धनकुटा: आर्थिक सङ्कट, कच्चा पदार्थको अभाव र बढ्दो उत्पादन लागतका कारण धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समयदेखि बन्द छ। छथर जोरपाटी गाउँपालिका-६, सिधुवाँमा रहेको यो उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन्। यसले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा सिमेन्ट आपूर्तिमा समेत असर पुर्याएको छ।
उद्योगका सञ्चालक दिनेश पौडेलका अनुसार, उद्योगको दैनिक उत्पादन क्षमता छ हजार बोरा सिमेन्ट थियो। आर्थिक मन्दी र बजारमा माग घटेपछि उत्पादन क्षमता दैनिक तीन हजार बोरामा सीमित भएको थियो। भौगोलिक अवस्थिति र चिसो मौसमका कारण सुरुदेखि नै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन। दैनिक ३०० टन उत्पादन क्षमता भए पनि वास्तविक उत्पादन १५० टनमा मात्र सीमित थियो।
पौडेलले ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र कच्चा पदार्थको मूल्यवृद्धिले उद्योगलाई थप समस्यामा पारेको बताए। भारतबाट आयात गरिने कोइला, बक्साइट, लेटराइट र जिप्समको मूल्य उच्च हुँदा उत्पादन लागत बढेको थियो। निरन्तरको घाटाका कारण उद्योग बन्द गर्नुपरेको र तत्काल सञ्चालन गर्ने कुनै तयारी वा सम्भावना नरहेको सञ्चालक पौडेलको भनाइ छ।
