलमार्गको प्रगति समीक्षा गरेका थिए। बाँकी खण्डको निर्माण तथा सञ्चालन प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहको भ्रमणमा पूर्व–पश्चिम रेलमार्गका लागि भएको सहकार्यको सहमति यही पृष्ठभूमिमा महत्त्वपूर्ण छ। तर सहमतिले मात्र रेलमार्ग निर्माणको गति बढ्दैन। कुन खण्डमा कसले लगानी गर्ने, कुन मापदण्डमा निर्माण गर्ने, जग्गा अधिग्रहण कसले गर्ने, अनुदान वा ऋण कुन स्वरूपमा आउने र निर्माणपछि सञ्चालन कसले गर्ने भन्ने स्पष्ट हुनुपर्छ।

बर्दिबास–निजगढ र वीरगञ्ज–निजगढलाई प्राथमिकता दिनु सकारात्मक भए पनि ती खण्डको डीपीआर, लागत र वित्तीय स्रोत सार्वजनिक नगरी निर्माणको समयतालिका निर्धारण गर्न कठिन हुन्छ।

पूर्व–पश्चिम रेलमार्गको अनुभवले एउटा महत्त्वपूर्ण पाठ दिन्छ। नेपालमा रेलमार्गको आवश्यकता र सम्भावनाबारे राजनीतिक सहमति भए पनि संस्थागत निरन्तरता, बजेट व्यवस्थापन र कार्यान्वयन क्षमतामा कमजोरी छ।

रक्सौल–काठमाडौं रेलमार्गलाई पनि यही चक्रमा फस्न दिनु हुँदैन। आयोजना स्वीकृत भएलगत्तै निर्माणको चरणगत योजना, वार्षिक बजेट, जग्गा अधिग्रहणको समयसीमा र जिम्मेवार निकाय स्पष्ट हुनुपर्छ।

लगानीको ढाँचा र भारतको भूमिका

रक्सौल–काठमाडौं रेलमार्गको वित्तीय मोडालिटी अझै स्पष्ट छैन। सन् २०१८ को संयुक्त घोषणामा भारतको लगानीमा रेलमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो। तर अहिलेको अनुमानित लागत साढे चार खर्ब रुपैयाँ पुगेपछि त्यसलाई अनुदान, सहुलियतपूर्ण ऋण, संयुक्त लगानी वा अन्य कुनै ढाँचामा अघि बढाउने भन्ने निर्णय आवश्यक भएको छ।

नेपालले भारतसँग अनुदानमा आयोजना निर्माण गरिदिन आग्रह गर्ने विषय यसअघि उठाएको थियो। तर भारतले कति रकम उपलब्ध गराउने, कुन संरचना निर्माण गर्ने र नेपालले जग्गा तथा अन्य सहायक संरचनामा कति खर्च गर्नुपर्ने भन्ने विषय सार्वजनिक रूपमा टुंगिएको छैन।

अनुदानमा आयोजना निर्माण भए पनि नेपालले बेहोर्नुपर्ने खर्च शून्य हुँदैन। जग्गा अधिग्रहण, मुआब्जा, स्थानीय सडक, स्टेशनसम्मको पहुँच, सुरक्षा, प्रशासनिक संरचना र सञ्चालन व्यवस्थापनमा नेपालले लगानी गर्नुपर्ने हुन सक्छ।

रेलमार्ग निर्माणपछि नियमित मर्मतसम्भार, कर्मचारी, ऊर्जा, सुरक्षा र उपकरण प्रतिस्थापनको खर्च पनि आउँछ। त्यसैले अनुदानको रकमलाई मात्र परियोजनाको सम्पूर्ण वित्तीय समाधान ठान्नु हुँदैन। निर्माणपछि सञ्चालन खर्च कसले बेहोर्ने र आम्दानी कम भए त्यसको दायित्व कसले लिने भन्ने पनि सम्झौतामै स्पष्ट हुनुपर्छ।

सहुलियतपूर्ण ऋणको विकल्प रोजिएमा ब्याजदर, भुक्तानी अवधि, मुद्रा जोखिम र ऋणको सर्त महत्त्वपूर्ण हुन्छन्। परियोजनाको वित्तीय प्रतिफल ४.८१ प्रतिशत मात्र भएको अवस्थामा उच्च ब्याजदरको ऋण लिएर निर्माण गर्नु आर्थिक रूपमा जोखिमपूर्ण हुन सक्छ।

रेलमार्गले अप्रत्यक्ष आर्थिक लाभ दिने भए पनि ऋणको साँवा र ब्याज तिर्न प्रत्यक्ष सरकारी स्रोत चाहिन्छ। त्यसैले ऋणको लागत र परियोजनाको प्रतिफलबीच सन्तुलन मिलाउनुपर्छ।

संयुक्त लगानीको विकल्पमा नेपाल र भारत दुवै पक्षको पूँजी, प्राविधिक क्षमता र सञ्चालन जिम्मेवारी स्पष्ट गर्नुपर्छ। निजी क्षेत्रलाई सहभागी गराउने हो भने यात्रु तथा मालवाहक सेवाबाट हुने आम्दानी, टिकट तथा मालभाडा निर्धारण, सञ्चालन अधिकार, जोखिम बाँडफाँट र सरकारी प्रत्याभूतिका विषय टुंग्याउनुपर्छ।

तर कम वित्तीय प्रतिफल भएको परियोजनामा निजी लगानी आकर्षित गर्न सरकारी सहुलियत वा न्यूनतम आम्दानीको प्रत्याभूति आवश्यक पर्न सक्छ। यस्तो प्रत्याभूति दिएमा भविष्यमा सरकारमाथि थप वित्तीय दायित्व आउन सक्छ।

भारतका लागि पनि यो परियोजना केवल नेपालमा रेलमार्ग निर्माण गर्ने विषय होइन। यसले सीमापार व्यापार, पारवहन, तीर्थयात्रा, पर्यटन र क्षेत्रीय रेल सञ्जाल विस्तारमा योगदान दिन सक्छ।

रक्सौल भारतीय रेल सञ्जालसँग जोडिएको महत्त्वपूर्ण सीमावर्ती केन्द्र हो। काठमाडौंसम्म रेल विस्तार भएमा भारतबाट नेपाल आउने यात्रु र मालसामानका लागि नयाँ मार्ग खुल्नेछ। नेपालमा भारतीय लगानी र व्यापार विस्तारको सम्भावना पनि बढ्न सक्छ। तर परियोजनाको वित्तीय तथा सञ्चालन ढाँचा स्पष्ट नभएसम्म भारतले निर्माणको सम्पूर्ण लागत बेहोर्नेछ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।

नेपालले वार्तामा आफ्नो दीर्घकालीन हित स्पष्ट राख्नुपर्छ। भारतको रेल सञ्जालसँग जोडिने नाममा नेपालभित्रको भविष्यको रेल नीति कमजोर पार्नु हुँदैन। ब्रोडगेज र स्ट्यान्डर्ड गेजको विषयमा प्राविधिक र आर्थिक आधारमा निर्णय गर्नुपर्छ।

सञ्चालन अधिकार, भाडादर, मालसामानको प्राथमिकता, सीमा जाँच, सुरक्षा र मर्मतसम्भारमा नेपालले आवश्यक भूमिका पाउने सुनिश्चितता गर्नुपर्छ। सम्झौता केवल निर्माणको चरणमा केन्द्रित नभई रेलमार्गको सम्पूर्ण जीवनचक्रलाई समेट्ने हुनुपर्छ।

अवसरसँगै जोखिमको हिसाब

रक्सौल–काठमाडौं रेलमार्गको आर्थिक सम्भावना मूल्यांकन गर्दा पर्यटनलाई पनि महत्त्वपूर्ण रूपमा हेर्नुपर्छ। काठमाडौं धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको केन्द्र हो।

भारतबाट आउने पर्यटकका लागि रेलमार्गले यात्रा सहज बनाउन सक्छ। विशेषगरी धार्मिक तथा सांस्कृतिक यात्रुका लागि रक्सौलबाट काठमाडौंसम्म रेल सेवा उपलब्ध भएमा सडक यातायातको विकल्प खुल्नेछ। नेपाल आउने भारतीय पर्यटकको संख्या बढेमा होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन सेवा र स्थानीय व्यवसायमा आर्थिक गतिविधि विस्तार हुन सक्छ।

तर पर्यटनको लाभ स्वतः प्राप्त हुँदैन। रेलमार्गसँगै पर्यटन गन्तव्य, होटल, स्थानीय यातायात, सूचना सेवा, सुरक्षा र यात्रु सुविधाको विकास आवश्यक हुन्छ। रेल स्टेशनमा ओर्लिएपछि पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउने सहज व्यवस्था हुनुपर्छ।

काठमाडौं उपत्यकाभित्रको सार्वजनिक यातायात व्यवस्थित नभए रेलबाट आउने पर्यटकले पनि अन्तिम गन्तव्यसम्म पुग्न कठिनाइ भोग्न सक्छन्।

त्यसैले रेलमार्गलाई पर्यटन पूर्वाधारसँग जोड्ने एकीकृत योजना आवश्यक छ।

रोजगारी सिर्जनाको सम्भावना पनि छ। निर्माण अवधिमा इन्जिनियर, प्राविधिक, मजदुर, सुरुङ निर्माण विशेषज्ञ, पुल निर्माणकर्ता, उपकरण सञ्चालक र अन्य सेवा प्रदायकको माग बढ्न सक्छ।

रेल सञ्चालनपछि चालक, स्टेशन कर्मचारी, सुरक्षा, मर्मतसम्भार, व्यवस्थापन र मालसामान ढुवानीमा रोजगारी सिर्जना हुन सक्छ। तर उच्च प्रविधिका उपकरण र विशेषज्ञता विदेशबाट ल्याउनुपर्ने अवस्था भए स्थानीय रोजगारीको हिस्सा सीमित हुन सक्छ। त्यसैले परियोजनामा नेपाली प्राविधिक जनशक्ति विकास, तालिम र प्रविधि हस्तान्तरणलाई अनिवार्य बनाउनुपर्छ।

वातावरणीय प्रभाव अर्को महत्त्वपूर्ण पक्ष हो। ४२ किलोमिटर सुरुङ र १२४ ठूला पुल निर्माण गर्दा पहाडी भूभाग, वन क्षेत्र, जलस्रोत र स्थानीय बस्तीमा असर पर्न सक्छ। निर्माणका क्रममा विस्फोट, उत्खनन, माटो व्यवस्थापन, पानीको बहाव परिवर्तन र निर्माण सामग्री ढुवानीले वातावरणमा दबाब सिर्जना गर्न सक्छ।

सुरुङ निर्माणले भूमिगत पानीको बहावमा असर पार्न सक्ने जोखिम पनि हुन्छ। त्यसैले वातावरणीय प्रभाव मूल्यांकनलाई औपचारिक प्रक्रिया मात्र नबनाई निर्माण र सञ्चालन दुवै चरणमा नियमित अनुगमन गर्नुपर्छ।

रेलमार्गको रेखाङ्कनले स्थानीय समुदायको जीवनमा पनि प्रभाव पार्न सक्छ। जग्गा अधिग्रहण, बस्ती विस्थापन, कृषि जमिनको विभाजन, स्थानीय सडक अवरुद्ध हुने अवस्था र जीविकोपार्जनमा पर्ने असरलाई ध्यान दिनुपर्छ।

प्रभावित नागरिकलाई उचित मुआब्जा, पुनःस्थापना र वैकल्पिक पहुँचको व्यवस्था नगरी आयोजना अघि बढाउँदा सामाजिक विवाद बढ्न सक्छ। यस्तो विवादले निर्माणको समय र लागत दुवै बढाउँछ।

भूकम्प, बाढी र पहिरोको जोखिमलाई पनि नजरअन्दाज गर्न मिल्दैन। नेपालमा रेलमार्ग निर्माण गर्दा प्राकृतिक जोखिमको मूल्यांकन सामान्य सडक आयोजनाभन्दा फरक हुन सक्छ।

सुरुङ र पुलको संरचनात्मक सुरक्षा, पहिरो नियन्त्रण, नदीको बहाव, आकस्मिक उद्धार र रेल सञ्चालन रोक्नुपर्ने अवस्था व्यवस्थापनका लागि विशेष योजना आवश्यक हुन्छ। जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा र बाढीका घटना बढ्ने जोखिमलाई समेत दीर्घकालीन डिजाइनमा समेट्नुपर्छ।

यस परियोजनाको अर्को जोखिम लागत वृद्धि हो। निर्माण सुरु भएपछि डिजाइन परिवर्तन, जग्गा विवाद, सामग्रीको मूल्य वृद्धि, ठेकेदारको क्षमता, भुक्तानी ढिलाइ र प्राविधिक समस्या देखिए लागत अनुमानभन्दा माथि जान सक्छ। नेपालका अन्य ठूला आयोजनामा यस्ता समस्या देखिएका छन्।

त्यसैले निर्माण सम्झौता गर्नुअघि लागतको स्वतन्त्र प्राविधिक समीक्षा, जोखिम बाँडफाँट, समयसीमा र गुणस्तर नियन्त्रणको व्यवस्था गर्नुपर्छ। निर्माण कम्पनी छनोट गर्दा न्यूनतम लागतलाई मात्र आधार बनाउनु हुँदैन। सुरुङ र ठूला पुल निर्माणको अनुभव, वित्तीय क्षमता र विगतको कार्यसम्पादन पनि मूल्यांकन गर्नुपर्छ।

रेलमार्ग सञ्चालनमा आएपछि पनि यसको व्यावसायिक सफलता सुनिश्चित गर्न नियमित सेवा, समयपालना, सुरक्षा र यात्रु सुविधामा ध्यान दिनुपर्छ। रेलको समयतालिका अनियमित भए वा मालसामान ढुवानीमा ढिलाइ भए व्यवसायीले सडक यातायातलाई प्राथमिकता दिन सक्छन्। त्यसैले रेलमार्गको सञ्चालन मोडेल निर्माणकै चरणमा तयार हुनुपर्छ।

यात्रु र मालवाहक सेवा कसरी सञ्चालन गर्ने, निजी क्षेत्रलाई कस्तो भूमिका दिने र भाडादर कसरी निर्धारण गर्ने भन्ने विषय स्पष्ट हुनुपर्छ।

घोषणा होइन, कार्यान्वयनको परीक्षा

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा रक्सौल–काठमाडौं रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण सम्पन्न भएको घोषणा हुनु नेपाल–भारत रेल कनेक्टिभिटीका लागि महत्त्वपूर्ण राजनीतिक संकेत हो। तर यो परियोजनाको सफलता अब संयुक्त वक्तव्यको भाषामा होइन, कार्यान्वयनको गतिमा मापन हुनेछ।

सर्वेक्षण र डीपीआर तयार भइसकेको अवस्थामा अब नेपाल सरकारले आयोजना स्वीकृतिका लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्छ।

राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभाग र अन्य सरोकारवाला निकायले परियोजनाको लागत, प्रतिफल, वित्तीय मोडालिटी र प्राविधिक पक्षको मूल्यांकन गर्नुपर्नेछ।

सबैभन्दा पहिले डीपीआरको स्वतन्त्र प्राविधिक तथा आर्थिक समीक्षा आवश्यक छ। लागत अनुमान साढे चार खर्ब रुपैयाँ पुगेको अवस्थामा त्यसको आधार, निर्माण सामग्रीको मूल्य, जग्गा अधिग्रहण, सुरुङ र पुलको खर्च तथा सम्भावित लागत वृद्धिको पुनर्मूल्यांकन गर्नुपर्छ। वित्तीय प्रतिफल ४.८१ प्रतिशत र आर्थिक प्रतिफल १४.३ प्रतिशत देखाउने गणनाको आधार सार्वजनिक गर्नुपर्छ।

यात्रु तथा मालसामानको माग कति अनुमान गरिएको छ, सञ्चालन खर्च कति हुनेछ, कति वर्षमा लागत उठ्नेछ र अप्रत्यक्ष आर्थिक लाभ कसरी गणना गरिएको छ भन्ने विषय पारदर्शी हुनुपर्छ।

दोस्रो, लगानीको मोडालिटी टुंग्याउनुपर्छ। भारतले अनुदान दिने हो कि सहुलियतपूर्ण ऋण, संयुक्त लगानी गर्ने हो कि अन्य ढाँचा अपनाउने भन्ने विषयमा औपचारिक सहमति आवश्यक छ।

नेपालले जग्गा अधिग्रहण, स्थानीय पूर्वाधार, मुआब्जा र सञ्चालन व्यवस्थापनमा कति लगानी गर्नुपर्नेछ भन्ने पनि स्पष्ट हुनुपर्छ। अनुदान प्राप्त हुने सम्भावनालाई आधार मानेर मात्र परियोजनाको वित्तीय योजना बनाउनु जोखिमपूर्ण हुन्छ। लिखित प्रतिबद्धता र कार्यान्वयन सम्झौता भएपछि मात्र निर्माणको समयतालिका विश्वसनीय हुन्छ।

तेस्रो, रेलमार्गको प्राविधिक मापदण्ड टुंग्याउनुपर्छ। ब्रोडगेज र स्ट्यान्डर्ड गेजको विषयमा दीर्घकालीन राष्ट्रिय रेल नीतिअनुसार निर्णय गर्नुपर्छ। रक्सौल–काठमाडौं रेलमार्गलाई पूर्व–पश्चिम रेलमार्ग र अन्य प्रस्तावित रेल सम्पर्कसँग कसरी जोड्ने भन्ने एकीकृत योजना आवश्यक छ। अहिलेको परियोजनाले भविष्यको रेल सञ्जालसँग मेल नखाएमा पछि थप खर्च र प्राविधिक समस्या आउन सक्छ।

चौथो, जग्गा अधिग्रहण र वातावरणीय स्वीकृतिको प्रक्रिया समयमै अघि बढाउनुपर्छ। मार्गको अन्तिम रेखाङ्कन सार्वजनिक गरी प्रभावित स्थानीय तह र नागरिकसँग परामर्श गर्नुपर्छ।

मुआब्जा निर्धारण, पुनःस्थापना, वन क्षेत्रको उपयोग, जलस्रोत संरक्षण र जोखिम व्यवस्थापनको स्पष्ट योजना तयार गर्नुपर्छ। स्थानीय विवाद र प्रशासनिक ढिलाइले निर्माण सुरु हुनुअघि नै परियोजना रोक्ने अवस्था आउन नदिन संस्थागत समन्वय आवश्यक हुन्छ।

पाँचौँ, मालवाहक सेवाको व्यावसायिक योजना तयार गर्नुपर्छ। नेपालका प्रमुख आयातकर्ता, निर्यातकर्ता, उद्योग, सुक्खा बन्दरगाह सञ्चालक, भन्सार र ढुवानी व्यवसायीसँग छलफल गरी रेलमार्ग प्रयोग गर्न सकिने वस्तुको परिमाण पहिचान गर्नुपर्छ।

रेलमार्गलाई वीरगञ्जको सुक्खा बन्दरगाह र अन्य औद्योगिक तथा व्यापारिक केन्द्रसँग जोड्ने योजना बनाइनुपर्छ। मालवाहक सेवाको सुनिश्चित माग नभए परियोजनाको वित्तीय प्रतिफल कमजोर रहने जोखिम छ।

छैटौँ, निर्माण र सञ्चालनको जिम्मेवारी स्पष्ट गर्नुपर्छ। भारतले निर्माणमा सहयोग गर्ने भए प्राविधिक निगरानी, गुणस्तर परीक्षण, ठेकेदार छनोट र लागत नियन्त्रणमा नेपालको भूमिका के हुने भन्ने स्पष्ट हुनुपर्छ। निर्माणपछि रेलमार्ग सञ्चालन गर्ने संस्था, कर्मचारी व्यवस्थापन, मर्मतसम्भार र सुरक्षा प्रणालीको जिम्मेवारी पनि तय गर्नुपर्छ। रेलमार्ग बनेपछि मात्रै सञ्चालन संरचना खोज्ने अवस्था आउनु हुँदैन।

नेपालले भारतसँगको रेल सहकार्यलाई केवल एउटा सीमापार आयोजना निर्माण गर्ने विषयका रूपमा हेर्नु हुँदैन। यो नेपालको दीर्घकालीन व्यापार, पारवहन, औद्योगिक विकास र क्षेत्रीय कनेक्टिभिटीसँग जोडिएको विषय हो। रक्सौल–काठमाडौं रेलमार्ग बनेमा राजधानी र भारतीय सीमाबीच सीधा रेल सम्पर्क स्थापित हुनेछ।

पूर्व–पश्चिम रेलमार्गसँग जोडिएमा नेपालको आन्तरिक यातायात प्रणालीमा पनि नयाँ विकल्प थपिन सक्छ। तर लागत र प्रतिफलको प्रश्न समाधान नगरी निर्माण अघि बढाउँदा ठूलो सार्वजनिक लगानी जोखिममा पर्न सक्छ।

साढे चार खर्ब रुपैयाँको परियोजना अघि बढाउने वा नबढाउने निर्णय राजनीतिक लोकप्रियताको आधारमा हुन सक्दैन। यसको आवश्यकता, आर्थिक लाभ, वित्तीय दायित्व, प्राविधिक सम्भाव्यता र दीर्घकालीन सञ्चालन क्षमताको कठोर मूल्यांकन गर्नुपर्छ। परियोजना आर्थिक रूपमा उचित देखिए अनुदान र सहुलियतपूर्ण स्रोत जुटाएर अघि बढाउन सकिन्छ।

प्रतिफल कमजोर देखिए लागत घटाउने, मार्ग परिमार्जन गर्ने वा निर्माणलाई चरणबद्ध बनाउने विकल्प पनि खुला राख्नुपर्छ।

नेपाललाई रेलमार्ग चाहिन्छ कि चाहिँदैन भन्ने बहस अब पुरानो भइसकेको छ। रेलमार्गले व्यापार, यातायात र क्षेत्रीय सम्पर्कमा योगदान दिन सक्छ भन्नेमा पर्याप्त आधार छन्। तर कुन रेलमार्ग पहिले बनाउने, कति लागतमा बनाउने, कसको लगानीमा बनाउने र निर्माणपछि कसरी सञ्चालन गर्ने भन्ने प्रश्न अझै निर्णायक छन्।

रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण र डीपीआर तयार हुनु उपलब्धि हो। अब त्यसलाई व्यवहारमा उतार्न सक्ने वित्तीय र संस्थागत क्षमता देखाउनु सरकारको वास्तविक परीक्षा हुनेछ।

प्रधानमन्त्री शाहको भारत भ्रमणले रेलमार्गको फाइललाई फेरि उच्च राजनीतिक तहमा पुर्‍याएको छ। अब त्यसलाई निर्माणस्थलमा पुर्‍याउन आवश्यक निर्णय गर्नुपर्नेछ। रेलमार्गको सपना साढे चार खर्ब रुपैयाँको लागतमा अड्किने कि व्यापार र अर्थतन्त्रलाई जोड्ने पूर्वाधारमा रूपान्तरण हुने भन्ने कुरा आगामी वित्तीय र नीतिगत निर्णयले तय गर्नेछ।

2